Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मुटु रोगको जोखिम बढ्दै

0 63

१४ असोज, काठमाडौँ । जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताउनुभयो । उहाँले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताउनुभयो । मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा. रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।

उहाँले मुटु रोगबाट बच्नका लागि नियमित शारीरिक अभ्यास गर्ने, बिहानको समयमा हिँड्ने र पसिना निकाल्ने गर्दा मुटु रोगबाट बच्न सकिने बताउनुभयो । डा. रेग्मीले धूमपान, मदिरा सेवन, जङ्क फुडलगायतबाट टाढै रहन आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मुटु रोग रहेको छ । सङ्गठनका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कोलेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटु रोगको समस्या रहेको छ । यस्तै ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखाने, ५० प्रतिशत सहरियाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने उल्लेख छ । बर्सेनि करिब एक हजार बालबालिकाको बाथ मुटु रोगका कारण मृत्यु हुने गरेको छ । मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटु रोगी बढ्दै जानुको प्रमुख कारण अस्वस्थकर जीवनशैली रहेको बताउनुभयो ।

Subscribe to our newsletter

खानेकुरामा अत्यधिक चिल्लो, गुलियो र नुनको मात्रा बढ्नु तथा हरियो सागपात, फलफूल कम खानुले मुटु रोगीको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । तीमध्ये विकासोन्मुख राष्ट्रमा मुटु रोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रमा हृदयाघातका कारण मृत्यु हुनेको सङ्ख्या २५ प्रतिशत रहेको छ । सन् २०३० सम्ममा यो सङ्ख्या बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले विपन्न, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा ठूलो लगानी गरेको बताउँदै रोग लाग्न नदिनतर्फ ध्यान जानुपर्ने सुझाव दिनुभयो । गोरखापत्र



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.