Advertisement

नेपाल चलचित्र निर्माता भेलाः नेपाली फिल्ममा लगाइएको स्थानीय कर निर्मातालाई नै फिर्ता दिनुपर्ने माग

0 85

Advertisement

२९ पुस, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले शुक्रवार काठमाडौंमा नेपाली फिल्म निर्माताहरुको वृहत भेला, छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

चलचित्र बिकास बोर्डको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाबाट प्राप्त सुझावको आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र बोर्डमा माग पेस गर्ने आयोजक निर्माता संघको तयारी छ ।

संघका अध्यक्ष नवल खड्काले राष्ट्रिय भेलामा सिनेमा हलसँगका कुरा, निर्माताले पाउनुपर्ने ‘पर्सेन्टेज’ कम भएको, ट्रेलर बजाएको पैसा, सर्भरको चार्ज, बक्स अफिस पारदर्शी नभएको, सर्भर डाउनको वहानामा निर्माताले हिसाब नपाएको जस्ता कुरामाथि छलफल भएको बताएका छन् ।

खड्काले प्रारम्भमा वार्ता र छलफलबाटै समस्याको समाधान खोज्ने र यदि माग पूरा नभएमा आन्दोलनमा उत्रिन सक्ने संकेतसमेत दिएका छन् ।

‘चलचित्र क्षेत्रको विकास र बिस्तारको खोजी’ छलफल कार्यक्रममा आएका सुझाव सल्लाहहरुलाई वर्गीकृत तथा प्राथमिकीकरण गर्दै आगामी कार्य अगाडि बढाउने प्रण गर्दछौं, निर्माता संघका अध्यक्ष नवल खड्काले कार्यक्रम समापन भएपछि सामाजिक सञ्जालमा लेखेका छन् ।

भेलाको उद्घाटन समारोहमा सञ्चार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, संघीय सांसद असिम शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा ३०० बढी फिल्म निर्माताहरु सहभागि भए ।

नेपाली फिल्म क्षेत्रबाट प्रतिनिधिसभाका एक्ला सांसद असिम शाहलाई उक्त भेलाको उद्घाटन समारोहमा दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

विदेशी दबदबा रोक्न नेपाली फिल्म सुधार्न सुझाव

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले नेपाली फिल्म किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताए ।

सचिव अर्यालले दर्शकका चाहना पूरा गर्न नेपाली फिल्म किन असक्षम भइरहेका छन् भन्ने बारेमा गम्भीर छलफल र समीक्षा गर्न फिल्मकर्मीहरुलाई आग्रह गरेका छन् ।

अर्यालले फिल्म प्रदर्शनी गर्दा पनि कसरी फिल्म चलाउन सकिन्छ ? कसरी दर्शकको मन जित्न सकिन्छ ? भन्ने कुराको विचार गर्न आवश्यक रहेको बताए ।

उनले विदेशी फिल्मको दबदबा रोक्नुपर्छ भन्दै गर्दा दर्शकले रुचाउने र चाहने कुराको परिपूर्ति गर्न नेपाली फिल्म किन असक्षम छन् ? भन्ने बारेमा फिल्मकर्मीले पहिलो ध्यान दिनु आवश्यक रहेको बताए ।

अर्यालले नेपाली फिल्मलाई अघि बढाउन बजार विस्तारको आवश्यक रहेकोसमेत उल्लेख गरे ।

‘हामीले फिल्म बजारलाई राम्रोसँग अध्ययन गरेनौँ कि ? दर्शकका चाहना, दर्शकको रुची, त्यसलाई राम्रोसँग हेर्न सकेनौँ, कथावस्तुको चयन राम्रोसँग भएन कि यसमा अलि विस्तृत अध्ययन गरेर हामी कहाँ चुक्यौँ भन्नेबारे छलफल गर्नुपर्छ, अर्यालको भनाइ छ – ‘फिल्म आउँदा कसरी चल्छ, कसरी दर्शकको मन जित्छ भन्नेकुरा हामीले विचार गर्नुपर्छ । विदेशी फिल्मको दबदबा रोक्नुपर्छ भन्नु हुन्छ। तर दर्शकले के चाहनुहुन्छ, त्यो नै हुने अवस्था हो । अब हामीले बजार खोज्ने सन्दर्भमा बजार कहाँ छ, रुची के हो ? भन्ने कुरामा अध्ययन अनुसन्धान गरौँ । बजार विस्तार गरेर अघि बढ्नुपर्छ ।’

सचिव अर्यालले फिल्म क्षेत्रका समस्या पहिचान गरेर मन्त्रालयमा समस्या लिएर आए मन्त्रालयले आवश्यक काम कारबाही अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए ।

नेपाली फिल्मलाई समस्यामा नपार्न निर्माता संघका अध्यक्षको आग्रह

समारोहमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरुबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गरे ।

अध्यक्ष खड्काले विदेशी फिल्म किनेर ल्याएको मूल्य अनुसारको कर नउठाउने बोर्डको नीति न्यायोचित नभएको बताए । अध्यक्ष खड्काले विदेशी फिल्म ल्याउँदा त्यसको कर होलसेलमा लिने नीतिले देशलाई घाटा हुने बताए ।

उनले फिल्म व्यापार मात्रै नभएको भन्दै भाषा, संस्कृति, कला, भेषभुषा, राष्ट्रको बिम्ब भएको बताउँदै कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी फिल्मलाई निर्यात गरेर नेपाली फिल्मलाई अफ्ट्यारो पार्ने स्थिति बन्द गर्नुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष खड्काले नेपाली फिल्महरु सिनेमा हलमा चलेको पहिलो दिन नेपाली फिल्महरुलाई ६० प्रतिशतसम्म हलहरु उपलब्ध गराउनुपर्ने मागसमेत राखे ।

अध्यक्ष खड्काले नेपाली फिल्ममा लिइँदै आएको स्थानीय कर छुट गर्नुपर्ने र स्थानीय कर छुट निर्मातालाई फिर्ता दिनुपर्ने मागसमेत गरे ।

यूट्युबरका कारण निर्माताहरु मर्कामाः भुवन केसी, विकास बोर्ड अध्यक्ष

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युब पत्रकारहरुले फिल्म छायांकनस्थलकै दृष्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई मर्का परेको गुनासो गरे ।

अध्यक्ष केसीले फिल्म सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको छ र त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको जानकारीसमेत दिए ।

अध्यक्ष केसीले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो हुन थालेको बताए । केसीले फिल्म निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान, ड्रोन लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको बताए ।

अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५–६ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे ।

उनले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको गुनासो गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा चलचित्र विकासका लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाएका छन् । केसीले फिल्म क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरु एकजुट हुनुपर्नेसमेत बताए ।

अध्यक्ष केसीको भनाइ छ– ‘म आएको भर्खर ५–६ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के–के भइदिन्छ बीचमा । मुद्दाहरु हाल्नु भएको छ, अदालतमा पनि जानै पर्छ । कोही साथीहरुलाई कुनबेला यो यहाँबाट जान्छ र म आऔँ भन्ने भएको छ । मेरो उमेरमा अरु त रिटायर्ड हुन्छन्, म त भर्खर केही गरौँ भनेर आइरहेको छु । विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हितका लागि केही गरेर नै बस्नेछौँ । निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’ ’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो पनि गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.