सेयर बजारमा छायो उत्साह, नेप्से सूचक ३२ अंकले बढ्यो
११ मंसिर, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पछिका दुई कारोबार दिन बजार सूचक घटेकोमा पछिल्लो दुई दिन बढेको हो ।
बिहीबार ११.५६ अंकको वृद्धि आएकोमा आइतबार थप उच्च बढ्दै ३२.४३ अंकको वृद्धि भएको हो । यसअघि गत मंगलबार ७.१३ र बुधबार ७.७२ अंकले नेप्से घटेको थियो । आइतबार नेप्से १.६८ प्रतिशतले बढेर १९६५.९८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले बढेर ३८६.२७ बिन्दुमा पुगेको छ ।
आज कुल २३३ वटा कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रूपैयाँमा समेटिएको छ । बिहीबारको तुलनामा कारोबार रकम १ अर्ब १० करोडले बढेको हो । बिहीबार ९२ करोड ५१ लख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबार भएका कुल १३ उपसमूहगत सूचकमध्ये १२ वटा बढेका छन् । म्युचुअल फन्डको सूचक मात्रै घटेको छ । लघुवित्त सूचक सर्वाधिक ३.०८ प्रतिशतले बढेको छ । फाइनान्स र उत्पादन तथा प्रशोधनमुलक सूचक पनि २ प्रतिशतभन्दा अधिक बढेको छ ।
आकर्षक लाभांश प्रस्तावले हिमालयन डिष्टिलरीको सर्वाधिक ४५ करोड ४ लाख ७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।कम्पनीले अघिल्लो आवबाट ७० प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ । यस्तै नबिल बैंक १२.३० करोड, नेपाल टेलिकम ९.७९ करोड, शिवम् सिमेन्टस् ८.१८ करोड र नेष्डो समृद्ध लघुवित्तको ६.०६ करोड बराबरको कारोबार भयो ।
आजको बजारमा लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । शीर्ष सेयरमूल्य बढ्ने दश कम्पनीभित्र चार लघुवित्त छन् । डिप्रोक्स लघुवित्तको सर्वाधिक ८.२१ प्रतिशतले सेयरमूल्य बढेको बजारमा जीवन विकास लघुवित्त ७.४३, कुमारी बैंक ६.७७, घलेम्दी हाइड्रोपावर ६.५७ प्रतिशत, नेष्डो समद्ध ६.५४, सिइडिबि हाइड्रोपावर ६.४९ प्रतिशत, धौलागिरी लघुवित्त ६.०९, लक्ष्मी इक्वीटी फन्ड ५.९७, पन्चकन्या माई हाइड्रोपावर ५.९५ र श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.९१ प्रतिशतले बढोत्तरी भएको छ ।
उता एनएमबि हाइब्रिड फन्ड एल–१ को ३.११ प्रतिशत, प्रभु सेलेक्ट फन्ड २.२६ प्रतिशत, एनआईसी एशिया ब्यालेस्ड फन्ड २.०२, केबिएल डिबेञ्चर २०८६ को २ प्रतिशत र लक्ष्मी बैंक डिबेञ्चर २०८८ को इकाईमूल्य २ प्रतिशतले घटेको छ ।