यसरी भइरहेको छ डिजिटल भुक्‍तानीमा वृद्धि, ‘क्यूआर कोड’बाट मात्रै ८ अर्ब ९४ करोडको कारोबार

0 253

२९ बैशाख, काठमाडाैं । नेपालमा पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबारमा वृद्धि हुँदै गएको पाइएको छ । नेपालको प्रविधि विकासमा सबैभन्दा नजिक रहेको क्षेत्रमध्ये वित्तीय क्षेत्र पनि एक हो । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा नेपालका भुक्तानी सेवा प्रदायकहरूलाई नै जान्छ ।

बढ्दो कारोबार, फेरिँदो जीवनशैली

केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिनुभएको थियो । अधिकारीको पहलमा विभिन्न तरकारी बजारदेखि सार्वजनिक स्थान1मा क्यूआर कोडबाट भुक्तानीको व्यवस्था लागुभएसँगै डिजिटल कारोबारमा वृृद्धि हुन थालेको हो ।

प्रविधिको प्रयोग अन्तर्गत पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेका छन् । तरकारी बजारबाट सुरु भएको डिजिलट भुक्तानी अवधारण अनुसार अधिकाशं सार्वजनिक स्थानमा विभिन्न सेवा प्रदायक कम्पनीले क्यूआर कोड जडानलाई तिव्रता दिदैँ आएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको (गत साउनदेखि चैतसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा वृद्धि भएको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा आईपिएस, कनेट आईपिएस, मोबाइल बैंकिङ तथा वालेट तथा क्युआरमा आधारित भुक्तानी कारोबारमा रकममा वृद्धि भएको हो ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतमा क्युआरमा आधारित भुक्तानी मार्फत ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनामा यस्तो भुक्तानी ७ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो । आईपिएम मार्फत गत फागुन महिनामा १ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा १ खर्ब ८५ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ ।

गत महिनाको तुलनामा चैत महिनामा मात्रै १९ अर्ब ७३ करोड रुपैयाा बढीको कारोबार भएको हो । यस्तै, गत फागुन महिनामा कनेक्ट आईपिएस मार्फत २ खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा २ खर्ब ९१ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

गत फागुन महिनामा मोबाइल बैंकिङ मार्फत १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा ११ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनाको तुलनामा इन्टरनेट बैंकिङ, वालेट र अनलाइन (इ–कमर्श) हुने कारोबार रकममा कमी आएको छ ।

कनेक्ट आईपीएसमार्फत त्यो समयमा छ लाख ९६ हजार ४४७ पटकको कारोबारमा ५१ अर्ब ३० करोड रुपैयाँको आदानप्रदान भएको छ । सो अवस्थाबाट अहिले आमूल परिवर्तन आएको छ ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ पुस महिनामा मात्रै कनेक्ट आईपीएसबाट ३१ लाख ४५ हजार ९५९ पटक कारोबार भएको छ, जुन २०७७ असारको तुलनामा झन्डै २२ लाख बढी हो ।

पछिल्लो तथ्याङ्क अनुसार कारोबारतर्फ पुस महिनामा मात्रै कनेक्ट आईपीएसमार्फत दुई खर्ब ४७ अर्ब ४७ करोडभन्दा बढीको कारोबार भएको छ ।

निरन्तर उकालो

गत वर्षको पुस महिनामा ५० देखि ६० करोडको हाराहारीमा रहेको क्यूआर कोड भुक्तानी बढेर पछिल्लो समय मासिक दुई अर्ब ५० करोडभन्दा माथि पुगेको कँडेल बताउँछन्।

“अन्य उपकरणहरूको हकमा पनि ठूलो वृद्धि देखिएको छ,” उनले भने।

खुद्रा भुक्तानीतर्फ क्यूआर र ठूला कारोबारका लागि आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) मा पनि उल्लेख्य प्रगति रहेको सरकारी भनाइ छ।

आरटीजीएसमा चैत महिनामा मात्रै २१ खर्बभन्दा बढीको कारोबार भएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ। त्यो आँकडा गत कार्तिक महिनामा ११ खर्ब र मङ्सिरमा १३ खर्ब थियो।

भुक्तानीको प्रणालीमा ठूला कारोबार आरटीजीएसबाट हुन्छ भने खुद्रा स्तरका कारोबारमा वालेट, क्यूआर कोड र कार्ड भुक्तानी हुने अधिकारीहरू बताउँछन्।

“विसं २०७७ श्रावण महिना पछिको अवस्थामा विद्युतीय भुक्तानीले ठूलो फड्को मारेको देखिन्छ,” कँडेलले भने।

कस्तो छ अवस्था?

स्मार्ट कार्ड

राष्ट्र ब्याङ्कको वैशाख महिनाको तथ्याङ्क अनुसार नेपालमा १० वटा पेमेन्ट सिस्टम अपरेटर पीएसओ छन् भने २८ वटा भुक्तानी सेवा प्रदायक छन्।

वैशाखसम्म देशैभर ४,३०२ एटिएम थिए र डेबिट कार्डको सङ्ख्या ८६ लाखभन्दा बढी अनि क्रेडिट कार्ड सङ्ख्या १८७,३११ थियो।

मोबाइल ब्याङ्किङका प्रयोगकर्ताको सङ्ख्या १३,८२५,८१४ छ भने इन्टरनेट ब्याङ्किङका ग्राहक सङ्ख्या १,१४१,७८३ छ।

कनेक्ट आईपीएसको प्रयोगकर्ताहरू सङ्ख्या ४३८,१८० छ।

गत वैशाख महिनाकै तथ्याङ्क हेर्दा वालेटमार्फत १०,७४३,५११ पटक गरी १० अर्बभन्दा बढीको कारोबार गरिएको छ।

एटीएमबाट ५८ अर्बभन्दा बढी नगद झिकिएको छ।

प्रविधिमा आधारित भएको र बजारले निर्देश गर्ने भएकाले विद्युतीय भुक्तानी प्रणाली अघि बढ्दै गएको अधिकारीहरू बताउँछन्।

केमा बढी भुक्तानी?

कँडेलका अनुसार युटिलिटि पेमेन्टमा (धारा, बिजुली जस्ता सेवाको महसुल भुक्तानीमा) सबैभन्दा बढी ग्राहकहरूको आकर्षण देखिन्छ।

वालेट र मोबाइल ब्याङ्किङ मार्फत विद्युत् महसुल वा हवाईजहाजको टिकट खरिद गर्ने जस्ता कार्यहरू भइरहेको छन्।

त्यसबाहेक कनेक्ट आईपीएस प्रणाली एकअर्काको खातामा रकम पठाउन अधिक प्रयोग गरिने गरेको पाइन्छ।

“अलगअलग प्रणालीको अलगअलग प्रवृत्ति छ। क्रेडिट कार्ड र डेबिट कार्डहरू पीओएस मसिनमा चल्ने हुन्छ भने कन्टयाक्टलेस कार्डहरू पनि बिस्तारै आएका छन्। वालेटको प्रयोग भने युटिलिटि पेमेन्टमा बढी भएको देखिन्छ,” उनले भने।

‘सहर केन्द्रित’

डिजिटल भुक्तानीको सहरी क्षेत्रमा व्यापक रूपमा विस्तार भइरहेको भए पनि ग्रामीण भेगमा भने गति सुस्त रहेको जानकारहरू बताउँछन्।

सहरी क्षेत्र बाहिर भरपर्दो माध्यमका रूपमा यो प्रणाली विकास हुन नसकेको पूर्व अर्थसचिव युवराज भुसाल बताउँछन्।

स्मार्ट कार्ड

”नेपाल ब्याङ्कर्स असोसियसन, अर्थ मन्त्रालयका सम्बद्ध निकायहरू र निजी क्षेत्रले यसलाई प्रचारप्रसार गरेर अघि बढाउनुपर्छ,” भुसालले भने।

त्यसबाहेक इन्टरनेट सेवाको पहुँचले पनि सीमितता बढाइदिएको भुसालको भनाइ छ।

त्यस्तै क्यूआर कोडबाट खरिददारी गर्दा प्रयोगकर्ताहरूमा आफ्नो रकम सुरक्षित हुन्छ कि हुँदैन भन्ने कुराको अझै सुनिश्चितता हुन नसकेको देखिएको उनी बताउँछन्।

राष्ट्र ब्याङ्कले कुन क्षेत्रमा कति कारोबार भइरहेको छ भन्ने आफूहरूसँग यकिन तथ्याङ्क उपलब्ध नभए पनि डिजिटल सेवा विस्तारका लागि आवश्यक प्रणाली र सञ्जाल विस्तारमा भने निरन्तर काम गरिरहेको जनाएको छ।

“काठमाण्डू लगायतका सहरहरूमा बढी हुने (कारोबार) र ग्रामीण क्षेत्रमा कम हुने त स्वतःसिद्ध छ,” कँडेलले भने।

के सुरक्षित छ?

नेपालमा डिजिटल भुक्तानीको अनुपात बढ्नु राम्रै रहे पनि गोपनीयता र सुरक्षाबारे भने निकै ध्यान दिइनुपर्ने जानकारहरू बताउँछन्।

विकसित मुलुकहरूको तुलनामा प्रविधिबारे जानकार सर्वसाधारणहरूको अनुपात कम भएको र कम साक्षर जनसङ्ख्यामा पनि यो प्रविधिको पहुँच स्थापित हुन सक्ने हुँदा निकै चनाखो हुनुपर्ने बताइन्छ।

“वित्तीय कारोबारमा पनि हामीकहाँ केहीअघि रोमानियादेखि नाइजेरियाका मानिसहरू एटीएमको पिन कोड चोरेर पैसा झिक्ने पटकपटक भइरहेको छ। नक्कली हस्ताक्षर गरेर नगद झिक्ने पनि ब्याङ्कहरूमा भई नै रहेको छ,” अर्थविद् केशव आचार्यले भने।

“त्यसैले कारोबारको सुरक्षा एउटा कुरा हो। अर्को कुरा चाहिँ जुन तथ्याङ्क हुन्छ, आँकडा हुन्छ वा डेटा हुन्छ त्यसको सुरक्षा एकदमै महत्त्वपूर्ण कुरा हो।”

त्यसबाहेक ई-कमर्स फस्टाउँदै गए पनि वेबसाइटमा देखाइएको सामान घरमा पुग्दा अर्कै हुने र सामान फिर्ता लिन नमान्ने जस्ता प्रवृत्ति पनि डिजिटल भुक्तानीका सन्दर्भमा चिन्ताको विषय रहेको उनले औँल्याए।

सक्नेले प्रयोग गरेर अघि बढ्दै जाने र नसक्ने भने पछि पर्दै जाने हुँदा विद्युतीय कारोबार नेपालको हकमा समावेशी भने नरहेको उनको भनाइ छ।

“महिला, दलित, ‍ग्रामीण इलाकाका मानिस, किसानहरूलाई समाहित गर्न सकेको छैन। त्यसैले राज्यले विद्युतीय कारोबार गाउँगाउँमा लैजाने उपाय गर्न सक्नुपर्छ,” उनले भने।

कँडेलले भने केन्द्रीय ब्याङ्कले भुक्तानी सेवा प्रदायकहरूलाई विश्वस्तरीय सफ्टवेयर प्रयोग गर्न र त्यसलाई समयसमयमा अद्यावधिक र परीक्षण गरिरहन निर्देशन नै दिएको बताउँछन्।

तर डिजिटल भुक्तानीसम्बन्धी सर्वसाधारणहरूनै बढी सचेत हुनुपर्ने उनको तर्क छ।

“कम्तीमा पनि खाता नम्बर, पिन कोड अरूलाई उपलब्ध गराउनु भएन। र म्यासेजहरूमा झुक्किनु भएन। यो ज्ञान पनि हामी फैलाउने काम गरिरहेका छौँ,” उनले भने।

के हो क्युआर कोड ?

क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।

जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।

क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।

तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् ।

रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ ।

एसिया प्यासेफिक क्षेत्रमा सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा सर्वोपरी प्रबन्ध बनिसकेको छ ।
क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ ।

दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।

क्युआर कोड प्रयोगका धेरै फाइदा छन् । यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ । अहिले अर्बौं, खर्बौंसम्मको रकम क्युआर कोडबाटै हुन थालेको छ ।

कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ । क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ । त्यसैगरी, यसले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ । यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ ।

यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ । कोभिडका कारण हामीले जुन समस्या भोग्नुप¥यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ ।

चाहे भ्रष्टाचार होस्, चाहे अन्य आपराधिक घटना वा काम । यी सबैमा नगद जोडिएका हुन्छन् । ९९ प्रतिशत आपराधिक घटना वा विकृति नगदका कारणले निम्तिएका हुन्छन् । नगदलाई छोडिदिनुभयो भने यी विकृति पनि घट्छन् । नगदरहित कारोबारले नै सुशासित समाजको विकास हुन सक्छ । हामीले संसारका मुलुकहरु हे¥यौँ भने अत्यन्तै सुशासित भनिएका मुलुकमा नगदसहित कारोबार हुने गरेको पाउँछौँ । त्यसैले सभ्य र आधुनिक समाज निर्माणका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य र सुशासित हुन पनि आधुनिक प्रविधिको प्रयोग जरुरी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.