Advertisement

समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता

0 239

Advertisement

०७ जेठ, काठमाडौँ । रमेश लम्साल र अञ्जली थापा, काठमाडौँ ८ जेठ (रासस) : बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ ।

महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ ।

संयोग पनि कस्तो परेको छ भने पूर्ववर्ती पार्टीका आफैँले नेतासमेत मानेका चलनचल्तीको भाषामा ‘हेभिवेट उम्मेदवार’लाई पराजित गरेर नयाँ इतिहास कायम गर्ने सुअवसरसमेत प्राप्त भएको छ मीना लामालाई ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मीना निर्वाचित हुनुभएको हो । सत्तारुढ गठबन्धनको भागबण्डामा हेटौँडा उपमहानगर एकीकृत समाजवादीको हातमा परेको थियो । निर्वाचन अगाडि कम मत भएको जस्ता टिप्पणी गरिएको थियो ।

गठबन्धनका तर्फबाट इमान्दार प्रयास, व्यवस्थित निर्वाचन परिचालनलगायत कारणले लामाले जित निकाल्नुभएको हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सहयोगमा भएको विजयले हेटौँडालाई समृद्ध बनाउने सङ्कल्पलाई पूरा गर्ने विश्वास गरिएको छ ।

उपमहानगरपालिकाको नेतृत्वमा निर्वाचित भएसँगै उहाँले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता दोहो¥याउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले उपप्रमुख हुँदा आफूले गर्न नसकेको र गर्नैपर्ने काम अब क्रमशः पूरा गर्दै जाने विश्वास बताउनुभएको हो ।

नगरप्रमुख लामाले हेटौँडामा महिला र बालबालिकामैत्री वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भए पनि पूर्वाधार बनाउन नसकेको बताउँदै अब आफ्नो कार्यकालमा सो काम पूरा गरेरै छाड्ने दाबी गर्नुभयो ।

महिलामैत्री नगर बनाउनका लागि उपयुक्त सार्र्वजनिक शौचालय बनाउने र उक्त शौचालयहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने र बजार क्षेत्रको विभिन्न स्थानमा स्तनपान कक्ष निर्माण गर्ने उहाँको योजना छ ।

त्यसका साथै हेटौँडामा महिला नगर परिषद् गठन गर्ने, दलित, बिपन्न, जनजाति तथा पिछडिएका महिलाका लागि सीपमूलक एवं आयआर्जनमुखी कार्यक्रम ल्याउनुका साथै प्राविधिक शिक्षादेखि स्नातक शिक्षासम्म छोरी–बुहारीहरूलाई अनिवार्य अध्ययन गराउनका लागि छात्रबृत्तिको व्यवस्था गरिने जानकारी दिनुभयो ।

सेफहाउसका साथै महिला छात्रावास निर्माण गर्ने योजनासमेत नगरप्रमुख लामाले सुनाउनुभयो । नगरलाई बालमैत्री बनाउँदै घोषणा गर्ने सपना उपप्रमुख हुँदैमा देखेकाले त्यो कार्य पूरा गर्ने उहाँको भनाइ छ । विपन्न छात्राहरूका लागि स्नाकोत्तरसम्म अध्ययन गराउने त्यसका लागि छात्रावाससमेत बनाउने उहाँको योजना छ ।

हेटौँडामा प्रसूति र ज्येष्ठ नागरिक अस्पताल

नगरप्रमुख लामाले हेटौँडामा प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल बनाउने योजनासमेत आफ्नो रहेको रासससँगको कुराकानीमा सुनाउनुभयो । महिलालाई सुरक्षित प्रसूति सेवा दिनका लागि प्रसूति अस्पताल र ज्येष्ठ नागरिकलाई छिटो–छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना पनि आगामी पाँच वर्षमा पूरा हुने उहाँको भनाइ छ ।

उहाँले आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौँडा र त्यहाँका बासिन्दालाई सहज आर्थिकरूपले पनि सम्पन्न बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएर युवालाई रोजगारी प्रदान गरिने बताउनुभयो । त्यसका साथै घोषणापत्रमा उल्लेख गरिएअनुसारको सबै काम गरिने र सुरुआतीरूपमा विपन्न घरधुरीलाई ३०० युनिट बत्ती र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने र यो सुविधा सबै घरधुरीमा पु¥याइने योजनालाई कार्यान्वयन गरेरै छाडिने जानकारी दिनुभयो ।

विद्यार्थीदेखि नगरप्रमुखसम्मको यात्रामा लामा

विसं २०४६ बाट विद्यार्थी राजनीति सुरु गर्नुभएको लामाले हेटौँडाको त्रिभुवन माविबाट एसएलसी अध्ययनका साथै मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए गर्नुभएको छ । हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबीसम्मको अध्ययन गर्नुभएको लामा मकवानपुरभरि नै लोकप्रिय महिला नेतृत्वका रूपमा स्थापित हुनुहुन्छ ।

पढाइसँगै राजनीतिक जीवनलाई निरन्तरता दिँदै आउनुभएका लामा विसं २०५२ मा एमालेनिकट अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष हुँदै २०७१ मा तत्कालीन एमाले मकवानपुरको उपसचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले पार्टीमा विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गर्नुभएकामा लामा २०७१ मा अखिल नेपाल महिला सङ्घको जिल्ला सचिव हुनुभयो ।

विसं २०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुभएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष बन्नुभयो । राजनीतिक क्षेत्रमा क्रियाशील लामा २०७४ को स्थानीय तह चुनावमा हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

लामासँग बालविकासको क्षेत्रमा १० वर्षसम्म काम गरेको अनुभव छ । आफूले निजी क्षेत्रबाट बालबालिकाको क्षेत्रमा लामो समय काम गरेकाले महिला र बालबालिकाको क्षेत्रमा रहेका समस्यालाई प्रमुखरूपमा समाधान गर्नुपर्छ भन्ने सोच पलाएको उल्लेख गर्नुभयो ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा लामाले २३ हजार ७५ मत प्राप्त गर्नुभयो । अघिल्लोपटक जुन गठबन्धनलाई पराजित गरेर उहाँ उपप्रमुख बन्नुभएको थियो । यसपटक सोही गठबन्धनबाटै प्रमुखमा निर्वाचित भएर नयाँ इतिहाससमेत कायम गर्नुभएको छ ।

विसं २०७४ को निर्वाचनमा लामाले तत्कालीनरूपमा कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गरेर उपप्रमुख बन्नुभएको थियो । लामाका प्रतिद्वन्द्वी अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभयो । पौडेल संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।

तत्कालीन एमाले विभाजित हुँदा एकीकृत समाजवादीलाई रोज्नुभएकी लामाले कायम गरेको इतिहासलाई मकवानपुरवासीले समेत खुल्ला हृदयले स्वागत गरेको देखिन्छ ।

यस्तै गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको छ । हेटाँैडा उपमहानगरमा कूल ७३ हजार ४१४ मत खसेको थियो ।

उपमहानगरमा कूल एक लाख चार हजार ५१३ मतदाता छन् । विसं २०७४ को निर्वाचनमा प्रमुख–उपप्रमुखसहित १२ वडामा विजयी भएको एमाले यसपटकको निर्वाचनमा नौ वडामा सीमित भएको छ । यसपटक कांग्रेसले आठ, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक वडामा अध्यक्ष जितेका छन् । उपमहानगरमा १९ वडा छन् ।

सादा जीवनशैली, सबैसँग मिल्न सक्ने विशेष क्षमता, आदिवासी, जनजाति र महिलाको मत आकर्षण गर्न सफल लामा २०३३ मा हेटौँडा उपमहानगरपालिका ११ जन्मनुभएको हो । उपमहानगरपालिकामा जनमैत्री सेवा प्रदान गर्ने र समग्र विकासका लागि हेटौँडा विकास प्राधिकरण स्थापना गर्ने उहाँको योजना आफैँमा महत्वपूर्ण छ ।

आज बिहान विजयी भएको घोषणासँगै हैटौँडामा गठबन्धनका तर्फबाट मतदातालाई धन्यवादसहित विजय ¥यालीको आयोजना गरियो । फरेष्ट्री चोकबाट निस्किएको विजय जुलुसले हेटौँडा बजारको परिक्रमा गरेको थियो ।

विजयी जुलुसमा निर्वाचित नगरप्रमुख लामा, उपप्रमुख बानियाँसहित कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपाने, बागमती

प्रदेश सदस्य मुनु सिग्देल, माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, समाजवादी मकवानपुर इन्चार्ज ललित बस्नेतसहित गठबन्धनका नेता एवं राजनीतिक दलका नेता–कार्यकर्ता, गठबन्धनका निर्वाचित वडाध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.