Advertisement

एक जना बचतकर्ताको ४५ लाखसम्म अड्कियो, ७५ लाख रूपैयाँसम्म ऋण उठ्न बाँकी

0 250

Advertisement

२३ भदाै, काठमाडाैं । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सङ्कटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ ।

सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ऋणीलाई आग्रह गरेको हो ।

ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल सम्पत्तिबाट कर्जा असुल उपर गर्नेदेखि सहकारी ऐन-२०७४ बमोजिम सम्बन्धित सबैको नाम, ठेगाना सार्वजनिक गर्ने चेतावनी समेत सूचना मार्फत दिइएको छ । मौखिक बाहेक १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा तथा राष्ट्रिय दैनिकमा ३५ दिने सूचना निकाल्दा समेत कर्जा चुक्ता गर्न बेवास्ता गरेकाले कडाइ गर्नुपरेको सहकारीले जनाएको छ ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४ हजार ५०० बचतकर्ताको लगानी रहेको छ । एकै जना लगानीकर्ताले ४५ लाख रुपैयाँसम्म बचत गरेका छन् । सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष समेत रहेका जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिर आएको हो ।

आफूहरूले थोपा–थोपा गरेर जम्मा गरेको बचत डुबेको भन्दै बचतकर्ता छटपटीमा परेका छन् । आफूले जम्मा गरेको बचत फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् । विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । हाल आक्रोशित बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ जनाउँदै सम्झाइबुझाइ फर्काउने गरेकी छिन् ।

जोशीले सहकारीको नाममा खरिद गरिएको जग्गासमेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आव २०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी संस्थाका सदस्य तुलसीराम आचार्यले बताए ।

बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा केहीबाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाख रूपैयाँसम्म ऋण लगेको देखिन्छ । तर उनीहरुमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने गरेको स्रोतले जनाएको छ ।

सहकारीको जग्गाबाहेक सावाँ–ब्याजसहित करिब १० करोड ऋण लगानी रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँ–ब्याजसहित करिब ७ करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ ।

सहकारीबाट भएका ऋण लगानी उठाउन सके बचतकर्तालाई उनीहरुको बचत फिर्ता दिएर केही रकम बच्ने अवस्था रहेको सदस्य आचार्यले बताए । चल–अचल सम्पत्ति हेर्दा सहकारी डुबेको नभई सङ्कटमा फसेको देखिन्छ । अधिकांश ऋणी जोशीका परिवार तथा आफन्त, दिक्तेल बजारका प्रतिष्ठित व्यापारी र एकजना पोखराका व्यक्तिसमेत देखिएका छन् । उनीहरुले सञ्चालक समितिको निर्णयबिना नै विभिन्न समयमा ऋण लगेको तर हालसम्म फिर्ता नगरेको लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.