केपी ओली ‘म्यान अफ दी इलेक्सन’ बनेको शंकर पोखरेलको दावी
०३ पुष, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली ‘म्यान आफ दी इलेक्सन’ बनेको दावी गरेका छन्।
एमाले निकट जातीय मुक्ति समाजको स्थापना दिवसको अवसरमा बोल्दै महासचिव पोखरेलले उक्त दावी गरेका हुन्।
चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएको र राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको पनि पोखरेलले दावी गरेका छन्।
‘निर्वाचनमा पार्टी अध्यक्षलाई चौतर्फी घेराबन्दी थियो। तर निर्वाचनमा उहाँ एक प्रकारले ‘म्यान आफ दी इलेक्सन’ का रुपमा सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवारको रुपमा निर्वाचित हुन भएको छ।
यसले स्वभाविक रुपमा नेकपा एमाले भविष्यमा राष्ट्रको नेतृत्व गर्न सक्षम छ भन्ने कुरमा हामीले सफलता हासिल गरेका छौँ,’ पोखरेलले भनेका छन्।
ओली झापा क्षेत्र नम्बर ५ बाट करिब २९ हजार मतान्तरले निर्वाचित भएका थिए।