दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण, एघार करोड राजस्व सङ्कलन
११ साउन, काठमाडाैँ । आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए ।
एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक) ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए
गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।
एघार करोड राजस्व सङ्कलन
चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।
निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले १५०, सार्क मुलुकका पर्यटकले एक हजार र विदेशीले दुई हजार राजस्व बुझाउने गर्दछन् । गत वर्ष निकुञ्जले पर्यटकबाट सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट १५ लाख ७३ हजार राजस्व सङ्कलन गरेको तिवारीले बताए ।
त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर ९ढुङ्गा, गिट्टी तथा बालुवा० बिक्रीबाट रु ६९ लाख ४९ हजार, दण्ड सजायबाट रु ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट रु सात लाख १७ हजार तथा अन्य शीर्षकबाट रु १७ लाख २० हजार राजस्व सङ्कलन गरेको थियो ।