बाबा भेजिटेबल आयलको आम्दानी साढे ७ अर्ब, व्यापारको ८०% हिस्सा भारतसँग
२०कात्तिक, काठमाडाैं । नेपाली बजारमा खाने तेलको माग स्थीर भइरहँदा, खाद्य तेल उत्पादक कम्पनी–बाबा भेजिटेबल आयल उद्योगको सञ्चालन आम्दानीमा वृद्धि भएको छ ।
खाद्य तेल उत्पादक कम्पनी बाबा भेजिटेबल आयल इन्डस्ट्रिजले १ वर्षमा साढे ७ अर्बको तेल बिक्री गरेको छ। सन् २०२२ मा उद्योगको कुल सञ्चालन आम्दानी (अपरिष्कृत) ७ अर्ब ५९ करोड २० लाख रहेको छ । यस अघि सन् २०२१ मा उद्योगको परिष्कृत सञ्चालन आम्दानी ५ अर्ब ५१ करोड ९० लाख रहेको थियो ।
उद्योगले नेपालभर र भारतमा समेत खाद्य तेलको व्यापार गर्दै आएको छ । उद्योगले भारतबाट कच्चा तेल आयात गर्ने र प्रशोधित तेल भारतमै निर्यात गर्ने गरेको छ । यसरी उद्योगले आफ्नो कुल व्यापार हिस्साको ८० प्रतिशत व्यापार भारतसँग गर्ने गरेको छ । भारतसँग सीमाना क्षेत्रबाट निकटतम रहेको हुँदा उद्योगलाई कच्चा पदार्थको आयात तथा निर्यातमा पनि सहजीहरण भएको छ ।
यसैगरी उद्योगको अर्मोटाइजेशन, डिप्रिशियसन, ब्याज र भाडा अघिको नाफा सञ्चालन आम्दानीको १०.५६ प्रतिशत रहेको छ । सन् २०२२ मा उक्त नाफा सञ्चालन आम्दानीको १२.६० प्रतिशत रहेको थियो । यसै सन्दर्भमा २ अर्ब ६ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि उद्योगलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ए३ रेटिङ गरेको छ ।
सन् १९९३मा स्थापना भएको बाबा भेजिटेबल आयलले प्रशोधित सोयाबिन, पाल्मोलिन र सूर्यमुखी तेलको प्रशोधन र वितरण गर्दै आएको छ । प्रति वर्ष ४५ हजार मेट्रिक टन तेल उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ । नेपाली बजारमा शिद्ध बाबाको ब्रान्ड नामबाट उद्योगले तेलहरुको बिक्री, वितरण गर्दै आइरहेको छ ।
नेपाली बजारमा २५ वर्ष भन्दा लामो समयसम्म उत्पादन गर्दै आएको बाबा भेजिटेबल आयल उद्योगको सफलताका पछाडि अनुभवी प्रमोटर र व्यवस्थापन समूहको हात रहेको छ । देबेनेरा ग्रुप प्रमोटर रहेको यस उद्योृगका अध्यक्ष प्रकाश कुमार मुन्डारा रहेका छन् ।
केमिकल, कृषि तथा खाद्य तेल उत्पादनमा १५ वर्ष भन्दा लामो अनुभव बटुलेका मुन्डाराको नेतृत्व र टे«डिङ तथा उत्पादन क्षेत्रमा लामो अनुभव बटुलेका सुरेश कुमार राठीको मार्गदर्शनमा रहेको छ ।
नेपालीको भान्साको अत्यावश्यक सामाग्रीको रुपमा रहेको तेलको माग स्थीर रहँदा पनि उद्योगको आम्दानीमा वृद्धि भइरहेको छ । स्थीर माग कायम रहँदा उद्योगको आम्दानीमा निरन्तरता मात्रै देखिएको छैन, उद्योगको फाइनान्सीयल प्रोफाइल पनि कम जोखिमयुक्त रहेको छ ।
नेपालको कृषि उत्पादनमा गिरावट आएपछि कच्चा तेल आयात गरी बिक्री वितरण गरिरहेको बाबा आयल उद्योग बाह्य कारणबाट प्रभावित रहेको छ । आयातीत कच्चा तेलको मूल्य वृद्धि हुनु, विदेशी विनिमयमा नेपाली रुपैयाँ कमजोर हुनु जस्ता चुनौतीहरुको सामना उद्योगले गर्दै आएको छ ।
यसैगरी नेपाल सरकारले स्वदेशी उत्पादन प्रवद्र्धन गर्नका लागि आयातमा कडाइ गर्नु, बढ्दो ब्याजदर र तेल उत्पादन उद्योगहरुबीच बढ्दो प्रतिस्पर्धा बाबा आयल उद्योगका चुनौतीहरु रहेका छन् ।