सन्दीप लामिछानेलाई थुनामै राख्न मागदाबी गरिएको निवेदनमाथि आज सुनुवाइ हुँदै
२० माघ, काठमाडौं । नाबालिकामाथि बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर भएको पुनरावलोकन निवेदनमाथि आज (शुक्रबार) सुनुवाइ हुँदै छ।
सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दायर गरेको थियो। उक्त निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको हो।
नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लामिछानेमाथि छ। काठमाडौं जिल्ला अदालतले उक्त मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने आदेश गरेको थियो।
आफूलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। उच्च अदालतले पुस २८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका थिए। रिहा भएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्ब समेत फुकुवा गरिसकेको छ। सन्दीप राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समेत सहभागी भइसकेका छन्।
सन्दीपले आफूलाई काठमाडौंको काठमाडौं इन होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा गत भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्। सन्दीपले भदौ ५ गते आफूमाथि जबरजस्ती करणी गरेको ति किशोरीले जाहेरीमा दाबी गरेकी थिइन्।
सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं नै ल्याएको खुलेको थियो।
उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो।
त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।