लेखक पुस्तक संख्या बढाउनेतिर,पाठक सामाजिक संजाल तिर – साहित्यको निराशाजनक बजार

0 54

२९ चैत्र, काठमाडौँ । वसन्त ऋतुको याम छ । प्रकृतिमा नयाँ आँकुरा पल्लवित भएका छन् । यी आँकुराले नयाँ आशा, उत्साह र उमंगलाई संकेत गर्छन् । तर, नेपाली साहित्यको बजारबाट यो वर्षलाई फर्केर हेर्दा चरम निराशाजनक देखिएको छ । अर्थतन्त्रको दृष्टिकोणबाट हेर्दा देश आर्थिक संकटको मारमा छ । अझै पनि अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् । पहिले कोभिड र त्यसपछि रसिया–युक्रेन युद्धले नेपाल मात्रै होइन, विश्वव्यापी रूपमा आर्थिक मन्दीको गर्त फराकिलो हुँदै छ । महँगीदर बढेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्नदेखि थुप्रै चिजको आपूर्ति शृंखला खलबलिएको छ । व्यापार–व्यवसाय पनि सुस्त छ । यस्तो अवस्थामा नेपाली साहित्यको बजार पनि अछुतो रहेको देखिँदैन । 


यो वर्ष विभिन्न प्रकाशकले दुई सयभन्दा बढी किताब प्रकाशन गरे । मोफसलमा प्रकाशित र हल्ला नभएका कृति थप होलान् । तर, गुणस्तरीय किताब र तिनको हल्लाखल्लाअनुसार जति किताब बिक्री हुनुपथ्र्यो, त्यति नभएको प्रकाशकहरू बताउँछन् । साहित्यको बजार कोभिडभन्दा दुई–तीन वर्षअघिदेखि नै सुस्त भएको बताउँछन् फाइन प्रिन्टका अजित बराल । ‘राम्रा किताब प्रचारप्रसार हुँदा पनि जति बिक्री हुनुपर्ने हो, त्यति भएनन्,’ उनी भन्छन्, ‘कर्नाली ब्लुजपछि अत्यधिक चर्चा भएको किताब ‘फातसुङ’ हो । विषय, अनुवाद, प्रचार र प्रतिष्ठित जेसिबी प्राइजमा छनोट भएको किताबको बिक्री पनि सोचेअनुरूप हुन सकेन । अर्को राम्रो कृति ‘महाभारा’ पनि अपेक्षाअनुसार बिक्री भएन ।’


बुकहिल पब्लिकेसनका भूपेन्द्र खड्का पनि साहित्यको बजार देखेर निराश छन् । उनका अनुसार बिक्रीका हिसाबले यो वर्ष न्यून रह्यो । ‘यो वर्ष पाँच हजार हाराहारीमा बिक्ने लेखकका किताब पनि एक हजार प्रति बिक्न गाह्रो भयो । ‘एकाध किताबबाहेक अरूको खासै व्यापार भएको छैन,’ उनले सुनाए । यसैगरी पब्लिकेसन नेपालयकी सैजन मास्केको भनाइ पनि बराल र खड्कासँग मिल्दोजुल्दो छ । उनको भनाइमा किताबको बजार पहिलेजस्तो छँदै छैन । यो वर्ष शिखा बुक्सले विभिन्न विधामा ४५ भन्दा बढी किताब प्रकाशन गर्‍यो । यद्यपि साहित्यको बजार भने सुनसान भएको शिखा बुक्सका सञ्चालक एवम् पुस्तक विक्रेता संघका उपाध्यक्ष पुष्पराज पौडेल सुनाउँछन् । उनी भन्छन्, ‘अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले व्यापार घटेको छ ।’ 

नेपाली साहित्यको बजार सीमित छ । यही सीमित बजारमा किताब प्रकाशन गरिरहेका पाँचपोखरी प्रकाशन गृहका राम श्रेष्ठको अनुभव भिन्नै हुने कुरै भएन । उनले पनि कोभिडअघिसम्म ठिकठाक रहेको व्यापार कोभिड हुँदै रुस–युक्रेन युद्ध भोगेर यहाँसम्म आइपुग्दा ९० प्रतिशत घटेको बताउँछन् । ‘व्यवसायबाट नाफा गर्नुपर्ने वेला खर्च नै नधान्ने अवस्था आएको छ,’ उनले निराश हुँदै सुनाए ।

साहित्यिक बजार टिठलाग्दो हुनुमा फिनिक्स बुक्सका गणेश सुवेदीचाहिँ केही फरक धारणा राख्छन् । उनलाई लाग्छ, पछिल्लो समय बजारमा इमानदारिता हराउँदै गएको छ । विभिन्न कारण देखाएर विक्रेताले पैसा रोकिदिएका छन्, जसले गर्दा किताबी बजारले राहत पाउन सकेको छैन । फरक धारणासँगै बजारलाई लिएर सुवेदीको गुनासो पनि छ । उनी थप्छन्, ‘एकातिर आशालाग्दा लेखकबाट निराशाजनक नतिजा हात लाग्यो । लेखक गुणवत्ताभन्दा संख्या बढाउनतिर लागे । अर्कातिर अधिकांश मान्छे लेखक बन्ने मोह पालेर बसेका छन् । तर विडम्बना, तिनैले अरूका कृति पढ्दैनन् ।’ 

‘पठनको समय युट्युब, टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालले खाइदिए । मान्छेले सस्ता विषयमा निःशुल्क कन्टेन्ट हेर्न, पढ्न पाए । त्यहाँ किताबबारे छलफल र विचार–विमर्श हरायो ।’


यी त भए प्रकाशकका कुरा । बजारमा पाठकसँग प्रत्यक्ष जोडिने, उनीहरूको क्रयशक्ति अनुमान गर्ने र बजारको स्थिति नजिकबाट बुझ्ने भनेको किताब वितरक तथा विक्रेता नै हुन् । विडम्बना ! उनीहरूको अनुभवले पनि प्रकाशककै कुरालाई समर्थन गर्छ । वितरक एवं अनलाइन बुकस्टोर किताबकिरोका सञ्चालक तारानिधि रेग्मीका अनुसार बजार साँच्चै सुस्त छ । अधिकांश किताब एकपछि अर्को असफल हुने क्रम जारी छ ।


सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले बजारको अवस्था देखेर जे अनुभव व्यक्त गरे, त्यो सुन्दा कहाली लाग्छ । ‘पछिल्ला चार वर्षको तुलनामा व्यापार अति नै सुस्त छ । सुस्त बजारले नाफा त परै जाओस्, भाडा तिर्न पनि पुग्दैन,’ उनी भन्छन्, ‘त्यही कारण अहिले व्यवसायीले विकल्प सोचिरहेका छन् । पलायनै हुनुपर्ने अवस्था आएको छ ।’


किताबको बजार कहिलेदेखि सुस्तायो ?
सबै प्रकाशक तथा वितरक/विक्रेताको साहित्यिक किताब बजारको आशा आठ–दश वर्षअघि गएर जोडिन्छ । ६० को दशकपछि किताबको बजारलाई प्रकाशकहरू सन्तोषजनक अवस्था मान्छन् । कुनै लेखकको विमोचनपछि व्यापक चर्चा हुन्थ्यो । सञ्चारका विभिन्न माध्यममा समीक्षा छाप्न होडबाजी चल्थ्यो । अहिलेको झैँ अल्गोरिदम र कम्युनिटी स्ट्यान्डर्डजस्ता टुल्सले सामाजिक सञ्जालमा ‘कन्टेन्ट सेन्सर’ पनि गर्दैनथ्यो ।


‘०६२/०६३ पछि उदाएको साहित्यको बजार ७०/७५ मा आउँदा उत्कर्षमा पुग्यो । तर, त्यसपछि क्रमशः सेलाउँदै गयो,’ फाइन प्रिन्टका बराल सुनाउँछन्, ‘पठनको समय युट्युब, टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालले खाइदिए । मान्छेले सस्ता विषयमा निःशुल्क कन्टेन्ट हेर्न, पढ्न पाए । त्यहाँ किताबबारे छलफल र विचारविमर्श हरायो ।’


बुकहिलका खड्काचाहिँ कोभिडअघि नेपाली लेखकका राम्रा र गुणस्तरीय किताब बिकेको स्मरण गर्छन् । यता पौडेल भने पुस्तक व्यवसायमा सर्वाधिक ‘ग्रोथ’ गरेको समय नै कोभिडअघिसम्मको बताउँछन् । 


सुस्त बजारको चुस्त कारण
बजारमा किताब नबिक्नुका कैयौँ कारण हुन सक्छन् । तर, अहिलेको अवस्थामा कोभिड, रुस–युक्रेन युद्ध र विशेषगरी आर्थिक मन्दी नै हुन् । यी तीनवटै तŒव एकअर्कासँग परस्पर रूपमा जोडिएर आउँछन् । कोभिड महामारीले सबैतिर ठप्प बनायो । आर्थिक क्षेत्र चलायमान हुन सकेन । कोभिडपछि अलिकति बजार बौरिन थालेको के थियो, रुस–युक्रेन युद्धले त्यसलाई छिन्नभिन्न बनायो । त्यसको असर भान्सादेखि किताबको बजारसम्म पर्‍यो । 

यो वर्ष विभिन्न प्रकाशकले करिब दुई सयभन्दा बढी किताब प्रकाशन गरे । मोफसलमा प्रकाशित र हल्ला नभएका कृति थप होलान् । तर, गुणस्तरीय किताब र तिनको हल्लाखल्लाअनुसार जति किताब बिक्री हुनुपथ्र्यो, त्यति नभएको प्रकाशक र वितरकहरू बताउँछन् । 


साहित्यको बजारले लय गुमाउनुमा लुकाएर पनि नलुक्ने तत्व हो, आर्थिक मन्दी । ‘आर्थिक मन्दीले कुनै क्षेत्र बढी प्रभावित भयो भने, त्यो किताब बजार नै हो,’ बुकहिलका खड्का भन्छन्, ‘मन्दीले किताब छाप्ने कच्चापदार्थ कागज, मसी सबैको भाउ अत्यधिक बढेको छ । यही कारण कतिपय प्रकाशकले चाहेर पनि किताब भनेको समयमा छाप्न सक्ने अवस्था छैन । रुस–युक्रेन युद्धको असर सिधै प्रिन्ट उद्योगमा छ ।’


खासमा अहिले देखिएको आर्थिक समस्या हो । तर, लेखाइ पनि सबल बनाउन जरुरी रहेको खड्का बताउँछन् । उनका अनुसार प्रकाशकले जस्तो पायो त्यस्तै र जे पायो त्यही छापिदिँदा बजार प्रभावित बनेको छ । पाठकमा विश्वास पनि घट्दै गएको छ । फरक धारणा राखे तापनि फिनिक्स बुक्सका सुवेदीले कोभिड र आर्थिक मन्दीजस्ता कारणले बजार निराशाजनक बनेको सत्यलाई नकारेनन् । ‘आर्थिक मन्दीले किताब पठनको प्राथमिकतालाई धकेलेर धेरै टाढा पुर्‍यायो,’ उनले प्रश्न गरे, ‘मान्छेको पहिलो प्राथमिकता दालभात, घरभाडा, स्वास्थ्योपचार हुन पुग्यो । यो स्थितिमा किताब किनेर कसरी पढ्ने ?’सुवेदीले जे भने सही भने । आर्थिक मन्दीले मान्छेसँग बचत कम छ भने महँगी बढी छ । के खाऊँ ? के लाऊँ ? चिन्ताबीच किताब कुनै हालतमा पहिलो प्राथमिकतामा पर्दैन ।


बरालको शब्द सापटी लिएर भन्दा देशको अस्थिर राजनीति, बढ्दो महँगीदरलगायत कारणले साक्षर युवा पनि विदेश पलायन हुन थाले । उनीहरू पलायन हुनु भनेको नेपाली भाषा–साहित्यका पाठक घट्नु हो ।पब्लिकेसन नेपालयकी मास्के भने कोभिड सकिनै लाग्दा रुस–युक्रेन युद्ध सुरु भएको र त्यसले किताब प्रकाशनका लागि आवश्यक पर्ने सामग्रीको आपूर्ति अवरुद्ध हुँदा किताबको मूल्य बढाउनुपरेको बताउँछिन् । उनका अनुसार बजार सुस्ताउनुमा एउटा कारण यो पनि हो । साथै, बजारमा किताब धेरै हुँदा पाठकलाई विकल्प पनि उत्तिकै सिर्जना भएको मास्केको भनाइ छ ।


यसैगरी, नेपाली साहित्यको पठन कम हुनुमा भाषालाई पनि कारण मान्छन् प्रकाशकहरू । ‘हाम्रा विद्यालयले अंग्रेजी भाषालाई सक्दो प्राथमिकता दिए । यसकारण विद्यार्थीले पनि नेपालीभन्दा अंग्रेजी किताब नै बढी रोज्छ,’ बराल भन्छन्, ‘यो नेपाली प्रकाशकलाई थ्रेट पनि हो । अंग्रेजीमा धेरै विकल्प छन् । एक होइन, अनेक माध्यम छन् । तर, नेपालीमा नेपालीबाहेक अर्को विकल्प छैन । यसकारण पनि साहित्यको बजार खुम्चिएको हुन सक्छ ।’खड्काको आशय पनि यस्तै छ । ‘नेपालमा अंग्रेजी भाषामा छापिएको पुस्तक पढ्ने जमात छ । त्यो सधैँ मौन छ । इच्छा लागेको किताब खरिद गरेर पढ्छ । अर्काे गैरआख्यान पढ्ने जमात छ, जसले आख्यान खासै छुँदैनन् । तर, त्यो संख्या न्यून छ ।’


प्रविधिको समान भूमिका
हिजोआज प्रविधि हाम्रो सामान्य दैनिकीजस्तै बनेको छ । समाचार हेर्न, पढ्न, सूचना संकलन गर्न, तथ्यांक र ज्ञान थाहा पाउन पनि प्रविधि छरितो र भरपर्दो माध्यम बनेको छ । प्रविधिका अनेकन् प्लेटफर्म आम्दानीको गतिलो स्रोतसमेत बनेका छन् । तर, यही प्रविधिले बजारलाई हिर्काएको देखिन्छ ।फेसबुक, युट्युब, इन्स्टा, टिकटकजस्ता सामाजिक सञ्जालको बढ्दो लोकप्रियताले नेपाली साहित्यका पाठक घटेको दाबी खड्काको छ । यसबारे बरालको समान धारणा माथि आइसकेको छ । यस्तै, अर्का प्रकाशक श्रेष्ठ पनि प्रविधिलाई पनि किताब बजारको कारण मान्छन् ।


‘अधिकांश पाठकको समय सामाजिक सञ्जालले खायो, जसले गर्दा मान्छे क्षणिक कुरामा रमाउन थाल्यो,’ सुवेदी सुनाउँछन्, ‘अनि पढ्ने मान्छेको खडेरी पर्‍यो ।’
तर, नेपालयकी मास्के भने प्रविधिलाई सकारात्मक रूपमा लिन्छिन् । ‘कोभिडका वेला धेरैको विकल्प डिजिटल प्लेटफर्म अर्थात् प्रविधि बन्यो,’ उनी भन्छिन्, ‘त्यसैलाई मध्यनजर गर्दै नेपालयलेडिजिटल प्लेटफर्ममा इबुक उपलब्ध गरायो । बिक्री पनि राम्रो भयो ।’


किताब बिक्रीमा प्रविधिलाई दोष दिन नहुने पौडेलको पनि धारणा छ । ‘अमेरिकामा पनि किताब बिक्री भएका छन् । प्रविधि मात्रै कारण होइन । हामी अरूलाई मात्रै दोष दिन्छौँ । एकचोटि आफैँतिर फर्केर पनि हेर्नुपर्छ । कतै हामीले राम्रो किताब प्रकाशन गर्न पो सकेनौँ कि ?’प्रविधिले गलत नै गरेको हो त ? भन्ने प्रश्नमा वितरक रेग्मी भन्छन्, ‘प्रविधिले गलत नै गरेको छ भन्न सकिँदैन । मान्छेले विभिन्न माध्यमबाट सूचना लिइरहेका छन् । मैले पनि परम्परागत शैलीभन्दा प्रविधिको सहारा लिएँ । फलतः मेरो व्यापार राम्रै छ । तर, यो पनि क्षणिक हो भन्नेमा ढुक्क छु ।’


दसैँको छेकोमा सार्वजनिक भएको सुबिन भट्टराईको उपन्यास ‘इजोरिया’ले बजारलाई आर्थिक रूपमा चलायमान बनाएको फाइन प्रिन्टका प्रकाशक बराल मात्रै होइन, अन्य प्रकाशक, वितरक र विक्रेता पनि बताउँछन् । वितरक रेग्मी सुस्त बजारलाई ‘इजोरिया’ले चलायमान बनाएको बताउँछन् । किताब व्यवसायी सापकोटा पनि सोही किताबले बजारलाई लयमा फर्काएको स्वीकार गर्न कन्जुस्याइँ गर्दैनन् । 


पठन संस्कृति र सुधार
पठन संस्कृतिको विकास हुन नसक्नुमा भाषाको तगारो, पढ्ने युवाको पलायन, सामाजिक सञ्जाल, लोकप्रियता आदि पक्ष होलान् । तर, यी मात्रै मूलभूत कारण भने होइनन् । बजारलाई चलायमान बनाइराख्न पठन संस्कृतिको विकास हुनुपर्छ । र, त्यसका लागि हाम्रो स्कुलिङ सही हुनुपर्छ ।वितरक रेग्मीको भनाइअनुसार हाम्रो स्कुलिङ नै गलत छ । ‘शिक्षकलाई कोर्सबाहेकका किताब किन आवश्यक छन् भनेर बुझाउन जरुरी छ । शिक्षकलक्षित अभियान पनि सञ्चालन हुनुपर्छ,’ उनी भन्छन्, ‘शिक्षकले किताबको महत्व बुझी विद्यार्थीलाई पनि बुझाउन सक्ने हो भने उनीहरू उत्प्रेरित हुन्छन् । पठन संस्कृति बढ्छ र किताबको बजार पनि विस्तार हुन्छ ।’


पठन संस्कृति बढाउन तल्लो तहदेखि नै कोसिस गर्नुपर्छ । सरकारले पनि त्यहीअनुसारको नीति ल्याउनुपर्छ । त्यसो त केही वर्षयता पुस्तकालयका लागि भनेर सरकारले निश्चित बजेट विनियोजन गर्दै आइरहेको छ । तर, त्यसको सही सदुपयोग भएको पाइन्न । ‘कमिसनको चक्करमा किताब पठाइन्छ,’ सुवेदीको भनाइ छ, ‘र, पनि राम्रा किताब त्यहाँसम्म पुग्दैनन् । सरकारले बजेट त छुट्यायो तर अनुगमन हुन सकेन । यसको प्रभाव पठनमा देखियो । पठनको प्रभाव नै बजारको प्रभाव हो ।’ 


खड्काका अनुसार जबसम्म घरमा पढ्ने वातावरण बढ्दैन, स्कुल–कलेजमा कोर्सबाहिरका पुस्तक पढ्ने बानी बढ्दैन र सामुदायिक पुस्तकालय व्यवस्थित हुँदैनन्, तबसम्म नेपाली साहित्यको बजार व्यापारिक हिसाबले सबल हुन निकै गाह्रो छ ।समग्रमा नेपाली साहित्य बजार कस्तो छ भन्ने सन्दर्भलाई माथिका विषय र प्रसंगले प्रस्ट्याउँछ । यो वर्ष मात्रै होइन, विशेषगरी कोभिड महामारीपछि नै किताबको बजार घटेको व्यवसायी बताउँछन् । तर, जसरी वसन्तमा नवपल्लव अंकुरित भएका छन्, त्यसैगरी सुखद बजारको आशा गर्नुको विकल्प छैन । मास्के भन्छिन्, ‘हो, साहित्यिक बजारको अवस्था निराशाजनक छ । तर, आशा गर्न छोड्नुहुन्न ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.