एसीसी प्रिमियर कप : नेपाल र ओमान एउटै समूहमा, वैशाख ५ बाट प्रतियोगिता सुरु
०९ चैत, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन गरिएको छ। नेपालमा हुन लागेको खेलको परिवर्तित तालिका अनुसार ओमान र नेपाल एउटै समूहमा परेका छन्।
लिग-२ को शीर्ष २ मा रहेको ओमान र शीर्ष तीनमा रहेको नेपाल समूह चरणमा एकअर्काविरुद्ध भिड्ने भएका हुन्। परिवर्तित तालिका अनुसार नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन्। यसअघि नेपाल, युएई र कुवेत एउटै समूहमा थिए। समूह ‘बी’मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म हुने भएको छ। यसअघि अप्रिल २४ देखि मे ८ सम्मका लागि तय गरिएको थियो।
नेपालले उद्घाटन खेल मलेसियासँग त्रिवि क्रिकेट मैदानमा बैशाख ५ गते नै खेल्नेछ। बैशाख ८ गते ओमानसँग त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल भने एकदिवसीय मानिनेछ।
बैशाख ११ मा साउदी अरेबियासँग मुलपानीमा र बैशाख १४ मा कतारसँग त्रिवि मैदानमा नेपालले खेल्नेछ। सेमिफाइनल बैशाख १६ गते हुनेछ। फाइनल बैशाख १८ गते टियुमा हुनेछ। तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ। एशिया कपमा भारत र पाकिस्तान पनि हुनेछन्। शीर्ष तीन टोलीले भने जुलाइमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। जहाँ पाकिस्तान र भारतका ए टिमहरु रहनेछन्।
