Advertisement

म्याचेस्टर सिटीको लय तोड्न रियल मड्रिड आशावादी

0 12

Advertisement

०३ जेठ, काठमाडौं । बुधबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा रियल मड्रिडको सामना गर्नुअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यस प्रतियोगितामा आफ्नो विरासत असाधारण रहेको बताए ।

सिजनको ट्रेवल उपाधि सम्भावनाका साथ अगाडि बढेको सिटी अहिलेसम्म युरोपियन च्याम्पियन बन्न सकेको छैन । गत मंगलबार पहिलो लेगमा उसले सान्टियागो वर्नबेउमा रियलसँग १–१ को बराबरी खेलेको थियो ।

ग्वार्डिओलाले सन् २००९ र २०११ मा बार्सिलोनाको प्रशिक्षकका रुपमा दुईपल्ट च्याम्पियन्स लिग उपाधि जितेका छन् । ‘म यो चरणमा धेरैपल्ट पुगेको छु,’ उनले भने, ‘मेरो विरासत पहिलेदेखि नै असाधारण छ । मैले खेलाडीलाई पनि यो क्षणको लाभ लिन भनेको छ । हामी यहाँ हुनु नै भाग्यशाली हो ।’

यो प्रतियोगिता हाम्रो हातमा छ । हाम्रो नतिजा हाम्रै प्रदर्शनमा निर्भर छ । हामीले केहि असाधारण गर्नु आवश्यक छैन । बस खेल जित्ने र फाइनलमा पुग्ने,’ खेलअघिको पत्रकार सम्मेलनमा ग्वार्डिओलाले थपे ।

आजको खेलको विजेताले १० जुन, शनिबार इस्तानबुलमा इन्टर मिलानसँग फाइनल खेल्नेछ ।

शहरीय प्रतिस्पर्धी एसी मिलानलाई समग्रमा ३–० गोलअन्तरले पराजित गरी इन्टर मिलान १३ वर्षपछि पहिलोपल्ट युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगिसकेको छ ।

तथ्यांकविद् ओप्टाले म्यानचेस्टर सिटी फाइनलमा पुग्ने सम्भावना ६९ प्रतिशत रहेको र उपाधि जित्ने सम्भावना ४५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ । पछिल्ला २२ खेलदेखि अपराजित सिटीलाई यही तथ्यांकले उपाधिको प्रमुख दावेदार बनाएको छ ।

ओप्टाका अनुसार कीर्तिमान विस्तार गर्ने गरी रियल मड्रिडले १५औंपल्ट च्याम्पियन्स लिग उपाधि जित्ने सम्भावना १५ प्रतिशतमात्र छ ।

सिटी प्रिमियर लिगको उपाधिबाट एक जित नजिक छ । यो उसका लागि ६ वर्षमा पाँचौं घरेलु उपाधि हुनेछ । एफए कप उपाधिका लागि उसले वेम्बलीमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । उनीहरु सिजनको तीन मुख्य उपाधि जितेर सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले राखेको ट्रेवल उपाधि कीर्तिमान बराबरी गर्न चाहन्छन् ।

सन् २००८/०९ मा बार्सिलोनाका लागि ट्रेवल उपाधि जितेका ग्वार्डिओलाले दुई वर्षअघि सिटीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए । तर, उनीहरु चेल्सीसँग पराजित रहे । गत वर्ष सेमिफाइनलमा ९० मिनेटसम्म दुई गोलको अग्रता राखे पनि अतिरिक्त समयसम्म पुगेर रियल मड्रिडसँग ६–५ ले पराजित भएको थियो ।

‘मैले सात वर्षअघि यो क्लबका लागि सम्झौता गरेको हो । उनीहरुले मलाई च्याम्पियन्स लिग जिताउनु भनेका थिएनन् । तर, म र मेरो स्टाफलाई अनुबन्धन गराउनुको मुख्य उद्देश्य त्यही हो भनेर सबैले बुझेका थिए,’ ग्वार्डिओला भन्छन्, ‘तर, निश्चित रुपमा हामीले त्यही एउटा छाडेर अरु सबै उपाधि जित्यौं । हामी च्याम्पियन्स लिग जित्न ब्यग्र छौं ।’

‘मानिसहरुले भनेका छन् कि हामी जितको धेरै नजिक छौं । मेरो विचारमा हामी धेरै टाढा छौं,’ उनले थपे, ‘यहाँ हुनु सपना पूरा भएजस्तै हो । भविष्यमा कसैलाई थाहा छैन हामी कहाँ हुन्छौं । त्यसैले एकपल्ट जब हामी यहाँ छौं भने गरौं । हाम्रा समर्थकहरुका लागि गरौं ।’

रियलले लगातार छैटौंपल्ट च्याम्पियन्स लिग नकआउट चरणमा इंग्लिस क्लबसँग खेलिरहेको छ । गत सिजन फाइनलमा लिभरपुललाई हराउनुअघि रियलले नकआउट चरणमा चेल्सी र सिटीलाई पराजित गरेको थियो । त्यस्तै यो सिजन पनि उसले यसअघि चेल्सी र लिभरपुललाई हराइसकेको छ ।

सिटीका डिफेण्डर नाथान एके दुवै टिमका गरी एकमात्र अनुपस्थित खेलाडी हुन् । कारबाहीका कारण पहिलो लेग खेल्न नपाएका रियलका मिडफिल्डर एडर मिलिटाओ यो खेलका लागि उपलब्ध छन् ।

रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले पछिल्लो १० सिजनमा छैटौंपल्ट च्याम्पियन्स लिगमा फाइनलमा पुग्ने क्रममा इत्तेहाद रंगशालामा म्यानचेस्टर सिटीलाई हराउनेमा आफू आशावादी रहेको बताए ।

इटलीका यी प्रशिक्षकले चारपल्ट च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले रियलबाट दुई र एसी मिलानबाट दुईपल्ट यो सफलता हासिल गरेका हुन् । आफ्नो कार्यकालमा बुधबार अर्को एक सफलता मिल्नेमा उनी विश्वस्त छन् ।

‘हामी अर्को महत्वपूर्ण सफलताको नजिक छौं । आमी धेरै आशावादी छौं र प्रेरित छौं । भोलिको खेल कठिन हुनेछ तर, हामी कठिन अवस्थामै सबैभन्दा धेरैपल्ट सफल भएका छौं,’ एन्सेलोटी भन्छन्, ‘रणनीति सधैंजस्तै हो । हामी प्रयास गछौं र खेलाडीहरुबाट सम्भव भएसम्म प्रदर्शनको अपेक्षा गर्छु । हामी पहिलो लेगभन्दा अझै राम्रो खेल्न सक्छौं । तर, उनीहरुले पनि सुधार गर्नेछन् ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.