सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ३५ करोड सापटी दियो, ७५ लाखसम्म घर सापटी, ३५ लाखसम्म शैक्षिक
१५ मंसिर, काठमाडाैं । समाजिक सुरक्षा कोषले कोषमा आबद्ध भएका योगदानकर्ताकालाई ३५ करोड रुपैयाँ कर्जा तथा सापटी वितरण गरेको छ । कोषले गत भदौ देखि योगदानकर्तालाई कर्जा तथा सापटी सुविधा प्रदान गर्न थालेको हो ।
कोषले १८८४ योगदानकर्तालाई सो रकम बराबरको कर्जा वितरण गरेको हो । कोषले सापटी कर्जा निर्देशिका निर्माण गरी योगदानकर्तालाई घर सापटी, शैक्षिक सापटी, सामाजिक सापटी र बिशेष सापटी प्रदान गर्न थालेको छ ।
कोषबाट १८८२ योगदानकर्ताले बिषेश सापटी कर्जा लिएका छन् भने एक/एक जनाले शैक्षिक तथा घर कर्जा लिएको कोषले जनाएको छ ।कोषले योगदानकर्ता घर सापटी अन्र्तगत नयाँ घर निर्माण गर्न, आफनो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न र घर खरिद गर्नका लागि सापटी दिने भएको हो । कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका योगदानकर्ता यस्तो खालको सापटी लिनको लागि योग्य हुनेछन् ।
घर सापटीको स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ बर्षको तलब, योगदानकर्ता साठी उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ सोही बराबरको सापटी योगदानकर्तालाई प्रदान गर्छ । योगदानकर्ताले सापटी स्वीकृत भएको दुईबर्ष भित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा घर सापटीको अवधिकत्तम सीमा कायम गरिनेछ ।
पति र पत्नी दुवैजना योगदानकर्ता भएमा एउटै धितोबाट दुईजनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकत्तम सीमा दुवैजनाको तलवमानको आधारमा अलग अलग कायम गरी सापटी प्रदान गर्न सकिनेछ । यसरी अलग अलग सापटी प्रदान गर्दा धितो मूल्यांकनबाट कायम भएको रकम भन्दा बढी प्रदान नगर्ने सापटी निर्देशिकामा उल्लेख गरिएको छ ।
घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकत्तम चार किस्ता कायम गरिएको छ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिस गरेको प्रगति विवरणको आधारमा कायम गरिनेछ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिनेछ ।
घर सापटी प्रदान नगरिने शर्त पूरा नभएका वा शैक्षिक सापटी लिई सो सापटीको ब्याज नियमित रुपमा चुक्त नगर्ने योगदानकर्तालाई घर सापटी प्रदान गरिदैन । घर मर्मत सापटी लिएका योगदानकर्ताले सो सापटी चुक्ता गरि सकेपछि मात्र निजलाई थप घर सापटी प्रदान गरिनेछ । योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी सहुलियत अवधि सहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा २० बर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ । तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको ६ बर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नुपर्नेछ ।
पुन: घर सापटी प्रदान गर्न सकिने योगदानकर्ताले लिएको घर सापटी चुक्ता गरेमा पुन: घर सापटी दिईनेछ । पुन: सापटी प्रदान गर्दानिर्देशिका बमोजिमको सबै प्रक्रिया पुरा गर्नुपर्नेछ । तर, साबिकमा लिएको घर सापटीको धितो फुकुवा भै सकेको रहेनछ भने सोही धितोको दृष्टिबन्धक रजिष्ट्रेशन कायम गरी सोको मूल्याङ्कनले खामेसम्मको रकम गरी पुन: घर सापटी प्रदान गर्न सकिने कोषले जनाएको छ ।
३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी
कोषमा आबद्ध भएको योगदानकर्ताले ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी समेत पाउँनेछन् । योगदानकर्ता वा निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि कोष यस्तो खालको शैक्षिक सापटी प्रदान गर्न कोषले जनाएको छ ।
शैक्षिक सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च, (सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च गणना गर्दा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, सम्बन्धित शिक्षण संस्थाको होस्टेल खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामाग्री खर्च र ट्राभल तथा बीमा खर्च जोडिने) बराबरको सापटी प्रदान गर्ने गर्छ ।
शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ता वा निजकोे पति वा पत्नी, छोरा, छोरीमध्ये बढीमा दुई जनासम्मलाई धितो मूल्याङ्कनले खाम्ने यस्तो खालको कर्जा दिईने कोषले जनाएको छ । योगदानकर्ताले सापटी स्वीकृत भएको दुईबर्ष भित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा शैक्षिक सापटीको अधिकत्तम सीमा कायम गरिनेछ ।
शैक्षिक सापटी प्रदान गर्न योगदानकर्ताको माग बमोजिम एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिनेछ । योगदानर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुन ः शैक्षिक सापटी प्रदान गर्न सकिनेछ । यसरी पुन: सापटी प्रदान गर्दा निर्देशिका बमोजिमको सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । शैक्षिक सापटीको पहिलो किस्ता लिएको अबढीमा १५ बर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ ।
सामाजिक कार्य सापटी
सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले आफु वा एकाघर सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि कोषबाट साामाजिक कार्य सापटी लिन सक्नेछन् । योगदानकर्ताको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्न सकिने कोषले जनाएको छ।
त्यस्तै कोषले योगदानकर्ताको लागि विशेष सापटी योजनामा पनि सञ्चालनमा ल्याएको छ । योगदानकर्ताले चाहेमा एक बर्ष पूरा भएपछि पुन: विशेष सापटी लिन सक्नेछन् । तर, साविकमा लिएको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पुन ः विशेष सापटी प्रदान गर्न सकिने कोषले जनाएको छ । विशेष सापटी योगदानकर्ताले मासिक तलवबाट कट्टा गरी वा कोषले तोकेको बैङ्क खातामा पटक पटक वा एकै पटक जम्मा गरी चुक्ता गर्न सकिनेछ ।