Advertisement

मर्यादित बन्दै होली

0 61

Advertisement

राजेन्द्र तिवारी

२२ फागुन, काठमाडौँ ।
विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।

खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो । विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो । कोरोनाअघि पनि यो विकृतिमा केही कमी भने आइसकेको थियो । अपवादका रुपमा भने अझै पनि केही मानिस उच्छृङ्खल गतिविधिमा संलग्न भएको देखिन्छ । त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याइने नेपाल प्रहरीले जनाएको छ ।

हातहातमा रङ्गका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौँको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रबिन्दु हो वसन्तपुर क्षेत्र । उपत्यकामा बस्ने होलीप्रेमीहरु एक पटक वसन्तपुर नपुगी चित्त बुझाउँदैनन् । आज साँझ अबेरसम्मै वसन्तपुर दरबार क्षेत्र होलीमय हुन्छ । ती एक प्रेमिल जोडी पनि आज बिहान मैतिदेवीस्थित आफ्नै कोठाबाट एकापसमा रङ्ग दलेर होलीको सुरुआत गरी न्युरोड आइपुगेका हुन् । साथीहरूबीच खुसी साट्दै र रङ्ग दल्दै निस्किए । न्युरोड आइपुग्दा पाँच प्रेमिल जोडीको एक समूह बन्यो ।

होलीका लागि भनेर तयार पारिएको निखर सेतो टिसर्ट र बजारको ‘फेसनेबल हाफ पाइन्ट’मा थरीथरीका रङ्गको स्पर्शले उनीहरूको शरीर र लगाएको कपडा नै सप्तरङ्गी बनेको थियो । अनुहार चिनिने गरी मात्रै रङ्ग दलिएको थिएन । सबैका हातहातमा रङ्गका पोका थिए । वसन्तपुरमा पुगेर फागु खेल्न धोको बाँकी नै थियो । भेटेका अन्य समूहले रङ्ग दल्दा उनीहरु पनि उक्त समूहलाई रङ्ग दलेर ‘ह्याप्पी होली’ भन्दै मच्चीमच्ची उमङ्ग साटासाट गर्थे । त्यो समूहकी एक कृपा शर्माले भनिन्, ‘यो प्रेमिल अनि रङ्गीन पर्व हो, होलीमा लगाइएको रङ्ग आफैँमा विशेष र स्मरणयोग्य हुने भएकाले यो बेला जोडिने सम्बन्ध अटुट बन्छ ।’ त्यही कारण होली पर्व मनाउन कहिल्यै नछुटाउने गरेको उनले बताइन् ।

यसपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाइरहेका छन् । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरुपमा मनाइरहेको देखिन्छ ।

केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन् । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य छ । पुतलीसडक चोकमा फागु पर्व मनाइरहेका युवा रामचन्द्र श्रेष्ठ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउनुहुन्छ ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन ।

बिहानैदेखि वसन्तपुरमा विशेष चहलपहल

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेषरुपमा होली अर्थात् फागुपूर्णिमा पर्व मनाइरहेका छन् । वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराईका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

२७ हजार सुरक्षाकर्मी परिचालन

फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले रासससलाई जानकारी दिनुभयो ।

होलीका अवसरमा अहिलेसम्म देशभर कुनै अप्रिय घटना भएको छैन । राजधानीलगायत मुख्य सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजधानीमा नियमित बाहेक पनि ६६ भन्दाबढी स्थानमा जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

यस वर्ष विगतमाभन्दा फागु पर्व सभ्य देखिएको प्रहरी प्रवक्ता पोखरेलले बताउनुभयो । अहिलेसम्म उच्छृङ्खल गतिविधि गर्ने कसैलाई पनि प्रहरीले यिनन्त्रणमा लिएको छैन । सहरका भित्री भागमा फागुपूर्णिमाका अवसरमा धेरै चहलपहल छैन । होलीको चहलपहलमा उत्रनेले पनि फागुपूर्णिमाका अवसरमा अरुलाई आक्रमण गरेका छैनन् । समग्रमा फागुपूर्णिमाका अवसरमा मानिस सभ्य बन्दै गएको देखिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.