Advertisement

गण्डकी प्रदेश सरकार: दीपक मनाङे मन्त्री बन्ने

0 81

Advertisement

२३ वैशाख,पोखरा । गण्डकीका पाँचौँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाए । उनलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीकाबाट एक गरी ३५ सांसदको विश्वासको मत दिएका थिए । सरकार गठन भएको छोटो समयमै विश्वासको मत लिएका मुख्यमन्त्री पाण्डेले अहिलेसम्म मन्त्रालय हाँक्ने सारथि टुङ्ग्याउन सकेका छैनन् । 

मन्त्रालय विस्तार गर्न नसक्नुमा सत्ता गठबन्धनमा भागबण्डा नमिल्नु नै मुख्य कारण देखिएको छ । माओवादी केन्द्रले तीन मन्त्रालय दिनुपर्ने र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

मुख्यमन्त्री पाण्डेका अनुसार एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन छलफल भइरहेको छ । उनले भने, ‘कुन दलबाट कति मन्त्री बन्ने छिट्टै टुङ्ग्याउँछौँ । सत्ता गठबन्धनको घटक एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेकाले अब छिट्टै मन्त्रिपरिषद् विस्तार गर्छौँ ।’ मुख्यमन्त्री पाण्डेले अब एक हप्ता भित्र मन्त्रालय विस्तार गरिसक्ने बताए । उनी भन्छन्, ‘मन्त्रिपरिषद् विस्तार नजिक छौँ । सत्ता गठबन्धनका दलसँग मन्त्रालय विस्तारको सहमति नजिक छौँ । अब एक हप्तामा अन्तिम निर्णयमा पुगिसक्छौँ ।

माओवादी केन्द्रले तीन मालदार मन्त्रालय दाबी गर्दा पनि सरकारले पूर्णता पाउन नसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले भौतिक पूर्वाधार, उद्योग पर्यटन वन तथा वातावरण र कृषि, ऊर्जा तथा खानेपानी मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री पाण्डे अप्ठ्यारोमा छन् ।  यसअघि प्रमुख सचेतक सुशीला सिम्खडालाई सरकारमा पठाए पनि उनले मन्त्रालयको जिम्मेवारी पाएकी छैनन् । माओवादीले तीन मन्त्रालय पाए अब रेशमबहादुर जुग्जाली, फणीन्द्र देवकोटा सरकारमा पठाउने तयारी गरेको छ । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चमानले पनि आफूहरूले ३ वटा मन्त्रालय दाबी गरिरहेको बताए । ‘मुख्यमन्त्रीज्यूले विश्वासको मत पनि लिनुभयो । अब मन्त्रिपरिषद् विस्तार गर्नुहोला,’ उनले भने, ‘माओवादीबाट सरकारमा सहभागी हुने मन्त्री पनि टुङ्ग्याइसकेको छौँ ।’ 

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले पनि मन्त्रिपरिषद् विस्तार लम्बिएको मुख्यमन्त्री पाण्डे बताउँछन् । उनका अनुसार विश्वासको मत लिनुअघि नेता चुमानसँग छलफल भए पनि त्यसपछि कुनै कुराकानी भएको छैन । 

यता कांग्रेसमा मन्त्री बन्नेको लर्को हुँदा पनि मुख्यमन्त्री पाण्डेलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको हो । कांग्रेसबाट लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी मन्त्री बन्न लबिङमा छन् । मन्त्री बन्न आकाङ्क्षी बढी हुँदा भागबण्डा मिलाउन कांग्रेसमै सकस भइरहेको कांग्रेसकै सांसदहरुले बताउँदै आएका छन् । 

मन्त्रालय बाँडफाँड मुख्यमन्त्रीले निर्णय गर्ने होइन, केन्द्रका तीन नेता मिल्नुपर्छ—सांसद मनाङे 

एकीकृत समाजवादीका एक्ला सांसद दीपक मनाङेले आफू मन्त्री बन्ने कुरा प्रदेशमा थाहा नहुने बताएका छन् । उनले मुख्यमन्त्री पाण्डेले चाहे मन्त्री हुने र नहुने कुराले अर्थ नराख्ने बताए । ‘यहाँ कुन नेताले के भन्यो मलाई थाहा छैन । प्रदेशमा मिटिङ गरेर हुँदैन,’ उनले भने, ‘केन्द्रमा तीन नेता मिल्नुपर्छ । उहाँहरूको छलफलले कुन मन्त्री बन्ने भन्ने बल्ल टुङ्गो लाग्छ ।’

मन्त्री बन्न आफूले १ महिना अघि छलफल गरे पनि अहिले कोहीसँग पनि छलफल नगरेको उनको भनाइ छ । आफू मन्त्री भए पुरानै मन्त्रालय समाल्ने उनले बताए । 

‘हामीलाई धेरै ठुलो मन्त्रालय चाहिँदैन । पुरानै मन्त्रालय भए पुग्छ,’ उनले भने । उनले यसअघि पृथ्वी सुब्बा गुरुङ र कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । खगराज अधिकारी नेतृत्वको सरकारले १२ बाट ७ मा मन्त्रालय सङ्ख्या झारेपछि यो मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा गाभिएको छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.