Advertisement

तामाकोशी-काठमाडौं प्रसारण लाइन असारभित्र सम्पन्न गर्न निर्देशन

0 16

Advertisement

२६ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसन निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

प्राधिकरण टोलीले निर्माणमा देखिएको अवरोध हटाउन आफ्नोतर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै नयाँ खिम्ती-बाह्रबिसे, बाह्रबिसे-काठमाडौं र बाह्रबिसे सबस्टेसन निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो ।

टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदार, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या तथा समाधानका उपायलगायतका विषयमा विस्तृत छलफल गरेको थियो । रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीयवासीकोे अवरोधलगायतका कारण काम प्रभावित हुँदै आएको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशीको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । मध्य भोटेकोशीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले असारभित्र सबस्टेसन निर्माण नभएर मध्य भोटेकोशीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिनुभएको छ । घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भन्नुभयो, ‘यदि सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिकरूपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिनेछ ।’

कार्यकारी निर्देशक घिसिङले असारभित्र निर्माण नभएर मध्य भोटेकोशीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिनुएको छ ।

प्राधिकरणले मध्य भोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ तर त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्य भोटेकोशीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । २२० केभी प्रसारण लाइनबाट आएको विद्युत््लाई बाह्रबिसे सबस्टेसनमार्फत् १३२ केभीमा झारिनेछ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत् लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।

माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले हाल बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । उक्त लाइन निर्माण गर्न बढीमा चार महिना लाग्ने बताइएको छ ।

कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती-बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्य भोटेकोशीको विद्युत्् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताउनुभयो । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, ५ एमभिएका पावर ट्रान्सफर्मरहरू रहनेछन् । प्रसारण लाइनअन्तर्गत नयाँ खिम्ती-बाह्रबिसे खण्डमा पर्ने एक १८ टावरमध्ये ९० टावरको जग हालिएको छ भने ७१ टावर खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ । प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र छ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो ।

त्यसैगरी ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र छ करोड १६ लाख ७४ हजार रुपैयाँ बैंक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले नयाँ टेण्डर गरी ठेकेदार छनोट गरेको थियो । तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी-काठमाडौं प्रसारण लाइन र सबस्टेसन सुरु गरिएको हो ।

बेलायतकी मन्त्रीद्वारा अरुण ३ को अनुगमन

नेपाल भ्रमणमा रहनुभएकी बेलायतकी फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो-प्यासिफिक) एने-म्यारी ट्रेवेलियनले अरुण ३ जलविद्युत् परियोजनाको अनुगमन गर्नुभएको छ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको परियोजनाको विद्युत् गृहस्थल ट्रान्सफर्मर वेको अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गर्नेतर्फ अघि बढेको बताउनुभयो । नेपालले जलविद्युत् उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महŒवपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । अरुण-३ भारतीय कम्पनी एसजेभिएनको मुख्य स्वामित्वमा स्थापित एसजेभिएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत् विकास भइरहेको छ । हालसम्म भौतिक प्रगति करिब ६१.२ प्रतिशत रहेको छ । सन् २०२३ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.