Advertisement

सुकुम्बासी बस्तीका दुःख, वर्षासँगै बाढीको त्रास

0 190

Advertisement

१६ असार, काठमाडाैँ । बर्खाका बेला जब आकाशमा कालो बादल मडारिन थाल्छ, तब राजधानीको थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीमा पनि तनाव सुरु हुन थाल्छ । बागमती किनारमा वर्षौदेखि सुकुम्बासी जीवन बिताउँदै आएका उनीहरु वर्षासँगै बाढीको त्रासमा बाँच्न विवश बनेका हुन् ।

बागमतीमा आउने बाढी पटक पटक बस्तीमा पस्दै आएकाले फेरि कतै यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता उनीहरुमा छ । त्यसैले त पानी दर्किन थालेपछि उनीहरु रातभर निदाउन सक्दैनन् । ​ सुकुम्बासीहरु भन्छन्, ‘बाढी आएका निदाउनै सक्दैनौँ । डरैडरमा हाम्रो रातदिन बित्ने गरेको छ ।’

थापाथलीस्थित बागमती किनाराको टहरोमा १७ वर्षदेखि बस्दै आएकी जानुका पोखरेल बर्खाका बेला आफूहरुले निकै सास्ती भोग्नुपरेको बताउँछिन् । सुकुम्बासी भएर बस्नु कसैको चाहना नहुने भन्दै उनले बाध्यताले कष्टकर जीवन भोग्न विवश बनेको बताइन् । ‘गरिबको बोली कसले पो सुन्ने रहेछ र ! २०६२ सालदेखि यहाँ बस्दै आएका छौँ, यहाँको पीडा र अभाव भनिसाध्य छैन’, उनले सुनाइन्, ‘बर्खायाममा बाढीले निकै समस्या पार्ने गरेको छ । दुईतिरबाट बाढी आउँछ । भगवान भरोसामा बाँच्दै आएका छौँ ।’

उनका अनुसार थापाथलीमा १३६ घर परिवार सुकुम्बासी बस्दै आएका छन् । यस्तै बागमती किनारमा सुकुम्बासीको रुपमा बस्दै आएका लक्ष्मी यादवले पनि बेलाबेला उर्लिएर आउने बाढी बस्तीमा पस्दा खाद्यान्नदेखि लत्ताकपडासम्म भिजेर बिजोग हुने गरेको दुखेसो पोखे । धन्न अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए । उनका अनुसार यो वर्ष बस्तीमा बाढी पसेको छैन । तर, अघिल्लो वर्ष धेरै पटक बस्तीमा बाढी पसेको उनको भनाइ छ ।

यसपाली पनि औसतभन्दा बढी वर्षा हुने सुनेका उनीलाई भारी वर्षा भएर बाढी पसिहाल्ने हो कि भन्ने पिरलोले सताएको छ । त्यही त्रासका कारण भारी वर्षा भयो भने बाढी आउने त्रासमा रातभर निदाउन नसक्ने अवस्था रहेको यादव बताउँछन् । वर्षाका बेला विशेषगरी बालबच्चा र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।

उनीहरुलाई जोगाउन अर्को चुनौति हुने भन्दै सरकारले भने यस्तो पीडा बेहोर्नु पर्दा पनि आफूहरुलाई नहेरेको यादवले गुनासो गरे । राज्य छ भन्ने आभास आफूहरुले पाउन नसकेको उल्लेख गर्दै उनले आधारभूत सेवा सुविधाबाट समेत बञ्चित हुनुपरेको बताए । सुकुम्बासी बस्तीमा बस्दै आएका अधिकांशले ज्याला मजदुरी गरेर आफ्नै दैनिकी गुजार्दै आएका छन् ।

वर्षाको मात्रै होइन, सुकुम्बासी बस्तीका बासिन्दामा स्वास्थ्य, शिक्षा, रोजगारीको समस्या त छ नै, बेलाबेला राज्यले गर्ने धरपकडले पनि अत्याइरहन्छ । पटक पटक राज्यले बस्तीबाट आफूहरुलाई हटाउन प्रयास गर्दै आएको भन्दै जानुकाले आक्रोश पोखिन् ।

२०६९ सालमा सरकारले सुकुम्बासी बस्ती हटाउने भनेर सबै घरहरु भत्काएको उनले स्मरण गरिन् । तर, त्यतिबेला राज्यको कदमविरुद्ध आन्दोलन गर्दा हटाउन भने नसकेको उनको भनाइ छ । सुकुम्बासीहरु राज्यले आवासको राम्रो व्यवस्था गरिदिए बागमती किनारमा बस्नु आफूहरुको रहर नभएको बताउँछन् । देशका विभिन्न स्थानबाट उनीहरु बागमती किनारमा २०६२ सालदेखि बस्दै आएका हुन् ।

अविरल वर्षापछि बागमतीमा आउने बाढीले थापाथलीसहित बागमती किनारामा रहेका अन्य बस्तीहरुमा बेलाबेलामा बढी पस्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.