Advertisement

दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

0 327

Advertisement

२५ बैशाख, दाङ । आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावका लागि जिल्लाभर जनपद, म्यादी प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी कूल तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रको भित्री घेरामा जनपद र म्यादी प्रहरी सुरक्षाका लागि खटिने तथा बाहिरी घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने प्रहरी प्रमुख काफ्लले जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी टोलटोलमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखिएको बताइएको छ भने निर्वाचन विशेष सुरक्षा योजना तयार गरी गस्ती बढाइएको छ । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुनका लागि जिल्लाको सुरक्षाको व्यवस्था सुदृढ पारिएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनलाई लक्षित गरी सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारी लागू गरिसकेको बताउनुभयो । उहाँले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या लगायतलाई मध्यनजर गरी सुरक्षा विश्लेषण गरी १३६ संवेदनशील, पाँच अतिसंवेदनशील र ११ सामान्य मतदानस्थल वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएकोसमेत जानकारी दिनुभयो ।

त्यस्तै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी एउटा मतदान केन्द्रमा आठदेखि ३८ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ रेग्मीले बताउनुभयो । उहाँले भारतसँग सिमाना जोडिएका नाका क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता बढाएको जानकारी दिँदै मतदान दिनको ४८ घण्टा अगाडि नाकाबन्द गरिने बताउनुभयो ।

“निर्वाचनअघि निर्वाचनको दिन र निर्वाचनपछिको सबै सुरक्षाको उचित प्रबन्ध मिलाइसकेका छौँ”, प्रजिअ रेग्मीले भन्नुभयो । निर्वाचनका लागि जिल्लामा तीन हजार ६६८ कर्मचारीलाई परिचालन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जिल्लामा कूल ४६१ मतदान केन्द्रका लागि उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिएका हुन् । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि प्रशिक्षण दिइ जिम्मेवारीसमेत बाँडफाँट गरिसकेको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा खटिने ९५० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार एउटा मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी गरी पाँच सरकारी कर्मचारी र तीन स्वयंसेवक परिचालन गरिएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.