स्टारलिङ्क: इलोन मस्कको स्पेसएक्स किन हजारौँ स्याटलाइट प्रक्षेपण गरिरहेको छ
१७ साउन, बीबीसी । इलोन मस्कको स्पेसएक्स कम्पनीले हजारौँ भूउपग्रहहरू पृथ्वीको अन्तरिक्ष कक्षमा प्रक्षेपण गरिरहेको छ।
कतिपय मानिसहरूले यस्ता भूउपग्रहहरू आकाशमा देखिएको समेत बताएका छन्।
यिनीहरू सबै अन्तरिक्षबाट पृथ्वीको दुर्गम भागहरूमा द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने स्टारलिङ्क परियोजनाका अङ्ग हुन्।
स्टारलिङ्क के हो?
स्टारलिङ्कले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ।
यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ।
“यो वर्ग अन्तर्गतका मानिसहरू यूकेमा पनि छन् तर अझै धेरै अफ्रिकाजस्ता विश्वका अन्य भूभागमा छन्,” युनिभर्सिटी अफ पोर्टस्माउथका अन्तरिक्ष परियोजना व्यवस्थापक डा. लुसिन्दा किङ्ग भन्छन्।
स्टारलिङ्कका भूउपग्रहहरू एक अर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन्।
विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने भूउपग्रहहरूको आवश्यकता पर्छ।
स्टारलिङ्कले सन् २०१८ यता करिब ३,००० भूउपग्रहहरू अन्तरिक्षमा राखेको ठानिएको छ। क्रिस हलले यो परियोजनाअन्तर्गत भविष्यमा १०,००० देखि १२,००० भूउपग्रहहरू राखिन सक्ने बताएका छन्।
बताएका छन्।
“भूउपग्रहको प्रयोगले दुर्लभ स्थानहरू, मरुभूमि र हिमालहरूमा इन्टरनेट सञ्जालको समस्या समाधान गर्छ,” उनी भन्छन्।
“यसले ती क्षेत्रहरूमा पुग्नका लागि तार बिछ्याउनुपर्ने र खम्बाहरू गाड्नुपर्ने जस्ता पूर्वाधार बनाउनुपर्ने कुराहरू छल्न मद्दत गर्छ।”
स्टारलिङ्कलाई कति पर्छ र कसले प्रयोग गर्छ?
स्तरीय इन्टरनेट प्रदायकको तुलनामा स्टारलिङ्क सस्तो छैन।
यसको खर्च प्रतिमहिना ९९ डलर अर्थात् करिब १२,५०० नेपाली रुपैयाँ पर्छ।
स्याटलाइटसँग सम्पर्कका लागि चाहिने यसको उपकरणका लागि ५४९ डलर अर्थात् करिब ७० हजार नेपाली रुपैयाँ पर्छ।
विश्वका धेरै विकसित देशहरूमा ९० प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगिसकेको छ।
“अधिकांश विकसित विश्व राम्रोसँग जोडिइसकेको छ,” लन्डन विश्वविद्यालयको इन्स्टिच्युट अफ स्पेस पोलिसी एण्ड लका प्राध्यापक शइन मोस्टेशर भन्छन्।
“उनीहरू आम्दानीका लागि बजारको सानो हिस्सामा आश्रित छन्।”
उक्त कम्पनीले विभिन्न ३६ देशमा ४०,००० उपभोक्ता रहेको र अधिकांश उपभोक्ता उत्तर अमेरिका, युरोप र अस्ट्रेलियामा रहेको जनाएको छ।
आगामी वर्ष स्टारलिङ्कले इन्टरनेटको पहुँच फितलो भएका अफ्रिका, दक्षिण अमेरिका र एशियामा आफ्नो पहुँच थप बढाउने योजना अघि सारेको छ।
“अफ्रिकामा धेरै घरायसी प्रयोगकर्ताहरूलाई स्टारलिङ्कको मूल्य महँगो हुन सक्छ,” क्रिस हल भन्छन्।
“तर यसले त्यहाँको दुर्गम क्षेत्रमा रहेका विद्यालय र अस्पतालहरूलाई जोड्न मद्दत गर्न सक्छ।
स्टारलिङ्कले युक्रेनलाई कसरी सहयोग गरिरहेको छ?
के इन्टरनेट बन्द गर्न सकिन्छ?
रुसी फौजहरू युक्रेनतर्फ अघि बढेसँगै उनीहरूले युक्रेनको इन्टरनेट सेवा बन्द गरे र सामाजिक सञ्जालहरू पनि अवरुद्ध गर्ने प्रयास गरे।
मस्कले रुसी हमला सुरु भएलगत्तै युक्रेनमा स्टारलिङ्क उपलब्ध गराए। यो देशमा १५,००० स्टारलिङ्क उपकरण पठाइए।
“स्टारलिङ्कले सरकार र सार्वजनिक सेवाजस्ता सबै कुरा चालु राख्यो,” क्रिस हल भन्छन्।
“रुसी सैनिकहरूले यसलाई निष्क्रिय पार्ने कुनै बाटो भेट्टाउन सकेनन्।”
यसको प्रयोग रणभूमिमा पनि आयो।
“युक्रेनी सैनिकहरूले मुख्यालय र मैदानमा खटिएका टुकडीहरूबीच सञ्चारका लागि पनि यसको प्रयोग गरिरहेका छन्,” लण्डनस्थित किङ्स कलेजमा रक्षा अध्ययनकी अनुसन्धाता मरिना मिरोन भन्छिन्।
“साधारण रेडिओ सङ्केतहरू जस्तो यसका सङ्केतहरू अवरुद्ध हुँदैनन्। यसको उपकरण जडानका लागि पनि जम्मा १५ मिनेट मात्रै लाग्छ।”
स्टारलिङ्कले अन्तरिक्षमा भद्रगोल निम्त्याएको हो?
स्टारलिङ्कका अलावा भूउपग्रहको माध्यमबाट इन्टरनेट सेवा उपलब्ध गराउने उसका प्रतिस्पर्धीहरू वनवेब र भियास्याटले पनि पृथ्वीको तल्लो कक्षमा हजारौँ भू-उपग्रहहरू राखिरहेका छन्।
प्राध्यापक मोस्टेशर यसले समस्या निम्त्याउने बताउँछन्।
“यसले अन्तरिक्षलाई ठक्करको जोखिमबाट निकै कम सुरक्षित बनाउँछ,” उनी भन्छन्।
“भूउपग्रहहरू अरू यानहरूमा गएर ठोक्किन्छन् र भग्नावशेषका टुक्राहरू तीव्र गतिमा उड्दा अझै धेरै क्षति पुर्याउन सक्छन्।”
हालै स्टारलिङ्कका भूउपग्रहहरू ठक्करको नजिक पुगेका घटनाहरू देखिइसकेका छन्।
जसमध्ये एउटा चिनियाँ अन्तरिक्ष स्टेशनमा झन्डै ठोक्किएको थियो।
“त्यहाँ धेरै टुक्राहरू भए भने त्यसले पृथ्वीको तल्लो कक्षलाई भविष्यमा प्रयोग गर्नै नमिल्ने बनाउँछ,” पोर्टस्माउथ विश्वविद्यालयका अन्तरिक्ष परियोजना व्यवस्थापक डा. किङ्ग भन्छन्।
“र हामी तल्लो कक्षबाट दूरसञ्चार र नेभिगेसनल भूउपग्रह रहेका माथिल्लो कक्षसम्म जान पनि नसक्ने अवस्थामा पुग्न सक्छौँ।”
स्टारलिङ्कका भूउपग्रहहरूले अन्तरिक्ष यात्रीहरूका लागि पनि समस्या सिर्जना गरिरहेका छन्।
सूर्योदय र सूर्यास्तमा तिनीहरू नाङ्गो आँखाले देख्न सकिने हुन्छन् किनभने तिनीहरूको पङ्खामा घामको प्रकाश टल्किन्छ।
यिनीहरूले टेलिस्कोपबाट लिइने तस्बिरहरूमा पनि धर्साहरू बनाउँछन् एवम् तारा र ग्रहहरू हेर्न समेत छेक्छन्।
“अन्तरिक्ष यात्रीहरूले समस्या अगाडि नै देख्छन्,” प्राध्यापक मोस्टेशर भन्छन्।
“उनीहरू यस्तो गुनासो गर्ने पहिलो थिए।”
अन्तरिक्षमा खानीः के क्षुद्रग्रहबाट बहुमूल्य धातु ल्याउन सम्भव छ?