एमसीसी पास गर्न प्रधानमन्त्रीको दबाब, प्रचण्ड–नेपालले मागे समय
१७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् ।
प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् ।
स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका हुन् । यस्तै, ‘प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नी सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन्,’ स्रोतले भन्यो ।
यसअघि सभामुखले १६ माघमा प्रतिनिधि सभाको बैठक तोकेका थिए । प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेत कै कारण उनले २६ माघलाई संसद बैठक तोकिएकाे स्रोतले बतायाे । अमेरिकाले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ ।