Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोभिड सिर्जित समस्याका कारण चीनमा एक महिनामा ६० हजार मानिसले ज्यान गुमाए

0 37

०१ माघ, एजेन्सी । चीनका स्वास्थ्य अधिकारीहरूले एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार मानिसले ज्यान गुमाएको जानकारी दिएका छन्।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कूल सङ्ख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन्।

Subscribe to our newsletter

जिआओका अनुसार योमध्ये पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको हो।

गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको सङ्ख्यालाई कम आँकलन गरेको आरोप लाग्दै आएको छ। स्वास्थ्य अधिकारीहरुले बुधबार यकिन सङ्ख्याका बारेमा जानकारी लिन आवश्यक नभएको बताएका छन्।

बेइजिङले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने आफ्नो पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो। तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै सङ्कीर्ण’ भएको बताएको थियो।

कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने, ‘संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको छ।’

शनिबार चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको औसत आयु ८०.३ वर्ष रहेको र ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए। तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन्।

चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.