रास्वपालाई सरकार छाड्न र गृहमन्त्रालय पाउन उत्तिकै सकस!
२२ माघ, काठमाडौं । दुईदिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीे अन्तत चिसै पानीले नुहाउन बाध्य भयो । दुई दिनभित्रमा गृहमन्त्रालयमा सहमति नभए सरकार छाड्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीलाई शनिबारसम्म दुई दिनको अल्टिमेटम दिएको थियो ।
शनिबार अबेरसम्म चेलेको बैठकमा नेताहरुले बोल्ने क्रम नसकेपछि आज फेरि बैठक बस्ने संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनको बीचमा भएको छलफलबारे ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहको साटो भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् । रास्वपाका अध्यक्ष रवि लामिछानेसँग शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले गृहको साटो भौतिक पूर्वाधार वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।
रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्तावसँगै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रालयमा पार्टी सभापति लामिछानेको साटो अरूलाई पठाउन पनि आग्रह गरेका छन् ।रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ ।भौतिक पूर्वाधार मन्त्रालय रास्वपालाई दिएपछि गृहमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको भनाइ छ ।रास्वपाका सभापति लामिछानेले गृहमन्त्रालयको अडान लिइरहँदा प्रधानमन्त्री प्रचण्ड उनलाई पुनः गृहमन्त्री बनाउन सकारात्मक छैनन् । तर ,प्रमुख सत्तारुढ दल एमाले र अध्यक्ष केपी ओली भने रविको पक्षमा छन् ।