Advertisement

नवलपुरमा बढ्यो चैते धानको उत्पादन

0 180

Advertisement

१६ साउन, नवलपुर । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैते धानको उत्पादनमा वृद्धि भएको छ। जिल्लामा चैते धानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए। उनका अनुसार यस वर्ष जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा ३ हजार ५६२ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष भने जिल्लामा ७०० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा ३ हजार ३६० मेट्रिक टन उत्पादन भएको उनले बताए।

चैते धान उत्पादनमा कृषकलाई आकर्षित गर्नका लागि केन्द्रले धान ब्लक कार्यक्रम लागू गरेको छ। कार्यक्रममा कृषक आकर्षित हुँदा चैते धानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको उनले बताए। ‘चैते धानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ,’ सूचना अधिकारी पौडेलले भने, ‘तर, हामीले गरेको लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन।’

जिल्लामा विशेष गरी चैते धानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको छ। अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम लागू भएको छ। धान ब्लक कार्यक्रमबाट कृषकलाई अनुदान प्रदान गरेपछि चैते धानतर्फ उनीहरु आकर्षित भएका जनाइएको छ।

‘धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ,’ सूचना अधिकारी पौडेलले भने, ‘जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन्।’ जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उनले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने बताए।

यसैबीच, नवलपुरमा बर्खेधानको रोपाइँ लगभग सकिएको ज्ञान केन्द्रले जनाएको छ। ‘यसवर्ष ढिला पानी पर्दा जिल्लामा बर्खेधानको रोपाइँ ढिला भएको छ,’ सूचना अधिकारी पौडेलले भने, ‘यही साउन १५ सम्म जिल्लामा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९५ प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ सकिएको छ।’

शनिबार रातिदेखि पानी परिरहेका कारण बाँकी रहेको स्थानमा समेत अहिले रोपाइँ भइरहेको उनको भनाइ छ।

जिल्लाको करिब १९ हजार हेक्टर क्षेत्रफलमा बर्खेधानको रोपाइँ हुने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जानकारी दिए। ‘जिल्लाको कूल खेतीयोग्य भूमिको करिब ५६ प्रतिशत भागमा सिँचाइ सुविधा पुगेकालेसमेत समयमै वर्षे धान रोपेर सकिन्छ,’ उनले भने, ‘यहाँ ४९ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको भए पनि १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा मात्रै बर्खेधान रोपाइँ हुने गरेको छ।’

बर्खेधान रोपाइँका लागि जिल्लामा भूमिगत सिँचाइ तथा नहर र कुलोमार्फत सिँचाइ पुर्‍याइएको जनाउँदै उनले पानी परेपछि मात्रै पनि पानीको सुविधा हुने ठाउँमा समेत धान खेती हुने गरेको बताए। 

नवलपुरका कृषकले रामधान, हर्दिनाथ, सावित्री, सुक्खा ३, सावा मन्सुलीजस्ता बर्खेधानका बीउ रोप्ने गरेका जनाइएको छ। जिल्लाको दक्षिणी भाग (तराई) गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट, विनयी त्रिवेणी तथा पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारलगायतका क्षेत्रमा बर्खेधानको उत्पादन राम्रो हुने गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.