Advertisement

लमजुङमा स्थापित हुन खोजेका देव गुरुङ

0 77

Advertisement

२४ कात्तिक, काठमाडाैं । देव गुरुङको चुनावी सभाबारे अहिले एउटा किस्सा सुनिन्छ, ‘३/४ घन्टा हिंडेर भोट माग्न गाउँ पुग्छन् । तर, बाटो बनाउँछु भन्दैनन्, अहिले संविधानको मर्मलाई मास्न र देशलाई खतरामा पार्न देशी–विदेशी शक्तिहरू लागिरहेका छन् भन्छन् ।’

अहिले उम्मेदवारहरूले बाटो, कुलो, पँधेरो बनाइदिन्छु भनेर मतदातालाई फकाइरहेका छन् तर गुरुङले भने खासै आश्वासन दिएका छैनन् । लमजुङबाट दोस्रो पटक विधायक चुनिने आशामा रहेका गुरुङ शालीन र शिष्ट भाषामा संविधानको रक्षाका निम्ति भन्दै चुनावी मैदानमा छन् ।

देव गुरुङ २०६४ सालको पहिलो संविधानसभाको चुुनावमा मनाङ र कास्की–१ बाट उम्मेदवार थिए । दुवै ठाउँबाट चुनाव जितेपछि एउटा ठाउँ रोज्नुपर्दा मनाङ रोजे ।

नेकपा माओवादी केन्द्र विभाजन हुँदा मोहन वैद्यलाई साथ दिएका उनी २०७० सालको दोस्रो संविधानसभाको चुनावका क्रममा बहिष्कारको पक्षमा थिए । तर २०७३ साल जेठ ६ गते रामबहादुर थापासहितको टोली माओवादीमा फर्किंदा गुरुङ पनि सँगै आएका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल हुँदा गुरुङ लमजुङबाट पहिलो पटक उम्मेदवार बने र जिते पनि । वाम गठबन्धन हुनुअघि नै लमजुङमा स्थानीय तहको निर्वाचनमा कार्यगत एकता गरेर देव गुरुङ र पृथ्वीसुब्बा गुरुङले एकताको सन्देश दिएका थिए । आम निर्वाचनमा माओवादी र एमाले मिलेर बनेको नेकपाबाट प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, धनञ्जय दवाडी र प्रतिनिधिसभामा देव गुरुङ उठेका थिए ।

लमजुङमा तीनवटै सिट वाम गठबन्धनले नै जित्यो । देव गुरुङ ३९ हजार ४६८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत पाएका थिए ।

मनाङको नासों गाउँपालिका–४ मा जन्मिएका गुुरुङ यसपटक अघिल्लो निर्वाचनमा सहयात्री उनै पृथ्वीसुब्बा गुरुङसँग आमनेसामने हुुँदैछन् ।

अघिल्लो पटक सहमतिमै एउटा प्रदेश र अर्को केन्द्रमा लागेका गुुरुङद्वय पहिलोपटक एकै चुुनावी प्रतिस्पर्धामा भिड्न लागेका हुुन् । पृथ्वीसुब्बाले फेरि मुख्यमन्त्री बन्ने बताएकाले ‘दुई भाइ’ भिड्नु नपर्नेमा आशावादी थिए तर दुवै प्रतिनिधिसभामा उम्मेदवार बनेपछि दुवैका लागि जित प्रतिष्ठाको विषय बनेको छ ।

पृथ्वीसुब्बाले देव संघीयमा उठ्ने भएकाले नै प्रदेशमा उठ्न इच्छा राखेका थिए । तर, पार्टीको हाइकमाण्डले उनीहरूलाई प्रतिस्पर्धामा नउठी धरै दिएन । यो प्रतिस्पर्धा देव र पृथ्वीसुब्बाको मात्रै होइन, माओवादी र एमालेकै प्रतिष्ठाको लडाईं बनेको छ ।

देव गुरुङका लागि पृथ्वीसुब्बालाई हराएर संसद छिर्न सजिलो भने छैन । चौथो पटक चुनावी मैदानमा होमिएका गुरुङका निम्ति मुख्यमन्त्री र एमालेको उपमहासचिव भएपछि झनै बढी राजनीतिक उचाइ बनाएका पृथ्वीसुब्बा पहिलो चुनौती बनेका छन् ।

२०४८ सालमै यी दुवै जना लमजुङमा फरक क्षेत्रबाट उम्मेदवार थिए । अहिले ‘टुरिस्ट उम्मेदवार’को रूपमा विपक्षीले आरोप लगाइरहँदा देवले २०४८ सालमै लमजुङमा चुनाव लडेको एजेण्डा स्थापित गर्न खोजिरहेका छन् ।

देवले यो चुनावलाई संविधान मास्ने र जोगाउनेबीचको प्रतिस्पर्धा भएको भन्दै भोट मागिरहेका छन् ।

गुुरुङको संसदीय यात्रा

२०३८ सालमै नेकपा मसालको केन्द्रीय सदस्य बनेका गुरुङ २०४० सालमा अखिल आठौंको केन्द्रीय अध्यक्ष बने । त्यसपछि २०४७ सालमा पार्टी एकतापछि नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य बने । गुरुङ २०४८ सालदेखि संसदीय चुुनावमा भाग लिन थालेका हुुन् । तर, पहिलो प्रयासमा असफल रहे ।

बहुुदलपछि २०४८ सालको पहिलो आम निर्वाचनमा गुुरुङ संयुुक्त जनमोर्चा नेपालबाट लमजुुङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित हुुन पुुगे ।

२०५१ सालमा तत्कालीन नेकपा माओवादी पार्टीको पोलिटब्यूरो सदस्यमा निर्वाचित गुरुङले २०५३ देखि २०५७ सालसम्म जेलजीवन बिताएका थिए । तत्कालीन सशस्त्र माओवादी युद्धकै क्रममा भूमिगत अवस्थामै उनी २०६१ सालमा पार्टीको स्थायी समिति सदस्य थिए । २०६२ सालमा नेकपा माओवादीको तर्फबाट वार्ता टोलीको सदस्य थिए ।

दुई पटक सरकारमा पुग्ने मौका पाएका उनी स्थानीय विकास र कानुन मन्त्री बने ।

गठबन्धनको मत जोगाउने चुनौती

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा ९ वटा पालिका छन् । तिनका ७५ वटा वडा छन् । स्थानीय तहको नतिजा अनुुसार लमजुुङमा नेकपा माओवादीको मतभार नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा निकै कमजोर देखिन्छ ।

दलगत मतभारका आधारमा तेस्रो स्थानमा रहेको माओवादीका वडाअध्यक्ष उम्मेदवारले ६ हजार १२७ मत पाएका थिए ।

नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवारले ४० हजार १९७ र नेपाली कांग्रेसका उम्मेदवारले कुुल ३५ हजार २७६ मत पाएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.