चोभारमा १३२ केभीको विद्युत्‌ सबस्टेशन निर्माणमा भइरहेको अवरोध हट्यो

0 80

२०कात्तिक, काठमाडौं । काठमाडौंको चोभारमा १३२ केभीको सबस्टेशन निर्माणमा भइरहेको अवरोध हटेको छ। कीर्तिपुर नगरपालिका– ६ भूतखेलमा हिमाल सिमेन्टको स्वामित्वमा १२ रोपनी १२ आना जग्गामा नेपाल विद्युत्‌ प्राधिकरणले १३२/११ केभीको विद्युत्‌ सबस्टेशन निर्माण थालेपछि स्थानीयले अवरोध गर्दै आएका थिए।

उक्त स्थान खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए। १७ माघ २०७८ को मन्त्रिपरिषद् बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।

प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माण पूर्वका प्रारम्भिक कार्यहरु गर्दा स्थानीयले अवरोध थालेका थिए। प्रारम्भिक कार्यहरु भइसकेको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्राधिकरणको अडान थियो।

स्थानीय जनप्रतिनिधि, प्राधिकरण र स्थानीय समेतको सर्वपक्षीय बैठकमा सबस्टेशन निर्माणको कार्यलाई अगाडि बढाउने सहमति जुटेको हो। कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उप–प्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ।

प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ। कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था र सामाजिक अगुवाको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने प्राधिकरणले जनाएको छ।

चोभारस्थित शुख्खा बन्दरगाहको प्रवेशद्धारबाट सुरु भएको करिब २ किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकोले स्थानीयको माग बमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गरिदिने सहमति भएको छ।

प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाइने जनाएको छ। विद्युत्‌ आपूर्तिको आवश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ।

बैठकमा नगर प्रमुख नकर्मीले विकास निर्माणका कामहरुमा नगरपालिकाको सँधै सहयोग गर्ने बताए। उनले भने,‘सबस्टेसन निर्माणमा जारी अवरोध हटाउनु ज्यादै अप्ठ्यारो र जटिलता थियो, यसलाई समाधान गर्न सफल भएका छौं, सबस्टेसन निर्माण तत्काल अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकोले जाँडै निर्माण सुरु गर्ने बताए। ‘काठमाडौं उपत्यका विशेषत: कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युत्‌को मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन चोभार सबस्टेसन निकै महत्वपूर्ण छ’, घिसिङले भने, ‘यस्ता सबस्टेसन बनाउन सकिएन भने केही वर्षमा विद्युत्‌ उपलब्ध भएर पनि प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने छ।’

काठमाडौं उपत्यकाको विद्युत्‌ आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन्।

स्थानीयको अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रुपमा चोभारमा सबस्टेसन निर्माण अगाडि बढाएको हो। थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ।

एसियाली विकास बैंकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत् प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गर्न लागिएको हो। सबस्टेसनमा ४५ एमभीए क्षमताका २ वटा पावर ट्रान्सफर्मरहरु रहने प्राधिकरणले जनाएको छ।

काठमाडौं उपत्यकाको सन् २०३० सम्ममा ९२५ मेगावाट, २०४० सम्ममा १८२५ मेगावाट र २०५० सम्ममा ३१६९ मेगावाट उच्चतम माग हुने प्रक्षेपणका आधारमा प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचनाहरु योजनाबद्ध रुपमा अगाडि बढाइएको घिसिङको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.