Advertisement

जीवन धरापमा नपरेको भए टेलिभिजन छोडेर किन अमेरिका भाग्थेँ ?

0 387

Advertisement

०७ साउन, काठमाडौं । नेपालकी पहिलो र चर्चित समाचार वाचक हुन् रमा सिंह । करिब २५ वर्ष नेपाल टेलिभिजनमा उनले समाचार वाचन गरेकी थिइन् । समाचार वाचनका कारण सर्वसधारणदेखि देश विदेशसम्म लोकप्रिय उनी टेलिभिजनमा थुप्रै विधामा क्रियाशील थिइन् । टेलिभिजनकै समाचार रिपोर्टिङको सिलसिलामा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भ्रमणमा सरिक भएका कारण करोडको चन्दा डिमान्डदेखि ज्यान लिने धम्कीसमेत उनले खेप्नु पर्यो । सोही कारण टेलिभिजन नै छोडेर उनी अमेरिका पलायन भएकी थिइन् ।

महिला फुटबलको राम्रो खेलाडीसमेत रहेकी उनी नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्वकप्तान पनि हुन् । करिब ११ वर्षको अमेरिका बसाइपछि सिंह अहिले नेपाल आएकी छन् । उनै सिंहका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

म भेजिटेरियन
म भेजिटेरियन हुँ । माछामासुबाहेक सबै खानेकुरा मनपर्छ । मस्यौरा, गुन्द्रुक, भटमास, आलु, हरियो लसुन र धनियाँ हालेर बनाएको खानेकुरो धेरै मनपर्छ ।
रेस्टुरेन्ट रहरले जाँदिनँ । साथीभाइका कारणले कहिलेकाहीँ जानैपर्छ । रेस्टुरेन्टमा मीठो लाग्ने केही छैन । आफ्नै घरको खानेकुरा मीठो लाग्छ । पकाउन रुचि छ, सबैथोक पकाउँछु ।

नियमित योगा
फिट्नेसको मामलामा सजग छु । विगत २१ वर्षदेखि बिहान नियमित योगा गर्छु । योगाका धेरै आसनहरू गर्छु । समय मिल्यो भने दैनिक एक घण्टा रनिङ गर्छु । अहिले नेपाल आएपछि नियमित योगा गर्न पाएकी छैन ।

केको ब्रान्ड ?
पोसाकमा मनपर्ने सारीचोल नै हो, सुहाउँछ पनि । क्याजुअल पहिरनमा टिसर्ट, पाइन्ट, सर्ट, कुर्थासुरुवाल लगाउँछु । सारीचोलो विवाह, सभा–समारोह र विशेष कार्यक्रममा प्रयोग गर्छु ।
पहिरनमा मनपर्ने रङ स्काई ब्लु, त्यसपछि हरियो । पहिरन धेरै रेडिमेड किन्छु । कहिलेकाहीँ सिलाउँछु । ब्रान्ड बनाउनुपर्छ भन्ने सोच भएकाले पहिरनमा ब्रान्ड हेर्दिनँ । आफूलाई मनपर्ने र सुहाउने लिन्छु ।

प्रेरणादायी पुस्तक
जीवनी र प्रेरणादायी पुस्तक पढ्छु । यीबाहेक विद्यार्थी जीवनदेखि नै रुचि थिएन । विश्व प्रसिद्ध व्यक्तिहरू, नेपालका ठूला व्यक्तिका बायोग्राफी भने खोजीखोजी पढ्छु ।
ट्राभलको समयमा प्रायः पढ्ने भएकाले किताब बोकेरै हिँड्छु । पछिल्लो समय पढेको पुस्तक बेनिजिर भुट्टोको ‘डटर अफ द इस्ट’ हो ।

औधी रुचि
देशको सबै ठाउँ मनपर्छ । ठाउँपिच्छे विशेषता पनि फरक फरक छन् । प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ घुम्न रुचि लाग्छ । मैले त देशका सबै जिल्ला घुमेकी छु ।
विदेशका पनि थुप्रै देश टेकिसकेँ । अस्ट्रेलिया भने अलिलेसम्म गएकी छैन । त्यहाँ एक पटक जान मन छ ।

पूर्वकप्तान
म खेलाडी पनि हुँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो कप्तान मै थिएँ । सानोमा भाइहरूसँग फुटबल खेल्थेँ । खेल्दै जाँदा राष्ट्रिय खेलाडी भएँ ।

मैले खेल्दा महिला राष्ट्रिय फुटबल खेल भर्खर भर्खर सुरुवात भएको थियो । मैले २, ३ वटा अन्तर्राष्ट्रिय खेल पनि खेलेँ । जित्न भने सकेनौँ । अहिले वल्र्डकप, एसियन कप, युरो कपलगायत विश्वप्रसिद्ध फुटबल गेम नियमित हेर्छु ।

यो साथी हो
अहिले मोबाइल नबोके संसार चल्ला र ? साथी, किताब, फिल्म हल सबैथोक हो अचेल मोबाइल । मसँग अहिले आइफोन र सामसुङ ग्यालेक्सी गरेर दुईवटा मोबाइल छन् ।

मोबाइल लेटेस्ट बोक्नैपर्छ भन्ने बानी छैन । मोबाइल हराएको र गिफ्ट पाएकी छैन । मोबाइलमा फोनको गर्नुको अलवा युट्युब, फेसबुकलगायत केही सामाजिक सञ्जाल चलाउँछु ।

हेर्थें फिल्म
अमेरिकामा नेपाली च्यानल आउँदैन थियो । नेटबाट हेर्दा क्वालिटी नराम्रो हुन्थ्यो । त्यसैले नेपाली टभिी हेरिएन । त्यहाँ कहिलेकाहीँ टीभीमा नेसनल जोग्राफी हेर्थें ।
नेपाली फिल्म नहेरेको धेरै भयो । पछिल्लो समय ‘झोला’ हेरेको थिएँ । यो फिल्म अमेरिकामै हेरेको हो ।

अमेरिकामा बलिउड फिल्म भने रिलिज भएकै दिन लाग्छ । छोरीलाई हिन्दी फिल्म मनपर्ने भएकाले दिपिका पादुकोण, रणवीर सिंह लगायतका फिल्म उनीसँग गएर हेर्थंे । अन्यभन्दा ऐतिहासिक विषयवस्तुमा निर्माण भएका फिल्म मनपर्छ ।

नेपालकै पहिलो म
नेपालकै पहिलो समाचार वाचक हुँ म । नेपाल टेलिभिजनमा २५ वर्ष समाचार पढेर छोडेकी हँु । टीभी अगाडि २०३९ मा रेडियो नेपालमा कार्यक्रम निर्माणको रूपमा जागिर थियो । समाचारसमेत पढ्थे । तत्कालीन टेलिभिजनका जीएम नीर शाहले रेडियोमा मेरो बोली सुनेपछि टेलिभिजन बोलाउनुभयो ।

नेपाल टेलिभिजनमा समाचार पढ्ने, क्यामरा चलाउने, भिडियो सम्पादन गर्ने, रिर्पोटिङ गर्ने लगायत धेरै विधामा म क्रियाशील थिए । सुरुमा टेलिभिजन मेरो पद कुनै थिएन । जब दरबन्दी सुरु भयो त्यो समय पहिले अनाउन्सर भएँ, त्यसपछि समाचार रिर्पोटिङ हुँदै निर्देशक भएर छोडेकी हुँ ।

पञ्चायतकालमा समाचारमा सेन्सरसिप थियो । अहिले समाचारमा इन्डिभिजुअल सेन्सरसिप छ ।

नेपाल टेलिभिजनको समाचारको कारणले मलाई धेरैले चिन्छन् । समाचारको सिलसिलामा म तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग जिल्ला भ्रमणसमेत गरेँ । त्यही कारणले धम्कीहरू आउँथे । त्यो समय कथित जनयुद्ध जारी थियो । राजासहित हामी बसेको सुर्खेतको होटलमा बम समेत भेटियो ।

म रिपोटिङको सिलसिलामा जिल्लामा हुँदा यहाँ मेरो घरमा फोन गरेर ज्यान मार्ने धम्की दिन्थे । पुँजीवादीको किन सेवा गरेको ? हामी भूमिगत सङ्गठनका हौँ भनेर धम्क्याउँथे । एक करोड डिमान्ड गर्थे । त्यस्ता धम्की झापा, नवलपरासी, बुटवललगायत धेरै ठाउँबाट आउँथे ।

त्यो समय मसँग ३ वर्षकी छोरी थिइन् । एक पटक घम्कीको फोन उनले उठाइछिन् । छोरीलाई भनेछन्, ‘तेरो मामुले एक करोड दिइन् भने त्यसलाई पनि मार्दिन्छु । तिमीलाई पनि किडन्याप गरेर हात बाँधेर जेलमा राखिदिन्छु ।’ त्यो समयपछि छोरीको साइकोलोजी बिग्रियो । घरमा काम गर्ने मानिसको मदतले यो थाहा पाएँ ।

त्यसपछि स्कुलमा पटक पटक छोरीको अपहरण प्रयास पनि भयो । एक दिन मेरै अगाडि झन्डै लगिएको थियो । म कराएपछि अपहरण कारी भागेका थिए ।

त्यो कुरा अमेरिकामा रहेकी दिदीले थाहा पाएपछि नेपाल छोड्न अनुरोध गरिन् । त्यसपछि म अमेरिका उडँे । ज्यान धराप नपरेको भए टेलिभिजन छोडेर म किन अमेरिका जान्थँे र ? आफ्नो र छोरी प्राण, छोरीको भविष्य दुवै सोचेर नेपाल टेलिभिजनबाट बिदामा अमेरिका उडँे । राजीनामा उतैबाट पठाएकी थिएँ । त्यतिबेला पत्रकारितामा अहिलेजस्तो दाम थिएन । अनुशासन, नाम, इज्जत र निष्ठाका लागि पत्रकारिता गरिन्थ्यो ।

डिभोर्स भइसक्यो
विवाह २०५६ मा गरेकी थिएँ । अहिले एक्ली छु । जोसँग विवाह गरेको थिएँ उससँग अहिले मैले डिभोर्स गरिसकेँ । छोरी पाँच वर्षको हुँदा डिभोर्स भयो । डिभोर्स भएको पनि धेरै भयो । त्यसैले अहिले यो विषयमा बढी बोल्दिनँ ।

व्यक्तिगत सपना केही छैन । भएकी एउटी छोरी अमेरिकामा स्थापित भइहाली । अहिलेको राजनीतिक परिस्थितिले कुनै दिन देश हराउँछ कि जस्तो डर लाग्छ । त्यसैले नेपाली नै भएर मर्न पाएहुन्थ्यो भन्ने सपना छ ।
एउटा टेलिभिजन खोल्ने इच्छा थियो । त्यही उद्देश्यले नेपाल आएकी थिएँ । धेरै पत्रकार मित्रहरूले अहिलेको परिस्थिति म अमेरिका जाँदाको जस्तो छैन, केही समय यहाँको अवस्था बुझेर खोल्न सुझाए । त्यही भएकाले अहिले बुझ्दैछु, इच्छा मरेको छैन ।

म कलाकार
मैले एउटा ‘वासुदेव’ भन्ने फिल्म खेलेकी छु । नीर शाहका कारणले त्यो फिल्ममा छोटो भूमिका गरेकी थिए । त्यो फिल्मको हिरोइन भने होइन, ग्रुपमा मेरो अभिनय थियो ।

गीतसङ्गीत सुन्छु
गीतसङ्गीत नसुन्ने मानिस कसरी बाच्छ होला र ? सेन्टिमेन्टल गीतहरू धेरै मनपर्छ । म आफैँ पनि गीत लेख्छु । एउटा एल्बमसमेत बनाएको थिए । अमेरिका उडेकाले बाहिर ल्याउन सकिनँ ।
एउटा गीत रेडियो नेपालमा पनि गाएको थिएँ । अव केही गीत आफ्नै स्वरमा ल्याउने विचार छ । यही सपनाभन्दा पनि हुन्छ । हिन्दी, नेपाली, अङ्ग्रेजीबाहेक अन्य भाषाका गीत नबुझे पनि सङ्गीत सुन्छु ।

दुःख फिल
आफूले भने जस्तो, चाहे जस्तो भएन भने दुःख फिल हुन्छ । त्यसैले पुग्ने कुरोको चाहना राख्नुपर्छ । धेरै महत्त्वकाङ्क्षी भइयो भने जीवन दुःखी हुन्छ । मानिसले आफ्नो धरातल हेरेर चाहना राख्दा जिन्दगीमा कहिल्यै दुःख पर्दैन भन्ने मेरो बुझाइ हो ।

जीवन के ?
जीवन एउटा प्राकृतिको सुन्दर देन हो । मानिस त्यसको एउटा अङ्ग हो । ऊ, जन्मछ, फुल्छ र झर्छ । जीवन यही हो ।

छैन भूल
मबाट जीवनमा भूल भएजस्तो लागेकै छैन । त्यसैले पछुतो पनि कहिल्यै गरेकी छैन । अहिलेसम्म पनि जिन्दगीमा केही भूल भयो कि भन्ने पनि लाग्दैन ।

अमेरिकामा व्यवसाय
अमेरिकामा मैले दुई वर्ष जति अमेरिकन नेपाली टेलिभिजन भनेर कम्युनिटी टेलिभिजन चलाएँ । त्यसपछि ग्रोसरी स्टोर खोलेर व्यवसाय गरेँ । त्यो कोभिडको समय बेचिदिएँ । त्यसपछि होटल म्यानेजमेन्ट पढेर अहिले नेपाल आएँ ।

यो खराब बानी
जसलाई पनि चाँडो विश्वास गर्छु । त्यसका कारण धेरै पटक धोका खाएकी छु । अर्काे खराब बानी प्रस्ट र साँचो बोल्नु हो । अहिले त साँचो पनि बोल्नुहँुदैन रहेछ । यसले कैयौँ पटक समस्या पारेको छ ।

रोग छैन
भगवानको कृपाले अहिलेसम्म रोग केही छैन । सामान्य रुघाखोकी ज्वारो त यहाँको धुलो, धुवाँ र वातावरणको कमालले दिन्छ । ११ वर्ष अमेरिका बस्दा त टाउको समेत दुखेन ।

मापसे गर्दिनँ
मापसे कहिल्यै गर्दिनँ । छोरी जन्मिएपछि शरीर बाँध्छ भनेर धेरै आफन्तले भनेपछि वाइन खाएको थिएँ । त्यो समय झन्डै एक महिना नियमित एक प्याक वाइन खाएँ । त्यस अगाडि र पाछाडि पनि कहिल्यै मापसे गरेकी छैन ।

राशि ‘कर्कट’
मेरो राशि ‘कर्कट’ हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउने जुराउने धेरै गर्छु । तर यसको भरमै पर्दिनँ । पूजापाठमा विश्वास गर्छु । विश्वास भए पनि कर्म नगरी बस्नेमा म पर्दिनँ ।

मृत्यु सत्य हो
मृत्यु जीवनको अन्तिम सत्य हो । एक दिन अवश्य आउँछ । समय आए पनि मृत्यु हुन्छ । मृत्यु पैसा वा अन्य केहीले रोक्न, टार्न सकिँदैन । त्यसैले जिउँदो छँदा हामीले मृत्युपछि बाँच्ने काम गर्नुपर्छ ।

राताेपाटीबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.