Advertisement

अविलम्ब प्रधानन्यायाधीश नियुक्त गर्न कानुन व्यवसायीहरुको माग

0 22

Advertisement

०८ फागुन, काठमाडौं । प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीहरुले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताए। प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्नुका साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने उनले बताए। प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरुको अकर्मण्यता भएको भट्टराईको भनाइ छ।

भट्टराईले भने– ‘न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु पहिलो कुरा शोभनीय हुँदैन। दोस्रो कुरा यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ। ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न नपाउँदा  प्रधानन्यायाधीश र निजबाट सम्पादन हुने काममा यसको प्रत्यक्ष असर पर्छ। र जहिले पनि न्यायपालिकाले कार्यपालिका वा व्यवस्थापिकाप्रति परनिर्भर रहनुपर्ने परिस्थिति सिर्जना हुन जान्छ। संविधानले परिकल्पना गरेको स्वतन्त्र न्यायपालिका कसैको पनि आश, त्रास र भयबाट मुक्त भएर कार्यसम्पादन गर्नुपर्ने अवस्थामा प्रधानन्यायाधीशको पद लामो समयसम्म रिक्त रहेको कारणले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकाको भावनाअनुरुप कार्य गर्न नसक्ने परिस्थितिको सिर्जना हुन जान्छ, यसले गर्दा यो राजनीतिक दलहरुको अकर्मण्यता हो। अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्नतर्फ राजनीतिक दलहरु लाग्नुपर्छ। होइन भने यो संविधान र स्वतन्त्र न्यायपालिकाले संविधान बमोजिमको कार्य गर्न असमर्थ हुन्छ। संविधान बमोजिमको कार्य गर्न जब न्यायपालिका असमर्थ हुन्छ, तब लोकतन्त्र धरापमा पर्छ।’

त्यस्तै, वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधान विरुद्धको काम भएको बताए। उनले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद् लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराए। 

बिडारीले भने– ‘नेपालको सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीश अस्थायी रुपमा राख्ने संविधान विरुद्धको काम अहिले लामो समयदेखि भइराखेको छ। अरु न्यायाधीश स्थायी, सर्वोच्च अदालतको प्रधानन्यायाधीशचाहिँ अस्थायी। यस्तो गर्ने बेइमानीहरुको राज्य चलेको भन्ने प्रमाण होला कि भन्ने पिर लागेको छ। त्यसो भएको हुनाले छिटोभन्दा छिटो प्रधानन्यायाधीशलाई स्थायी गर्नेतर्फ सम्बन्धित निकाय संसद्‌सहितले उचित र पर्याप्त चाँडै ध्यान पुर्‍याओस्।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भएको बताए। उनले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताए। लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलिराखेको भन्दै उनले यस्तो हुँदा न्याय सम्पादनमा फरक पर्ने बताए। उनले प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसद्‌लाई आग्रह गरे। 

घिमिरेले भने, ‘कायम मुकायमको भरमा सर्वोच्च अदालत चलिराखेको अवस्था छ। कायममुकायम भनेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश नहुँदाखेरी छोटो समयको लागि परिकल्पना गरिएको पद हो। तर यहाँ कस्तो देखियो भने कामु प्रधानन्यायाधीशलाई कन्फर्म प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो भएको देखिएन। यो एउटा चिन्ताको विषय हो। संवैधानिक इजलासको नेतृत्व पनि सर्वोच्च अदालतको प्रधानन्यायाधीशले गरिराखेको हुनुहुन्छ। लामो समयबाट सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशबाट संवैधानिक इजलास चलिराखेको अवस्था छ। यो कति समय भनेर नतोकिएको भए पनि यो वास्तवमा सधैंको लागि परिकल्पना गरिएकै होइन। यसले न्याय सम्पादनमा फरक पार्छ। न्यायिक नेतृत्वलाई डिमोरलाइज गर्ने काम भएको छ। कार्यपालिका र व्यवस्थापिका दुवैबाट यो कुरा भएको हुनाले म अविलम्ब, यथाशीघ्र सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीश भएको अवस्थालाई अन्त्य गरेर स्थायी प्रधानन्यायाधीशको व्यवस्था गर्नका लागि नेपाल सरकार र व्यवस्थापिका दुवैलाई म हार्दिकतापूर्वक अनुरोध गर्दछु।’

त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको बताए। उनले संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीशले नै गर्नुपर्ने बताए। कायम मुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने उनको भनाइ छ।

निरौलाले भने– ‘सर्वोच्च अदालत १ वर्षभन्दा लामो समयदेखि नेतृत्वविहीन जस्तै छ। कामु प्रधानन्यायाधीशको भरमा यति लामो समयसम्म सर्वोच्च अदालत रहिरहनु कुनै पनि हालतमा उचित होइन। संवैधानिक इजलासको नेतृत्व पनि प्रधानन्यायाधीशले नै गर्नुपर्दछ। मुद्दा, मामिलामा विवादको निरुपण गर्नलाई सक्षम भएर, दृढ भएर, निडर भएर गुणस्तरीय फैसला गर्ने, निर्णय गर्ने, आदेश गर्ने काममा कामु प्रधानन्यायाधीश लामो समय कायम रहनु कुनै हालतमा उचित होइन। यथाशीघ्र संवैधानिक परिषद्ले सिफारिस गरेर प्रधानन्यायाधीशको नियुक्ति हुनुपर्छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.