शक्तिशाली आँधीका कारण फ्लोरिडामा ठूलो क्षति
१४ असाेज, अमेरिका । अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधीले ठूलो क्षति पुर्याएकाे छ ।
इयान नामक आँधीका कारण एकजनाको मृत्यु भएको पुष्टि भएको छ । अरू थुप्रै मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
श्रेणी चारमा पुगेको आँधीका कारण फ्लोरिडामा ठूलो बाढी आएको छ । जनजीवन अस्तव्यस्त बनेको छ । २६ लाख भन्दा बढी घर तथा व्यवसायहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘ठूलो प्रकोप’ घोषणा गरेका छन् र संघीय विपद् कोषलाई अनुमोदन गरेका छन् ।
उनले प्रारम्भिक रिपोर्टअनुसार ठूलो मानवीय क्षति भएको हुनसक्ने संकेत मिलेको भन्दै यो आँधी फ्लोरिडाको इतिहासमै सबैभन्दा घातक हुनसक्ने चेतावनी दिएका छन् ।
आँधीका कारण आएकाे बाढीमा फसेका मानिसहरूलाई उद्धारकर्ताहरूले डुङ्गाहरूकाे प्रयाेग गरी उद्धार गरेका छन् ।
बीबीसी, एपीलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले आँधीले पुर्याएकाे क्षतिकाे विवरणसहित तस्बिर एवं भिडियाेहरू राखेका छन् ।