Advertisement

जग्गा एउटाको, पुर्जा अर्कैको

0 296

Advertisement

२४ फागुन, तुलसीपुर । स्थानीयवासी सङ्गीता बस्नेत परिवारको १६ कठ्ठा चार धुर जग्गा नाममा छ । तर उनीहरुले अहिले चार कठ्ठामात्रै भोगचलन गर्दै आएका छन् । किनकि उनीहरुका नाममा जग्गा भए पनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन् । त्यस्तै दरिभान घर्तीको परिवारले विसं २०१६ मा त्यस स्थानमा जग्गा किनेर घरबाससमेत बनाएको थियो । तर उनीहरुले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ । त्यतिमात्रै होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो । उनीहरुले खेत भनेर जग्गा किने तर नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ । अहिले त्यही पाखो जग्गा उनीहरुले भोगचालन गर्दै आएका छन् ।

जग्गा अर्काका नाममा परेर यस्तै थुप्रै समस्या देखिएका छन् । त्यहाँका करिब ४० घरको यस्तो समस्या छ । भोगचलन गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या हुने गरेको स्थानीयवासी सङ्गीता बस्नेतले बताउनुभयो । “हाम्रो जग्गा १६ कठ्ठा चार धुर हो, तर अहिले हामीले चार कठ्ठामात्रै उपभोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “भोगचलन गर्दै आएको जग्गा पनि हाम्रो नाममा छैन, अहिले जति भोग गर्दै आएका छौँ, त्यत्तिमात्रै हाम्रो नाममा आएपनि खुसी हुने थियौँ ।”

अहिले अर्काको जग्गामा बसोबास गर्दा आफूहरुले त्यो जग्गामा घर निर्माणदेखि बैंकबाट ऋण लिनसमेत समस्या भएको दरिभान घर्तीले बताउनुभयो । “हामीले किनबेच पनि गर्न पाएका छैनौँ, बैंकबाट ऋण निकालेर केही काम गर्न पनि पाएका छैनौँ”, उहाँले भन्नुभयो, “घर हालौँ भने पनि समस्या छ, अर्काका जग्गामा घर हाल्दा भोलि समस्या हुने हो कि भन्ने निकै डर छ ।”

घर्तीको परिवार विसं २०१६ मा त्यस स्थानमा बसोबास गर्न आएको हो । उनीहरुले त्यहाँ जग्गा किनेर बस्न थालेका हुन् । जतिबेला छ महिना त्यस ठाउँमा बस्ने र बाँकी छ महिना पहाडी क्षेत्रमा बस्ने चलन थियो । औलो रोगको जोखिमले पनि त्यहाँका नागरिक पहाड जाने गर्थे । त्यहाँबाट पहाडमा गएको मौकामा त्यहाँ नापी भएको स्थानीयवासी घर्तीले बताउनुभयो । “हामी छ महिना दाङ बस्थ्यौँ, छ महिना पहाड बस्थ्यौँ”, उहाँले भन्नुभयो, “त्यही मौकामा नापी आएर जग्गा नापेर गएछ, पछि मात्रै हामीलाई थाहा भयो ।” त्यहाँका स्थानीयवासीले यसरी जग्गा बिग्रिएको भन्ने पनि थाहा पाएका थिएनन् । विसं २०५२÷५३ तिर जग्गा किनबेच गर्ने क्रममा मात्रै उनीहरुले जग्गा यसरी बिग्रिएको भन्ने थाहा पाए ।

अहिले मालपोत एउटाले तिर्ने र भोगचलन अर्कैले गर्ने अवस्था सिर्जना भएको छ । “मालपोत कर हामीले तिर्छौँ”, स्थानीय मीनप्रकाश विश्वकर्माले भन्नुभयो, “तर जग्गा अर्कैले भोग गर्ने गरेका छन् ।” राजनीतिक दलहरुले मिलाउन चाहेमा यो मुद्दा मिल्ने भए पनि यस विषयमा राजनीतिक दलहरुले पनि आफ्नो स्वार्थलाई बढी ध्यान दिएको समेत उनीहरूको गुनासो छ ।

त्यहाँ जग्गा किनबेच गर्दा पनि निकै समस्या देखियो । स्थानीय दुर्गाकुमारी बस्नेतको परिवारले त्यहाँ खेत भनेर किने तर, नापीका क्रममा पाखोबारी परेकाले उनीहरु पाखो बारीमा चित्त बुझाउन बाध्य भए । “हामीले खेत भनेर किन्यौँ, केही वर्ष जोतभोग पनि ग¥यौँ”, बस्नेतले भन्नुभयो, “तर पछि अर्कैका नाममा भएपछि, जसको नाममा छ, उसैले दाबी ग¥यो, हाम्रो भागमा पाखो बारीमात्रै प¥यो ।” अहिले जग्गा बढी परेका व्यक्तिहरूले आलटाल गर्दा पनि त्यहाँ कुरा मिल्न सकेको छैन । यस विषयमा पटक–पटक वडा, पालिका र नापी कार्यालयलाई झक्झक्याउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । “हामीले नापी कार्यालयलाई झक्झक्यौँ, पटक–पटक वडालाई पनि भन्यौँ, उपमहानगरपालिकामा पनि गयौँ”, उहाँले भन्नुभयो, “हुन्छ–हुन्छ भन्ने भयो तर कुनै निकायबाट यसमा चासो दिइएन ।”

यसले पछिल्ला सन्तानलाई निकै समस्या पर्ने भन्दै यो समस्या तत्काल समाधान गर्नतर्फ सबैले ध्यान दिनुपर्नेसमेत स्थानीयवासीको भनाइ छ । नापी कार्यालय तुलसीपुरमा भने यस विषयमा समस्या लिएर स्थानीयवासी नआएको कार्यालय प्रमुख गणेशमान विश्वकर्माले बताउनुभयो । “म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि समस्या लिएर आउनुभएको छैन”, उहाँले भन्नुभयो, “यस विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयवासी पनि एकापसमा मिलेर आएमा सहज हुने देखिन्छ ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.