Advertisement

नासा अन्तरिक्षयानः ‘मङ्गलकम्प’ निगरानी राख्ने वैज्ञानिक अभियानको आयु केही सातामा सकिँदै

0 172

Advertisement

मङ्गल ग्रहमा भुइँचालोको अध्ययन कसरी?

१० जेठ, बीबीसी । मङ्गल ग्रहमा नासाले पठाएको ‘इन्साइट प्रोब’ मा ऊर्जा अभाव भएको छ। त्यसकारण अरू प्रणाली बन्द भए पनि उक्त अन्तरिक्षयानमा जडित साइज्मोमिटरले मङ्गल ग्रहको सतहमा हुने कम्पनको निगरानी जारी राखिरहने छ।

नासाको इन्साइट अन्तरिक्षयानमा जडित साइज्मोमिटर केही सातामै बन्द हुने अनुमान गरिएको छ

उक्त अन्तरिक्षयानले भर्खरै मात्र मङ्गल ग्रहमा म्याग्निट्यूड ५ को कम्पन पत्ता लगाएको थियो। मङ्गलमा तीन वर्षदेखि सञ्चालित उक्त वैज्ञानिक अभियानमा नासाले पत्ता लगाएको त्यो नै सबैभन्दा ठूलो घटना हो।

‘इन्साइट’ मा जडित सोलर प्यानलहरूले अहिले निकै कम ऊर्जा सञ्चय गर्न सकेका छन्।

सौर्य ऊर्जा सङ्कलन गर्ने साधनहरू धुलोले ढाकिएका छन् भने मङ्गल ग्रहमा जाडो याम सुरु हुन लागेको छ।

प्रकाशको मात्रा कम हुँदा नासाको यो अभियानको अन्त्य हुने छ।

उक्त प्रोबका रोबोटिक हातजस्ता उपकरणहरू यथास्थितिमा अड्किने र काम गर्न नसक्ने अवस्थामा पुगेका छन्।

के भन्छन् वैज्ञानिक?

यद्यपि सबैभन्दा महत्त्वपूर्ण मानिएको साइज्मोमिटर केही समयका लागि सीमित काम गर्न सक्ने अवस्थामा राख्न सकिने छ – ग्रहको एक दिनको केही भागका लागि मात्र अनि त्यसपछि सम्भवतः दिन बिराएर।

अभियानमा संलग्न वैज्ञानिकहरूले सकेसम्म लामो समय यो क्रम जारी गर्ने प्रयास गर्ने छन्। तर त्यसो गर्न सहज नभएको उनीहरूलाई थाहा छ।

“हाम्रो साइज्मोमिटर [जुलाई महिनामा] बन्द हुने अनुमान छ। हामीले बन्द गर्न चाहेको हैन तर दुर्भाग्यवश त्यसलाई चलाउन हामीसँग ऊर्जा छैन,” नासाको क्यालिफोर्नियास्थित जेट प्रपल्शन लबोरटरी (जेपीएल)मा कार्यरत इन्साइट परियोजनाकी सहायक व्यवस्थापक कात्या जामोरा गार्सियाले भनिन्।

“यो वर्षको अन्तिमतिर हामी इन्साइटका सबै अभियानहरू समापन हुने अनुमान गर्छौँ,” उनले संवाददाताहरूसँग कुरा गर्दै भनिन्।

मङ्गल ग्रह

साइज्मोमिटरले के गर्‍यो?

नासाको उक्त यान सन् २०१८ मा ‘एलिसीअम प्लेनिशीआ’ नामक समथर ठाउँमा अवतरण गरेको थियो।

त्यसपछि उक्त अभियानले मङ्गल ग्रहको आन्तरिक बनोटबारे हामीलाई धेरै कुरा बुझाइदिएको छ।

फ्रान्स र यूकेमा बनेको जटिल साइज्मोमिटरले पृथ्वीमा डेटा पठाउन थाल्नुभन्दा अघि हामीलाई मङ्गल ग्रहका विभिन्न तहहरू कसरी संरचित छन् भन्ने विषयमा निकै कम ज्ञान थियो।

मङ्गल ग्रहमा गएका १,३०० वटाभन्दा बढी भूकम्पका आधारमा उक्त ग्रहको भौगर्भिक संरचनाको “चित्रण” गरिएको छ। अहिले वैज्ञानिकहरूलाई मङ्गल ग्रहको बाह्य, मध्यस्थ र भित्री भागको मोटाइ र संरचनाबारे यथेष्ट ज्ञान छ।

“इन्साइटले मङ्गल ग्रहको भित्री भागबारे प्रकाश पारेको छ,” जेपीएलसँग आबद्ध मुख्य अनुसन्धानकर्ता ब्रुस ब्यानर्ड्टले भने।

“हामीलाई मङ्गल ग्रहको बाह्य भागबारे थाहा छ। हामीले तस्बिर खिचेका छौँ, हामीले रङ्गावली लिएका छौँ, हामीले विगत ५० वर्षमा मङ्गलको सतहमा मापन गरेका छौँ। तथापि इन्साइट मङ्गलको सतहमुनि के छ भन्ने बुझाउने अनि बाँकी ग्रह कस्तो छ भन्ने हामीलाई देखाउने पहिलो अभियान हो,” उनले भने।

सदाबहार समस्या

कुनै न कुनै बेला इन्साइटमा जडित सौर्य पङ्खामा धुलो जम्ने र त्यसले सूर्यको प्रकाश छेक्छ भन्ने वैज्ञानिकहरूलाई थाहा थियो।

सौर्य ऊर्जाबाट सञ्चालित हुनेगरी मङ्गल ग्रहमा पठाइने सबै अभियानका लागि यो सदाबहार समस्या हो।

मङ्गल ग्रहमा सन् २०१८ को नोभेम्बर २६ मा अवतरण गर्दा इन्साइटका पङ्खाहरू स्पष्ट र चम्किला थिए। तिनले प्रतिदिन झन्डै ५,००० ‘वाट आवर्स’ ऊर्जा उत्पादन गर्थे। अहिले ती पङ्खा धुलो जम्मा भएर राताम्मे भएका छन् र ऊर्जा उत्पादन गर्ने तिनको क्षमता घटेर प्रतिसोल ५०० वाट आवर्सजति भएको छ।

“मानिसहरूलाई बुझाउन हामी विद्युतीय ओभनसँग तुलना गर्छौँ,” जामारो गार्सियाले भनिन्, “पहिला अवतरण गर्दा हामी विद्युतीय ओभन एक घण्टा, ४० मिनेट वा त्यस्तै चलाउन सक्थ्यौँ। हिजोआज हामी त्यो बढीमा १० मिनेटजति मात्र चलाउन सक्छौँ।”

धुलो झार्ने प्रयास

ती पङ्खा सफा गर्ने प्रयास नगरिएको भने हैन।

इन्साइटमा पन्यूजस्तो एउटा साधन छ। पङ्खामा धुलो छर्किँदा त्यो साधनले पहिला जमेको केही धुलो झार्न सक्छ।

यो उपाय छ पटक प्रयोग भइसकेको छ। त्यसो गर्दा अभियानको आयु केही लम्बिएको छ। तर यसले यो अभियानलाई दीर्घायु बनाउन भने सक्दैन।

इन्साइटले थप घटनाहरू पनि अनुगमन गरेर त्यसले पत्ता लगाउने मङ्गलकम्पको कुल सङ्ख्या १,३१३ पुर्‍याउने वैज्ञानिकहरूको अपेक्षा छ। यो अभियान टुङ्गिनुअघि नै अर्को ठूलो मङ्गलकम्प पनि गइहाल्छ कि कसलाई थाहा छ र!

मङ्गल ग्रहमा बिहान हुँदा मे ४ मा म्याग्निट्यूड ५ को कम्पन पत्ता लागेको थियो। पृथ्वीमा त्यो परिमाणको भूकम्प जाँदा मानिसहरूले थाहा पाउँछन् र त्यसले कमजोर भवनहरूमा क्षति पनि पुर्‍याउन सक्छ।

कम्पन

कहाँ जान्छ मङ्गलकम्प

वैज्ञानिकहरू उक्त कम्पनसँग सम्बन्धित डेटा विश्लेषण गरिरहेका छन्। उनीहरूका अनुसार त्यो मङ्गलकम्प “सेर्बेरस फसी” भनिने क्षेत्रनजिकै गएको उनीहरूको भनाइ छ।

इन्साइट भएको ठाउँभन्दा सेर्बेरस फसी झन्डै १,५०० किलोमिटर टाढा पूर्वमा छ। इन्साइटले पत्ता लगाएका अधिकांश ठूला कम्पनहरू त्यहीँ गएका हुन्।

उक्त क्षेत्रमा धेरै चिराहरू परेका छन्। ज्वालामुखी विस्फोट भएपछि ती चिराहरू परेका हुन्। दुईवटा समानान्तर चिरा १,००० किलोमिटर लामा छन्।

धेरै मङ्गलकम्पहरू उक्त ग्रहको बाह्य तहमा हुने तापीय अनियमितताका कारण उत्पन्न हुन्छन्। ग्रह सेलाउँदा र खुम्चिँदा कमजोर स्थानमा चट्टानहरू टुक्रिन्छन्।

त्यसो हुँदा कम्पनका तरङ्गहरू निस्किन्छन्। तिनलाई पत्ता लगाउनेगरी नै इन्साइटको साइज्मोमिटर बनाइएको थियो।

“इन्साइट हाम्रा लागि अद्भुत अभियान बनेको छ। अनि यसले हामीलाई नासासँग भएका अरू अन्तरिक्षयानबाट मङ्गलग्रहबारे प्राप्त हुन नसक्ने खालको झलक देखाएको छ,” नासाको ग्रह विज्ञान विभागका निर्देशक लोरी ग्लेजले भनिन्।

“मङ्गल बुझ्दा र मङ्गलको आन्तरिक संरचनाको अध्ययन गर्दा बुध, शुक्र, पृथ्वी, चन्द्रमा र मङ्गलसहित भित्री सौर्यमण्डलमा चट्टानयुक्त ग्रहहरूको प्रारम्भिक निर्माणबारे विद्यमान प्रमुख प्रश्नहरूको उत्तर आउँछ। साथै त्यसले चट्टानयुक्त [हाम्रो सौर्यमण्डल बाहिरका ग्रहहरू] बुझ्न पनि सघाउँछ।”

यो पनि हेर्नुहोस् भिडियाे :

https://www.bbc.com/ws/av-embeds/cps/nepali/news-61548056/p0b956yr/ne

चिनियाँ रोभर चन्द्रमामा

https://www.bbc.com/ws/av-embeds/cps/nepali/news-61548056/p0b2vrs7/ne

दूर अन्तरिक्षको अन्वेषण गर्न समुद्रभित्र अँध्यारोमा बस्ने जीवको नक्कल

https://www.bbc.com/ws/av-embeds/cps/nepali/news-61548056/p0bz529g/ne

हब्बलले खिच्यो सबैभन्दा टाढा रहेको ताराको तस्बिर



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.