आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निर्णय, अर्थतन्त्रलाई राहत कि दबाब ?

0 57

२१ मंसिर, काठमाडौं । करिब साढे ८ महिनापछि सरकार बिलासी मानिएका वस्तुहरुको आयात प्रतिबन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निर्णय गरेको छ ।

बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल बन्दै गएको अवस्थालाई ध्यानमा राखेर सरकारले विभिन्न वस्तुको आयातमा लगाएको तगारो हटाएको हो ।

यसबारे अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालय विभिन्न चरणमा छलफल गरेका थिए । अब वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेपछि प्रतिवन्ध औपचारिक रुपमा हट्ने छ । ३ सय अमेरिकी डलर भन्दामाथिका मोबाइल, ५० हजार डलर भन्दा महँगा डिजेल तथा पेट्रोल गाडी, विदेशी मदिरा र १५० सीसीभन्दा बढीका मोटरसाइकलको प्रतिबन्ध हट्नेछ ।

एक मन्त्रीका अनुसार समस्यातिर धकेलिएको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको बाटोमा गएको निष्कर्ष निकालेर यस्तो निर्णय गरिएको हो ।
‘मदिराको आयात नखुलाउने कि भन्ने कुरा भएको थियो,’ ती मन्त्रीले भने,‘तर, पर्यटन उद्योगलाई असर पर्न सक्ने भनेपछि त्यसको प्रतिवन्ध पनि हटाउने निष्कर्षमा सरकार पुगेको हो ।’

अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि प्रतिबन्धको साटो ब्याजदरसहितको मौद्रिक उपकरण प्रयोग गर्न सुझाव दिंदै आएका थिए ।

प्रतिबन्धको कदमपछि अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाब सुधारउन्मुख देखिएको छ । शोधानान्तर अवस्था बचतमा गएको छ । विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको छ । रेमिट्यान्स आप्रवाह बढेका कारण पनि सञ्चितिमा परेको दबाब कम भएको छ । यी सबै अवस्थाले अर्ततन्त्रको बाह्य क्षेत्र अब ठूलो दबाबमा नरहेको देखिएको सरकारी निष्कर्ष छ ।

आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ आर्थिक वर्षको अन्त्यसम्म १० प्रकारका बिलासी वस्तु आयातमा पूर्ण प्रतिबन्धको नीति लिएको थियो । मदिरा, सुर्ती, कुरकरे तथा लेजलगायतका खाद्यन्न, हीरा, सबै प्रकारका खेलौना, तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभीको आयात खुलाउँदै गएपनि अहिलेसम्म चार वस्तुको प्रतिबन्ध भने कायमै थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.