मायाखोला हाइड्रोको आईपीओ बिक्री खुल्यो, १ लाख ९९ हजारले पाउने
१३ माघ, काठमाडाैं। मायाखोला हाइड्रोपावर कम्पनीले आज (माघ १३ देखि) देखि १९ करोड ९२ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ९२ हजार कित्ता सेयर जारी गरेको हो । आईपीओमा सर्वसाधारणले माघ १७ गते मंगलबारसम्म आवेदन गर्न सक्नेछन् । कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले यसअघि नै स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ जारी गरिसकेको छ । कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर सार्वजनिक निष्कासनका (आईपीओ) निष्काशनका लागि छुट्याएको थियो ।
सोमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले यस अघि निष्काशन गरिसकेको हो ।
त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ भने ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । सर्वसाधारणले १९ लाख ९२ हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।