Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

निर्वाचनको परिणामलाई लिएर ओलीको मन त रोएकै छ : दाहाल

0 83

१८ जेठ, काठमाडाैं । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले जेठ १२ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पनि दाहालले माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा असन्तुष्टि जनाएका हुन् । ओलीलाई लक्षित गर्दै दाहालले भने, ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ ।’

एमालेका नेताहरू आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्नेबारे सहज अवस्थामा नरहेको दाहालको दाबी थियो । ‘चैनमा त छैनन् नि एमाले अहिले । एमाले अहिले चैनमा छ त ?,’ उनको प्रश्न थियो । ओलीले स्थानीय तह निर्वाचन प्रचारका क्रममा ‘माओवादी वैशाख ३० गतेपछि गुगलमा मात्रै भेटिने’ भनेर दिएको अभिव्यक्ति उल्लेख गर्दै स्थानीय तह निर्वाचनमा विजयी नेता र कार्यकर्तालाई भने, ‘अहिले त गुगलमा होइन, पूरा शक्तिका साथ उनीहरूका अगाडि खडा छ माओवादी ।’

Subscribe to our newsletter

कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रेहको जनाउँदै दाहालले माओवादीलाई हल्का रूपमा नलिन आग्रह गरे । ‘यो गठबन्धन लिएरै जाने हो । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको निम्ति भनेर गठबन्धन गरेको हो । कांग्रेसमा अहंकार नआओस् । उसले ‘टेकन फर ग्रान्टेड’ भन्छन् नि, माओवादीलाई हल्का रूपमा लिने कामचाहिँ नगरोस् भन्ने मेरो अनुरोध छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनपछि ओलीले आत्मसमीक्षा गर्ने ठानेको तर त्यसो नभएको दाहालको भनाइ थियो । ‘अस्ति तपाईंले सुन्नुभयो यतिका धेरै भइसकेपछि त एमालेको मूल नेतृत्वमा चेतना आयो होला, अलिअलि आत्मसमीक्षा गर्ने चेतना भयो होला भन्ठानेको त ३ घण्टा अरुलाई गाली गरेको छ,’ उनले भने, ‘हामी कसैको वैशाखी टेक्दैनौं माओवादी जस्तो भन्ने ? मैले पनि भन्नै पर्‍यो तिमी कसको वैशाखी टेकेर २ चोटी प्रधानमन्त्री भएका थियौ ? आफ्नो अनुहार ऐनामा हेर्न परेन ?’

२०७४ को निर्वाचनमा राष्ट्रिय हित र कम्युनिस्ट आन्दोलनका लागि पार्टी नै एकता गर्दा त्यसको दुरुपयोग भएको दाहालको भनाइ थियो । ‘हामीले बृहत्तर राष्ट्रिय हित, कम्युनिस्ट आन्दोलनको हितको निम्ति भनेर केही कुरा गर्छौं अवसरवादीहरूले त्यसलाई दुरुपयोग गरिदिन्छन् । हामीले राष्ट्रको आवश्यकता संविधान लोकतन्त्रको आवश्यकता भनेर गठबन्धन बनाउँछौं तर बुर्जुवाहरूले यसलाई गलत ढंगले लिन्छन्,’ उनले भने, ‘हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्यका साथ गरेको हो । तर, यति धेरै अहंकार आयो त्यसको नेतृत्वमा । सबै हामी नै हो भनेजस्तो गरे । हामी त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो ।’



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.