भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
११ मंसिर, भक्तपुर । भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गएराति सवा ११ बजे मध्यपुर थिमी नगरपालिका-६ हुकाम ओरालोमा दुवाकोटबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।
प्रदेश ३-०१-०२३ च ४२९३ नम्बरको गाडीले बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि भक्तपुर नगरपालिका-१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवालाई उपचारको लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको डिएसपी पाण्डेले बताए।
मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका-७ गोलमडी बस्ने ३२ वर्षीय सुनिल ग्वाछाको उपचार भइरहेको छ।
प्रहरीले दुबै सवारीसाधन र गाडीका चालक सिन्धुली फिक्कल गाउँपालिकाका २७ वर्षीय लाताराम पहाडीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।