Advertisement

माघ महिनाको महत्व !

0 108

Advertisement

२९ पुस, काठमाडौ । श्री शाके १९४४ विक्रम संवत २०७९ साल ,माघ १ गते आइतबार, अयन नाम गरेको मकर संक्रान्ति ,माघकृष्ण अष्टमी तिथी ,नलनाम संवत्सर,उत्तरायण,शिशिर ऋतु ,चित्रानक्षत्र, सुकर्मयोग ,बालवकरण ,पुस ३० गते राती २ / ३३ बजे श्री सूर्यनारायण धन राशिबाट मकर राशिमा प्रवेश गर्नुहुनेछ।यो महिनामा देवता माधव , देवी रुक्मिणी ,सूर्यको अरुण नाम गरेको रहनु हुनेछ।यो दिन मकर राशिमा सूर्य ,कन्या राशिमा चन्द्रमा र मीन राशिमा देवागुरु {वृहस्पति}रहनु हुनेछ। तिथि ,वार ,नक्षत्र ,योग ,करण ,यो सुन्नाले गंगास्नान गरेको फल प्राप्त गर्दछ।
मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो।यो माघ महिनाको पहिलो दिन पर्दछ।यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ।
ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो।सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ| यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो ।सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ ।माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ ।यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ ।उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ।

मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ।मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राहृमण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाइन्छ।महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्दछन।शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥
(मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ।)महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए|त्यसैले माघे संक्रान्ति का दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ|माघमासमा इन्द्रिय निग्रह गरेर सूर्याेदय अघि विधिपूर्वक स्नान गरी उनले शुद्ध आसनमा बसेर प्राणवायुलाई खिचेर कुण्डलिनी शक्तिलाई जगाएर नाकको अग्र भागमा सबै मन मष्तिष्कलाई केन्द्रिकृत गराएर पिताम्बरधारी चार हात, शंखचक्र गदाधारी, कौस्तुममणिले युक्त मकराकृति कुण्डलधारी, वनमालाले शोभित श्रीविष्णुको श्री विग्रह मूर्तिलाई स्मरण गरेर निराहार तपस्या गरे।एक महिनाको कठोर तपस्याले श्रीविष्णु खुशी भै दर्शन दिएर शंख जलले स्पर्श गरिदिंदा पुरुरवाको शरीर सम्पूर्णमा कान्तिले पूर्ण भयो र यसको प्रभाव स्वर्गसम्म पुग्दा उर्वशीले आएर वरमाला ग्रहण गरिन्।भृगुले यो कुरा विद्याधरलाई भनेपछि माघको विधिपूर्वक स्नान गरेर विद्याधरले पनि दिव्य देह प्राप्त गरे।चन्द्रावती जस्तै कुष्ठरोगमा पुगेकी देवीले शालीनदीमा स्नान गरी आफ्ना हराएका पति प्राप्त गरेको पावन प्रसंग जोडिएको श्रीस्वस्थानीको कथा माहात्म्य प्रारम्भ हुनेे यस माघ महिनाको स्नान पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना रहन्छ।सत्य युग तपस्याको युग हो।त्रेता युग ज्ञानको युग हो।द्वापर युग पूजाको युग हो।हामी अहिले कलियुगमा छौं।कलियुगमा दानको विशेष महत्व रहन्छ तर दान गरेरै सद्गति प्राप्त गर्ने सम्भावना पनि हाम्रो देखिन्न, दानको सट्टा स्नान गर्नाले पनि दानकै वराबरीको पुण्य प्राप्त हुने कुरा पुराणमा उल्लेख छ।

दान केवल कुश पानी समातेर मात्र हुने होइन।विकसित मुलुकहरुले विकासोन्मुख मुलुका लागि अरबौं डलर खन्याएका छन्, अप्रत्यक्ष तवरले यो पनि दान नै हो।दानको संकुचित धारणाले यसप्रति नकारात्मक धारणा विकास भएको पाइन्छ।सही अर्थमा दान गर्न नसक्नेहरुका लागि पनि माघ स्नान विशेष महत्व छ, पावन तीर्थ क्षेत्र धेरै छन् हाम्रो मुलुकमा।माघ स्नाको महत्व दर्शाउने क्रममा यस महिनामा स्नान गर्न योग्य तीर्थहरुको बारेमा प्रकाश पार्नु सान्दर्भिक हुन्छ।मूलतः दैनिक स्नान गरिरहेको क्षेत्र भन्दा फरक हुनुपर्ने यसको तात्पर्य हो।घरबाट केही बाहिर जुनसुकै नदी, कुवा, तलाउ, धारामा स्नान गर्दा पनि उत्तिकै फल प्राप्त हुने कुरा निर्विवाद छ।तर पनि केही विशेष क्षेत्रबारे परिचित हुन उपयुक्त हुन्छ।खासगरी माघ स्नान गर्नुपर्ने तीर्थ हो प्रयाग जहाँ गंगा, यमुना र सरस्वतीको संगम भएको छ। सम्पूर्ण तीर्थको राजा भन्न्छि प्रयाग तीर्थ क्षेत्रलाई। धर्म, अर्थ, काम र मोक्ष चार तत्व नै प्राप्त हुने हुँदा यो क्षेत्र विशेष स्मरणीय छ।यसका अतिरिक्त नैमिषारण्य क्षेत्र, कुरुक्षेत्र, हरिद्वार क्षेत्र, उज्जैन, सरयु, यमुना, द्वारका, अमरावती, सम्पूर्ण समुद्रको संगम गंगासागर, काशी , सप्तगोदावरी, कालाञ्जर, जगन्नाथपुरी, बदरीकाश्रम, महालय, ओकार क्षेत्र, पुरुषोत्तम क्षेत्र, नेपाल क्षेत्रको गोकर्ण, पशुपति क्षेत्रको गौरीघाट, साँखुको शालीनदी, पुस्कर क्षेत्र, कावेरी, कृष्णा वेणी, नर्मदा आदि सबै तीर्थ क्षेत्र माघ स्नानका मुख्य क्षेत्रहरु हुन् र पटनाको गया क्षेत्र खासगरी पितृ मोक्ष गर्ने क्षेत्र हुन् र नेपाल क्षेत्रको गोकर्ण उत्तरबाहिनी, त्रिवेणीधाम, कागवेनी, वाराह क्षेत्र, देवघाट क्षेत्र विशेष तीर्थ क्षेत्र हुन्।यी त भए शरीर क्षीण नहुन्जेल अर्थात् देह, इन्द्रियले सकुन्जेल यात्रा गरेर स्नान गर्ने क्षेत्रहरु। तर इन्द्रिय क्षीण भएपछि, खर्च कम हुँदै गएपछि, घर आँगन नै परदेश हुन थालेपछि एक माना चामल र १० रुपैयाँ पैसामा छोरा बुहारीहरुबाट अभिलेख राख्न थालेपछि के गर्ने? इन्द्रिय शिथिल नहुँदासम्म परिवार भरणपोषण, आम्दानी, व्यापार, जागीर, खेती कति हो कति, तन, मन, धन केवल परिवार सुखको लागि।तर अब शरीर ढल्न लाग्यो, मस्तीहरु गल्दै आए शरीर अर्काको जस्तो हुन लाग्यो।मुख धुन गाह्रो पर्न लाग्यो। अब उल्लेखित तीर्थ क्षेत्रको भ्रमण र व्यवहारतः दृष्टि पुग्न सम्भव छ? त्यसैले इन्द्रिय शिथिल नहुँदै सकेजति तीर्थ क्षेत्र पुगेको भए अब ओछ्यानमा बसेर तीर्थ क्षेत्रलाई सम्झदै मानसिक तीर्थ गर्ने हो।सबैभन्दा ठूलो तीर्थ क्षेत्र हो मनको तीर्थ जो यस प्रकार बताइएको छ।

सत्यं तीर्थ क्षमा तीर्थं तीर्थम् इन्द्रिय निग्रहः
सर्वभूत दया तीर्थ तीर्थमार्जवमेवच। दानं तीर्थ दमस्तीर्थ सन्तोषस्तीर्थ एव तु
ज्ञानं तीर्थ धृतिस्तीर्थमहिंसा तीर्थमेवच। आत्मतीर्थ ध्यानतीर्थ पुनस्तीर्थं शिवस्मृति,
तीर्थानाम् उत्तमं तीथं विशुद्धिमनसः पुनः। न जलाप्लनुदेहस्थ स्नानमित्यभिधीयते,
(पद्यपुराण २३७/१२–१७)
अर्थात् क्षमा गर्नु एउटा तीर्थ हो।इन्द्रिय निग्रह गर्नु अर्काे तीर्थ हो। सबै प्राणीमा दयाभाव राख्नु अर्काे तीर्थ हो। यथाशक्य दान, घमण्ड छोड्नु, सन्तोष लिनु ब्रह्मचर्यमा रहनु, नियममा रहनु यी पनि तीर्थहरु हुन्। मन्त्रहरुको जप गर्नु जप तीर्थ हो भने प्यारो र मधुर बोल्नु पनि तीर्थ हो। ज्ञान दिनु, आफूले जानेको कुरा सकेसम्म अरुलाई दिनु, अहिंसामा रहनु, ध्यान गर्नु, शिवको स्मरण गर्नु, मनलाई विशुद्ध र पवित्र राख्नु, सपनामा पनि अरुको कुभलो नचाहनु आदि परम पवित्र भावनाले सधैँ प्रेरित रहनु र सदा सकारात्मक भावले जीवनलाई फूलझैंँ हल्का राख्नु, कहिले भय, क्रोध, रिस, तनावमा नहरनु नै समस्त तीर्थको सेवा हो। यी सबै मानिसका तीर्थ हुन् जसको लागि टाढा जानु पर्र्दैन। घर नै तीर्थ, शरीर नै तीर्थ, शरीरमा बहने नसा, नाडीहरु, रक्त संचालनहरु नै गंगा क्षेत्र हुन् भन्ने स्मरण गरेर आफू नै बह्माण्डलाई घटाएर आत्म ईश्वर सम्झेर परम मंगलमय पावन सच्चा हृदयको स्मरण गरेर घरमै रहनु पनि एक तीर्थ नै हो। लोभ, चुक्ली गर्ने, दम्भी, पापी, विषयलोलुप, दुराचारी, मलीन व्यक्ति पनि तीर्थ क्षेत्रको स्नाले पवित्र हुन सक्छ, तर मनको मयल धुनको लागि केवल स्नानले सम्भव छैन, बाहिरि शरीरको मल नास निश्चय नै हुन्छ तर भित्री मल नास गर्न प्रभूकै स्मरण आवश्यक छ। आँखाबाट झर्ने आँसु मार्फत् भित्रका मलहरुलाई निकाल्नु पर्छ त्यो केवल एक्लै रहेर प्रभु स्मरण गर्नुमा मात्र सम्भव छ। दिनमा १०/१५ मिनेट नै भए पनि ईश्वरप्रति समर्पण भएर करुणा भावले पुकार्दा यो मलरुपी मयल बाहिर आउन सक्छ।स्नान मात्रले शुद्ध हुने भए जलचर प्राणी जन्मदेखि मृत्युपर्यन्त जलमै रहन्छन् तर मुक्ति मिल्दैन उनीहरुलाई कारण उनीहरुले मानसिक मल धोएको हुँदैन जुन मनुष्यले मात्र धुन सक्छ।अन्तकरण शुद्ध र पवित्र व्यक्ति जहाँ बसे पनि उसकै निवास क्षेत्रमा पुष्कर, गया, कुरुक्षेत्र, हरिद्वार वदरीकाश्रम रहेको हुन्छ। ईश्वर बस्तछ गहिराइमा, खोजी हिँँड्छौ कुन पुर? आधुनिक कविहरुले यसरी व्याख्या गरेका छन्, कुरो सही पनि हो।मानस तीर्थलाई परम पावनी तीर्थको रुपमा आराधना गर्न सक्नु मानिसको महानता हो, दुवै हात आफ्नो नियन्त्रणमा, दुवै कान, दुवै आँखा, मुख,सम्पूर्ण इन्द्रिय अबयवहरुलाई आफ्नो मनको नियन्त्रणमा, मनलाई बुद्धिको नियन्त्रणमा, बुद्धिलाई ज्ञानको नियन्त्रणमा र ज्ञानलाई परमेश्वर, परमात्मा, अखिलेश्वर, करुणा, करुणाका साक्षात् ईश्वरको नियन्त्रणमा राख्न सके सदैव सुन्दर भविष्य निर्माणमा कठिन हुन्न।यस प्रकार तीर्थको महिमालाई बुझेर माघ स्नानको ब्रतीले केही उद्यापन, व्रतप्रतिष्ठा पनि गर्नु पर्ने हुन्छ। खासगरी काठ, कपास, कपडा, जुत्ता, वत्ती, अन्न, दान र खास गरी भगवान माधव नारायणको विशेष पूजा गर्नु पर्ने हुन्छ।मनुष्य जन्म सार्थक पार्नको लागि जीवनभरमा नै भए पनि एकपटक माघको व्रत लिनै पर्ने हुन्छ। जसबाट मानिसका सबै कार्य सिद्धि हुन्छ। पुत्र, पौत्र, मित्र, पत्नी, राज्य, स्वर्ग, मोक्ष सबै माघस्नानले नै प्राप्ति हुन्छ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.