Advertisement

सुदूरपश्चिममा दादुरा–रुबेला निवारणमा चुनौती

0 87

Advertisement

१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा दादुरा–रुबेला निवारणमा चुनौती थपिएको छ। प्रदेशमा सन २०२२ भन्दा सन २०२३ मा दादुरा रुवेलाका बिरामी पुष्टि भएसँगै निवारणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

सरकारले सन २०२३ मा दादुरा–रुबेला निवारण गर्ने लक्ष्य लिएपनि प्रदेशका तीन जिल्लामा सन २०२३ मा दादुरा रुवेलाका बिरामी थपिएका छन्।

प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा रुवेलाका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। प्रदेशमा सन २०२३ को अप्रीलसम्म एक सय २३ जना संकास्पद बिरामीको परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एक जना रुबेलाका बिरामी फेला परेका छन्।

सन २०२३ अप्रीलसम्ममा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुवेलाका बिरामी फेला परेका छन्। प्रदेशमा पुष्टि भएकामध्ये अधिकांस एक वर्षमाथि उमेर समूहको रहेको जनाइएको छ। बाजुरामा पुष्टि भएका १८ जना २३ महिना माथिका रहेका छन्। कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना रहेका छन् भने कञ्चनपुरमा पुष्टि भएका दुई जना नौ महिना, पाँच जना २३ महिनासम्मका र २६ जना २३ महिनामाथिको रहेको निर्देशनालयको तथ्यांकमा रहेको छ।

सन २०२२ मा एक सय चार जनामा संकास्पद बिरामीको परिक्षण गर्दा तीन जनामा दादुरा र दुई जनामा रुवेला पुष्टि भएको थियो। प्रदेशमा धमाधम दादुरा–रुबेलाका पुष्टि भएसंगै सरकारले सञ्चालन गरेको नियमित खोप अभियान प्रभावकारितामा नभएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

दादुरा रुवेलाका पेन्टा–१, एमआर १ र एमआर २ खोप हुन्। पेन्टा–१ लगाउने भन्दा एमआर २ खोप लगाउने संख्या न्यून रहेको छ। आर्थिक वर्ष २०७८/२०७९ मा पेन्टा–१ खोप लगाउने प्रतिशत एक सय सात रहेकोमा एमआर–२ लगाउने प्रतिशत ९९ रहेको छ। बाल कल्याण महाशाखाका भरत भण्डारीले भने–‘स्वास्थ्य कार्यालयको तथ्यांकमा खोप प्रतिशत पूर्ण भएको देखिन्छ तर स्वास्थ्य तथा जनसंख्यक सर्वेक्षणले अझै पनि बालबालिकाले पूर्ण खोप पाएको देखिदैन्। यसमा स्वास्थ्यकर्मी, सरोकारवाला सम्पूर्णको कमी कमजोरी देखिन्छ।’

उनले नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको बताए। उनले नियमित खोपमा ९५ प्रतिशत भन्दा कमले लगाउनुपर्ने, सबै तहमा एकरूपता नहुनु, कृयाकलाप संचालनमा प्रभावकारिता नहुनु, जिम्मेवारी, अपनत्व र समन्वयमा कमि हुनु लगायतका प्रमुख समस्या रहेको बताए।

उनले दादुरा रुवेला खोप अभियान संचालनमा प्रभावकारिता नहुँदा नेपाल सरकारलाई आर्थिक भार बढीरहेको बताए। उनले भने –‘अभियानले राष्ट्रलाई थप आर्थिक व्यभार भैरहेको छ। एक अभियानमा करिब एक अर्व ५० करोड भन्दा धेरै लगानी हुन्छ।’

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको रोग रोकथाम तथा नियन्त्रणको लागि दादुरा प्रकोप जिल्लाहरूमा दादुरा रूवेला खोप अभियान संचालनको लागि अभिमुखिकरण तथा योजना गोष्ठीमा कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्बन्धित निकायको सानो लापरबाहीले राज्यको ठुलो लगानीको प्रगति पनि नदेखिएको बताए। उनले अरुलाई दोषी देखाएर कसैले पनि जिम्मेवारीबाट उन्मुक्ति हुन नपाउने बताए। उनले भने–‘खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यका कर्मचारीहरुले सबै तहसंग समन्वय गरेर अघि बढ्नुपर्ने जरुरी छ।’ उनले अभियानलाई प्रभावकारी बनाउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.