Advertisement

पालिका प्रमुख अब सांसद

0 114

Advertisement

१८ मंसिर, काठमाडौँ । स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसक्नुभएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं. २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ बाट, काठमाडौँको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे काठमाडौँ निर्वाचन नं. ३ बाट र इलामको इलाम नगरपालिका प्रमुख महेश बस्नेत इलाम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

प्रदेश सभामा स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दास स्याङ्जा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क), रुकुमपश्चिम जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा रुकुमपश्चिम निर्वाचन क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ (क), ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ललितपुर २ (क) र मोरङको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली मोरङ ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

त्यस्तै कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं. १ (क)बाट, स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल स्याङ्जा १ (ख)बाट र इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राई इलाम १ (क)बाट प्रदेश सभामा निर्वाचित भएको जिल्ला समन्वय समिति महासङ्घ नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जानकारी दिएको छ। स्थानीय तहमा बसेर काम गरेका व्यक्ति जनतासँग नजिकमा रहेर काम गर्ने भएकाले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरेको निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूले दाबी गरेका छन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका पूर्वनगर प्रमुख हाल काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सन्तोष चालिसेले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरी निर्वाचित गराएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तह भनेकै जनताको सुख–दुःखमा साथ दिने सरकार हो। स्थानीय तहमा राम्रो काम गर्ने कुनै पनि जनप्रतिनिधिले कुनै पनि निर्वाचनमा पराजय भोग्नुपर्दैन। त्यसका लागि म उदाहरण हुँ।”

उहाँले पाँच वर्षसम्म आफूले नगरपालिकाको प्रमुख भएर काम गर्दा जनताको पीरमर्का, गुनासो, समस्या राम्रोसँग बुझ्ने अवसर पाएको बताउनुभयो। गत पाँच वर्षमा नगरपालिकामा भौतिक विकास निर्माणको काम नागरिकले अपेक्षा गरेभन्दा धेरै भएकाले पनि आफूलाई विश्वास गरेर जनताले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएको उहाँले दाबी गर्नुभयो। स्थानीय शासनविज्ञ एवं पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीले पाँच वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि भई काम गरेका व्यक्ति प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु सबैका लागि राम्रो सन्देश गएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमा जनप्रतिनिधि भइसकेका व्यक्ति स्थानीय आवश्यकता र महत्त्व बुझेको हुने भएकाले संसद्मा पुगेपछि सोहीअनुसार नीति, नियम बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।” स्थानीय तहमा काम गरेका जनप्रतिनिधि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु सङ्घीयताको मर्मअनुरूप नै भएको उहाँले स्पष्ट गर्नुभयो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.