कपिलवस्तुमा त्रिभुवन आदर्श माविले कक्षा ८ को परीक्षा नतिजा अझै सार्वजनिक गरेन

0 120

१० असार, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षाको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन ।

शैक्षिक सत्र शुरु भएको डेढ महिना बित्न लाग्दा पनि नतिजा सार्वजनिक गर्न ढिलाई गरेपछि विद्यार्थीहरुले गत हप्ता नतिजा सार्वजनिक गर्न माग गर्दै विद्यालयको गेटमा ताला लगाएका थिए ।

बालविकासदेखि कक्षा १२ सम्म रहेको उक्त विद्यालयमा कक्षा ८ मा मात्र ७६ जना विद्यार्थी छन् । परीक्षणको क्रममा अधिकांश विद्यार्थीको नतिजा ३५ प्रतिशतभन्दा कम ल्याएको देखिएपछि केही ढिलाइ भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने ‘अन्य सबै विद्यालयको नतिजा सार्वजनिक भईसक्यो तर यो विद्यालयमा भने समस्या देखियो । अधिकांश विद्यार्थीको प्राप्ताङ्क गरेको नतिजा हेर्दा नौ कक्षा चल्ने अवस्था नै छैन ।’ सबै विद्यार्थी फेल हुने अवस्था देखिएपछि कसरी जाने भन्ने अलमलले ढिलो भएको उनको भनाइ छ ।

सरकारले गत शैक्षिक सत्रदेखि अक्षराङ्कन (ग्रेडिङ) विधिले सिकाइको गुणस्तर खस्किएको भन्दै विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था लागू गरेको हो । उक्त व्यवस्था अनुसार विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीले नन ग्रेड प्रमाणपत्र पाउनेछन् । कक्षा १० र माध्यमिक तहको अन्तिम परीक्षामा नन ग्रेड प्राप्त विद्यार्थीले माथिल्लो तह वा कक्षामा अध्ययनको अवसर नपाउने व्यवस्था गरिएको छ ।

नगरपालिकाभित्र पूरा दरबन्दी भएको विद्यालय मध्ये त्रिभुवन आदर्श मावि एक हुँदाहुँदै पनि विद्यार्थीको नतिजाले भने विद्यालयको शैक्षिक गुणस्तरमा समस्या देखाएको छ । पाठ्यक्रमले आधारभूत तहको अन्तिम परीक्षा स्थानीय तहले सञ्चालन, परीक्षण गर्ने जिम्मेवारी तोकेको छ ।

सोही अनुसार नगरपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन, परीक्षण गरेको थियो । तर, नतिजा सार्वजनिक गर्ने क्रममा भने अधिकांश विद्यार्थीको नतिजा ३५ प्रतिशत भन्दा कम देखिएपछि नतिजा सार्वजनिक गर्न ढिलाई भएको शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले बताए ।

उनले भने ‘परीक्षा समितिसँग छलफलपछि कक्षा नौ को शैक्षिक गुणस्तर कायम राख्न मिल्नेगरी विद्यार्थीलाई ग्रेस मार्क थपेर नतिजा सार्वजनिक गर्ने तयारीमा छौं । आज अथवा भोलि सार्वजनिक हुन्छ ।’ पालिकाले चैत २८ गतेदेखि बैशाख ७ सम्म परीक्षा सञ्चालन गरेको थियो ।

आजै नतिजा सार्वजनिक गर्छौं : प्रधानाध्यापक

यता, विद्यालयका प्रधानाध्यापक घनश्याम कुर्मीले विद्यार्थीको नतिजा अपडेट गर्न कम्प्युटर बिग्रेको र आफू विरामी भई अस्पताल भर्ना हुनुपर्दा नतिजा सार्वजनिक गर्न ढिला भएको बताए ।

उनले भने ‘सुरुमा त कम्युटर बिग्रयो । बनाउन पनि समय लाग्यो । त्यसपछि फेरि म विरामी भएर काठमाडौं जानपर्‍यो । म आएपछि परीक्षा समितिको बैठक बस्दा समय लाग्यो । आज निकाल्ने तयारीमा छौं, कम्प्युटरमा अपडेट गर्दैर्छौं ।’ धेरै विद्यार्थीको नतिजा ३५ प्रतिशतभन्दा कम आएको विषयमा बुझ्न खोज्दा उनले भने ‘हो धेरै विद्यार्थी फेल हुने अवस्था रहेछन् । कोभिडको कारण पढ्न पाएका थिएनन् । त्यसैले हो ।’

सरकारले अक्षराङ्कन (ग्रेडिङ) विधिले सिकाइको गुणस्तर खस्किएको भन्दै विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

गत शैक्षिक सत्रदेखि लागू हुनेगरी विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ तोकेको छ ।

सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक प्राप्त गर्न नसकेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि परीक्षा दिनुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई तीन पटकसम्म ग्रेडवृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.