प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित

0 35

१३ चैत, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहबीच गृहसचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

सुशोभन समारोहमा गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै उहाँको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कानूनी राज्यको मूल अवधारणालाई अंगिकार गर्दै प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने विषयहरू, मानवअधिकारको संरक्षण एवम् प्रवर्द्धन लगायत समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी संगठनको उद्देश्यमा सबै सरोकारवाला निकायको सहयोग हुने र प्रहरी महानिरीक्षक कुँवरले सकारात्मक रूपमा नेतृत्व प्रदान गर्नसक्ने विश्वास समेत गृहसचिव सिंहले व्यक्त गर्नुभयो । संगठनको उद्देश्य पूरा गर्न सबै प्रहरी कर्माचारीहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी संगठन जनताले विश्वास गर्ने र संरक्षकको रूपमा आशा गर्ने संगठन भएको चर्चा गर्दै गृहसचिव सिंहले प्रहरीले प्रवाह गर्ने सेवालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । गृहसचिव सिंहले सीमित स्रोत साधनका वावजूद पनि नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरीलाई आवश्यकता अनुसार स्रोत साधन उपलब्धता प्रति मन्त्रालयले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रहरीका हरेक सुधारका कार्यहरूलाई पूर्ण रूपमा सहयोग, साथ र समन्वय गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै उहाँले प्रहरी संगठनभित्र भएका नराम्रा कुराहरू हटाउन र राम्रा कुरालाई अगाडि बढाउन समेत मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो । पदस्थापना र सरूवाका मापदण्डको अक्षरस पालना गर्नेतर्फ प्रहरी महानिरीक्षक कुँवरले आवश्यक कदम चाल्नुहुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

गृहसचिव सिंहले प्रहरीले सबैभन्दा बढी जनतासँग नजिक भएर प्रभावकारी एवम् उत्तरदायी भई काम गर्नुपर्ने तथा प्रहरी संगठनको समस्या तथा संगठनलाई सुधार गर्नुपर्ने विषयहरू सबैलाई बढी चासोका विषय भएको उल्लेख गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट संगठनको आन्तरिक सुदृढिकरणको लागि भएका प्रतिबद्धताको कार्यान्वयनप्रति आशावादी रहेको बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षतका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

नेपालको संविधानले मार्ग निर्देशित गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रुपमा संस्थागत गर्दै प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्मप्रतिज्ञा हो र यसबाट म किंचित पनि डगमगिने छैन ।’

नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूको सामु कहिल्यै कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीको एकल प्रायस मात्र पर्याप्त नहुने र यस किसिमको दायित्व निर्वाह गर्न आम नागरिक, सुरक्षासँग सम्बद्ध सरोकारवाला निकायहरुबाट सहयोग र सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागसँगको निरन्तर समन्वय सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशिलतामा गुनासो आउने अवसर नदिइने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरू एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले आइतबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.