Advertisement

विद्यार्थीलाई सिकाइसँग जोड्न अभिभावक समेटेर टोल शिक्षा समिति

0 218

Advertisement

१० माघ, अछाम । कोभिड-१९ का कारण भौतिक रुपमा विद्यालय बन्द भएपछि केही स्थानीय तह अथवा विद्यालयले विभिन्न उपायमार्फत् विद्यार्थीलाई पढाइसँग जोडिरहेका छन् ।

त्यसमध्ये अछामको साँफेबगर नगरपालिकाको प्रभा धम्कोट प्राविधिक तथा व्यावसायिक माविले एउटा गज्जबको उपाय अपनाई टोल कक्षा सञ्चालन गरिरहेको छ । अनलाइनमा विद्यार्थीको पहुँच नभएपछि विद्यालयले टोल शिक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक जोगराज कुँवर बताउँछन् ।

टोल शिक्षा सञ्चालनको लागि विद्यालयले अभिभावकहरूलाई समेटेर पाँच सदस्यीय टोल शिक्षा समिति गठन गरेको छ । शिक्षा समिति शिक्षाको महत्त्व बुझेका मध्येका एक अभिभावकलाई टोल शिक्षा संयोजक तोकेको छ । विद्यालयले समितिलाई टोलमा शैक्षिक वातावरण बनाउने जिम्मेवारी दिइएको हुन्छ । ७३२ जना विद्यार्थी रहेको विद्यालयले ११ वटा टोल कक्षा बनाएको छ । एक टोल शिक्षा एक समिति गठन गरेको छ ।

टोल शिक्षा सञ्चालन गर्दा ‘पटकानी’(टोलका मानिसहरू भेला भएर चिया खाने, गफ गर्ने सार्वजनिक स्थान) ले पढ्ने वातावरण बिगार्ने देखिएकोले टोल शिक्षा समिति गठन गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक कुँवर बताउँछन् ।

उनले भने ‘पटकानीहरूमा तास खेल्ने, मदिरा पिउने स्थान हुन थालेपछि यसले समाजमा र पढ्ने बालबालिकामा नकारात्मक असर पर्ने भएकोले त्यस्ता कार्य हुन नदिन र बालबालिकालाई त्यस्ता स्थानहरूमा जान नदिनको लागि समिति बनाएका हौं ।’ त्यसै अनुसार टोल शिक्षा समितिले संयोजकको नेतृत्वमा सार्वजनिक स्थल व्यवस्थापन गर्न मुख्य भूमिका हुने कुँवरले बताए ।

त्यो बाहेक बालबालिका गृहकार्य नगरी डुलेर हिँडेको छ, टोल कक्षामा सहभागी भएको छैन भने त्यस्ता विद्यार्थीलाई सम्झाउने, उनीहरूको अभिभावकलाई सम्झाउने समितिको जिम्मेवारीभित्र पर्छ । टोल शिक्षामा हरेक हप्ता विषयगत शिक्षकहरू पुग्छन् । टोल शिक्षाको लागि जानुपूर्व विद्यालयले शिक्षकहरूको बैठक राखेर एक हप्ता पुग्ने गरी गृहकार्यको लागि प्रश्नपत्र बनाउने, समाधानपत्र (प्रश्नपत्र अनुसारको उत्तर बनाउने) बनाउने काम गर्छ । त्यसपछि कुन टोलमा कुन दिन जाने भनेर तालिका बनाउँछ ।

त्यसरी शिक्षक टोलमा जान अघि टोल शिक्षा संयोजकलाई गते अथवा बारसहित समय जानकारी गराइन्छ । त्यही बमोजिम अभिभावकलाई अथवा विद्यार्थीलाई समितिले उपस्थितको लागि जानकारी गराउँछ । सोही सूचनाको आधारमा बालबालिका टोल कक्षामा उपस्थित हुन्छन् । यसरी हरेक टोलमा यसरी फरक फरक दिन शिक्षकहरू उपस्थित भई अध्यापन गराउने गरेको प्रधानाध्यापक कुँवरले जानकारी दिए । उनी भन्छन् ‘यस कार्यले बालबालिकाले विद्यालय बन्द भएको अनुभूति गर्न पाएका छैनन् र विद्यालयभन्दा पनि बढी प्रभावकारी भइरहेको अनुभूति गरेको छु ।’

टोल शिक्षा समितिको कारण टोल शिक्षा बढी प्रभावकारी प्रधानाध्यापकको कुँवरको भनाइ छ । उनले भने,‘टोल शिक्षामा अभिभावक समेटिएन भने प्रभावकारी हुँदैन भन्ने बुझ्यौं । त्यसैले टोल शिक्षा समितिको परिकल्पना गरी अभिभावकसहित विद्यार्थीलाई टोल कक्षामा जोडेका हौं । त्यसको प्रतिफल राम्रै आइरहेको छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.