Advertisement

नेपालमा सडक दुर्घटनाको जोखिम बढ्दै

0 165

Advertisement

भउचप्रसाद यादव

२८ कात्तिक, काठमाडौँ ।
नेपालमा प्रतिएक लाख व्यक्तिमध्ये ९.४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक वर्ष करिब तीन हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब छ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् । विश्वमा हरेक २४ सेकेन्डमा एक जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ ।

त्यसैगरी विश्व बैङ्कको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति बेहार्नु परेको छ । नेपाल दक्षिण एसियाली मुलुकमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्ये एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुनेलगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदल यात्री, साइकल यात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई ५० प्रतिशत घटाउनुपर्ने सूचक छ । राजधानीमा आइतबार आयोजित ‘सवारी दुर्घटना र उद्धार’सम्बन्धी गोष्ठीमा यस्तो तथ्याङ्क प्रस्तुत गरियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले भन्नुभयो, “नेपालमा मानवीय मृत्युको कारणमध्ये पहिलो नसर्ने खालको रोग हो । दोस्रोमा सरुवा रोग र तेस्रोमा चोटपटकजन्य समस्या हो ।” यति भइकन पनि दुर्घटना घटाउनमा सरोकारवाला निकायबाट एकीकृत काम हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा नेपाल प्रहरीको तथ्याङ्क उद्धृत गर्दै उहाँले भन्नुभयो, “यो वर्ष सडक दुर्घटनामा परेर दुई हजार ८७२ जनाको ज्यान गयो । सात हजार २८२ जना गम्भीर प्रकारको चोटपटकमा परे भने २५ हजार व्यक्ति सामान्य चोटपटकमा परे । यो सामान्य खालको समस्या होइन ।” विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डा. ग्याम्बो शेर्पाले सडक सुरक्षाको क्षेत्रमा आफूहरू नीति र सचेतनाका कार्यक्रममार्फत समन्वयात्मक भूमिकामा रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक सुरक्षाका लागि काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनुपर्ने र त्यसका लागि यातायात प्राधिकरणको स्थापना हुनुपर्ने बताउनुभयो । उहाँले यातायात प्राधिकरण स्थापनाका लागि संसद्बाट विधेयक पारित भइसकेको जानकारीसमेत दिनुभयो । काठमाडौँको चक्रपथमा दुई सयवटा सार्वजनिक सवारी साधन भए पुग्ने अवस्थामा अहिले दुई हजारभन्दा बढी गुड्ने गरेकोे बताउँदै उहाँले सार्वजनिक सवारीसाधन भरपर्दो र विश्वसनीय बन्न नसक्दा निजी सवारीको सङ्ख्या बढ्दै गएको चर्चा गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ‘तीन–ई’को अवधारणा ‘इन्जिनियरिङ (सडक निर्माण), इन्फोर्समेन्ट (सडक सञ्चालन र यातायात व्यवस्थापन) र एजुकेसन (सचेतनाका कार्यक्रम)बाट सडक सुरक्षा बढाउन सकिने बताउनुभयो । अहिले सडक वर्गीकरण, राष्ट्रिय यातायात नीतिलगायत केही कानुनी व्यवस्थामा काम भइरहेको बताउँदै उहाँले यसबाट आवश्यकता र सम्बन्धित कार्यालयको क्षेत्राधिकार स्पष्ट हुने विश्वास व्यक्त गर्नुभयो । एउटै कामका लागि क्षेत्र र अधिकार बाँडिएकाले अहिले नतिजामूलक काम गर्न कठिन भएको उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरीले चालकको लापारबाही नै दुर्घटनाको पहिलो कारण रहेको बताउनुभयो । त्यसैगरी ओभरटेक, पैदल यात्रीले जथाभावी बाटो काट्नु पनि दुर्घटनाको मुख्य कारण रहेको उहाँको भनाइ छ ।

गोष्ठीमा राष्ट्रिय सडक सुरक्षाको अवस्था र दशक कार्ययोजना, सडक दुर्घटना, खोज उद्धारको चुनौती, विपत् क्षति न्यूनीकरणका लागि सरकारका प्रयास, प्री–हस्पिटल, हस्पिटल र पोस्ट हस्पिटल तथा जनस्वास्थ्यजन्य विपत् पूर्वतयारीलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । गाेरखापत्र



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.