Advertisement

कृषि बीमामा शतप्रतिशत छुट: लक्षित कृषक बेखबर, कृषकसम्म पुग्न सकेनन् बीमा कम्पनी

0 88

Advertisement

१४ मंसिर, काठमाडाैं । नेपाल सरकारले कृषि पशुपन्छी तथा जडीबुटी बीमामा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । कृषकले कुनै पनि शुल्क भुक्तानी नगरीकनै बीमा गर्न सक्ने व्यवस्था छ । तर, यस बिषयमा लक्षित वर्गका कृषक भने बेखबर छन् । फलस्वरुप टाठा बाठा ठूला कृषकले यसको फाईदा लिइ रहेका छन् ।

नेपालको कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सरकारले कृषि बीमाको परिकल्पना गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा आर्थिक बर्ष २०७०/७१ देखि कृषि बीमाको शुरुवात भएको हो । बीमा कम्पनी तथा कृषकलाई बीमामा आकर्षित गर्न सरकारले अनुदान समेत व्यवस्था गरेको हो ।

सरकारले न्यून बर्गीय कृषकले पनि बीमाको सुविधा लिन सकोस भनीे अनुदानको व्यवस्था गरेको हो, तर, लक्षित बर्गले यसको सुविधा लिन नसकेको नेपाल बीमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजु रमण पौडेलेको बताए ।उनका अनुसार कृषि बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । त्यस्तै, अहिले स्थानिय सरकारले २० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेका छन् । दुवै सरकारले दिएको अनुदान पछि कृषकहरुले शतप्रतिशत छुटमा बीमा गर्न सक्ने उनले बताए ।

साना कृषकमा अझै पुगेन बीमा

कृषि बीमा प्रिमियममा सरकारले शतप्रतिशत छुटको व्यवस्था गरेको भएपनि साना कृषकहरु भने अझै पनि यसको पहुँच नपुगेको नेपाल बीमा प्राधिकरणको भनाई छ । सरकारले सामान्य कृषकलाइ लक्षित गरी कृषि बीमा शुरु गरेको हो । तर, लक्षित वर्गसम्म बीमा पुग्न नसकेको प्राधिकरणको ठम्याईछ ।

सरकारले आव २०७०/०७१ साउन १ गते देखि बीमा प्रिमियममा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको हो । तर, सो आवमा कृषि बीमाले आशातित रुपमा सफलता हासिल गर्न नसकेपछि कृषकहरुलाई थप आकर्षित गर्न आव २०७१/०७२ साउन १ गते देखि बीमा प्रिमियममा ७५ प्रतिशत अनुदानको व्यवस्था गरियो । साथै, यसअघि एक करोड रुपैयाँसम्मको बीमांक रकममा मात्रै अनुदान पाउने व्यवस्था थियो । २०७१ साउन १ गते देखि त्यो व्यवस्थालाई खारेज गरी बीमांक रकमको सीमा नै खुला गरियो । यसैगरी आव २०७२/७३ देखि मूल्य अभिवृद्धि करमा कृषकलाई छुट गरीयो ।

त्यस्तै, प्राधिकरणले २०७५ साल बैशाख १ गते देखि कृषि बीमा गर्ने कृषकहरुको दुई लाख रुपैयाँको बीमांकको दुर्घटना बीमा अनिवार्य ग¥यो । जसअनुसार बीमा पोलिसी अवधि भित्र बिमित (कृषक) को दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमांक रकम भुक्तानीको व्यवस्था गरेको छ । सो वापत कृषकले एक वर्ष वा सो भन्दा बढी अवधीको लागी १०० सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्नेछ भने सो भन्दा कम अवधिको लागि भने ५० रुपैयाँ प्रिमियम तोकिएको छ ।

नेपालमा तीन प्रकारका कृषक छन् । पहिलो प्रकारको कृषक भनेको अति नै व्यवसायिक छन् । जसले ठूला कृषि व्यवसाय संचालन गरेका छन् । दोस्रोमा मध्यम खालका कृषक छन् । जसले आफनो बलबुताले भ्याएसम्मको कृषि व्यवसाय गरी बसेका छन् । र तेस्रो भनेको एक दुई वटा पशुपालन र खेतपाती गरि बसेका छन् ।

जसले बीमा गर्ने पैसा पनि तिर्न सक्दैनन् । यिमध्ये पहिलो अर्थात् ठूला व्यवसाय गरी बसेका कृषकले बीमाको पुरै फाइदा लिएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । “यस्ता कृषक बाठा हुन्छन्, जाने बुझेका छन् । जसले बीमाको धेरै फाईदा लिएका छन्,” उनले भने । तर, तेस्रो प्रकारको कृषक भनेको लक्षित कृषक हो । जसलाई बीमाको सबैभन्दा बढी आवश्यकता छ । तर, यस्तो कृषकसम्म कम्पनीहरु पुग्न नसकेको उनले बताए ।

लक्षित कृषकसम्म बीमाको सुचना पुग्न नसकेको नेको इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल बिमक संघका महासचिव अशोक खड्का स्वीकारछन् । कम्पनीहरु बढी व्यवसायिक हुँदा लक्षित वर्गसम्म पुग्न नसकेको उनको अनुभव छ । यसको लागि बीमा प्राधािकरण, बीमा कम्पनीहरु र अन्य सरोकारवाला निकायहरुले बीमाको बिषयमा जनचेतना बढाउनु आवश्यक रहेको उनले बताए ।

पाँच प्रतिशत कृषि बीमा पोलिसी अनिवार्य जारी गर्नुपर्ने

बीमा कम्पनीहरुले बार्षिक रुपमा जारी गरेको कुल बीमा पोलिसीमध्ये पाँच प्रतिशत अनिवार्य रुपमा कृषि बीमा जारी गरेको हुनुपर्नेछ । बीमा प्राधािकरणले कृषि पशुपन्छी तथा जडीबुटी निर्देशिका परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । अन्य बीमाको तुलनामा कृषि बीमाको सञ्चालन खर्च अधिक छ । तसर्थ कम्पनीहरुले कृषि बीमालाई प्राथमिकतामा राख्दैनन् । त्यसैले पनि प्राधािकरणले समय समयमा यस्ता अनिवार्य प्रावधानहरु राख्दै आएको छ ।

कृषि बीमा भित्र अन्नबाली, दलहन, तेलहन, तरकारी, च्याउ, फलफूल, सुख्खा फल, कन्दमूल, चिनीजन्य बाली, पेय, मसाल, फूल, घाँसेबाली, किरा (वनस्पति वर्गमा राखिने किरा वर्ग), खाद्यन्न, अन्य वनस्पतिको बीमा गरिन्छ । पशुपन्छीमा गाईभैसी, भेडाब्राख्रा, घोडा वर्ग, सुँगुर वर्ग, घरपालुवा जनावर, पन्छी, माछा, किरा, अन्य पशुपन्छीको बीमा गरिन्छ भने जडिबुटी अन्र्तगत रुख वर्ग, झाडी वुट्यान वर्ग र झार वर्ग पर्छन् ।

गत आव २०७८/७९ मा ३६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कृषि तथा पशु बीमा भएको छ । जसबाट कम्पनीहरुले एक अर्ब ५९ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ भने एक लाख ३४ हजार ५८७ वटा पोलिसी जारी भएको छ । जसमध्ये दुई अर्ब ४६ करोड रुपैयाँ बराबरको कृषि बीमा भएको छ । जसबाट बीमा कम्पनीहरुरले १३ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चार हजार १२९ बीमा पोलिसी जारी भएको । त्यस्तै, ३४ अर्ब २१ करोड रुपैयाँ बराबरको पशुबीमा भएको छ । जसबाट कम्पनीहरुले एक अर्ब ४५ करोड रुपैयाँ संकलन गरेका छन् भने एक लाख ३० हजार ४५८ पोलिसी जारी भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.