Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

काठमाडौं महानगरको अर्धवार्षिक समीक्षा : सञ्चित कोषबाट झन्डै १६ प्रतिशत खर्च

0 26

२० माघ, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा काठमाडौं महानगरको सञ्चित कोषबाट व्यहोर्ने रकम २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँको १५.५४ प्रतिशत खर्च भएको छ। यसमा चालुतर्फ २९.८७, पुँजीगततर्फ ७.७८ र वित्तिय खर्च ५३.०९ प्रतिशत रहेको काठमाडौं महानगरले जनाएको छ।

खर्च भएको बजेटमा केन्द्र (महानगर)बाट १४.८५ प्रतिशत र वडाबाट १८.८४ प्रतिशत रकम खर्च भएको छ। सञ्चित कोषबाट करिब ८५ प्रतिशत केन्द्रबाट र १५ प्रतिशत वडाबाट खर्च हुन्छ।

समीक्षा कार्यक्रममा महानगर प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहित कार्यपालिका सदस्यहरुले विभागीय प्रमुखहरुको समीक्षा प्रस्तुतिमा धारणा राखेका थिए।

Subscribe to our newsletter

‘सूचना प्रविधिको प्रयोगबाट काम गर्ने क्षमता बढाउनु पर्छ। समीक्षामा प्रमुख साहले भने, ‘वडाबाटै भवन नक्सा स्वीकृत हुने प्रणालीको विकास, सिफारिसलगायत सेवा नागरिकले अनलाइनबाटै लिन सक्ने प्रणालीका लागि सूचना प्रविधि विभागले सक्रिय भएर काम गर्नू। यसले नतिजामा सुधार ल्याउँछ।’

चालु आर्थिक वर्षका लागि काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ हो। जसमध्ये २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ महानगरको सञ्चित कोषमा जम्मा हुने रकम हो। ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने आम्दानी हो। यो रकम सञ्चित कोषमा जम्मा हुँदैन।

खर्चलाई क्षेत्रगत रुपमा हेर्दा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३८.१९ प्रतिशत, सामाजिक विकासमा २५.४७, पूर्वाधार विकासमा ९.४८, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ४.३६ प्रतिशत र आर्थिक विकासमा २.८६ प्रतिशत छ।

स्रोतगत हेर्दा आन्तरिक स्रोततर्फ १५.२९ प्रतिशत, नेपाल सरकारको समानीकरण अनुदानमा १२.११ प्रतिशत, बागमती प्रदेशको सशर्त अनुदान चालुमा ८.७६ प्रतिशत, संघ सरकारसँगको राजस्व बाँडफाँटबाट ४.८९ प्रतिशत र प्रदेश सरकारसँग राजस्व बाँडफाँटबाट प्राप्त स्रोतको ६.४९ प्रतिशत खर्च भएको छ।

स्वीकृत १ हजार ४८० कार्यक्रममध्ये करिब ८ अर्ब रुपैयाँका ४८३ वटा कार्यक्रम सार्वजनिक निर्माण विभागका छन्। यीमध्ये ६८ प्रतिशत कार्यान्वयनमा गएका छन्। कार्यान्वयनमा गएका तर भुक्तानी नभएका कारण प्रगतिमा अपेक्षा गरिएको अंक देखिन नसकेको अधिकारीको भनाइ छ।

धेरै कार्यक्रम कार्यान्वयन गर्नु पर्ने अर्को सम्पदा तथा पर्यटन विभाग हो। ३३१ वटा कार्यक्रममध्ये यस विभागका ५८ वटा कार्यक्रम कार्यान्वयनमा गएका छन्। खुल्ला प्रतिस्पर्धाबाट प्राचीन तथा सांस्कृतिक महत्त्व भएका संरचना निर्माणको मापदण्ड र स्तर कायम गराउन नसकिने जस्ता समस्या विभागका मुख्य समस्या हुन्। काष्ठकलाका कालिगढको कमिले पनि काममा ढिलाइ भएको विभागको भनाइ छ।

वातावरण व्यवस्थापन विभागका १०८ वटा कार्यक्रममध्ये २७ वटा, विपद् व्यवस्थापन विभागका २५ मध्ये ९ वटा, शिक्षाका ४७ मध्ये १५ वटा, सामाजिक विकासका ६३ मध्ये ७ वटा, स्वास्थ्य विभागका ६७ वटामध्ये १५ वटा कार्यक्रम कार्यान्वयनमा गएका छन्। विभागले स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई मुख्य कार्यक्रम मानेको छ। यो कार्यक्रम कार्यान्वयनमा गइनसकेकोले करिब २५ करोड रुपैयाँका कार्यक्रम स्थिर छन्।

सूचना प्रविधि विभागका ५९ वटामध्ये १६ वटा, संघ सरकारका १९३ मध्ये १० वटा, प्रदेश सरकारका १० वटामध्ये २ वटा कार्यक्रम कार्यान्वयनमा गएका महानगरले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.