Advertisement

शोभराजलाई जेलमुक्त गर्न नमिल्ने सरकारको जबाफ

0 404

Advertisement

२६ पुस, काठमाडौं । कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजको मुद्दामा सजाय पूरा नगरेसम्म जेलबाट छुट्न नपाइने सरकारले लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेको छ। शोभराजले ज्येष्ठ नागरिकमा सरकारले छुट सुविधा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुस ७ मा रिट निवेदन दर्ता गराएका थिए।

त्यस रिट निवेदनमाथि सर्वोच्च अदालतले शोभराजलाई छुट सुविधा दिनुपर्ने वा नपर्ने भन्ने विषयमा सरकारलाई लिखित जवाफ माग्ने आदेश गरेको थियो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले पुस ८ मा लिखित जवाफ माग्ने आदेश गरेको हो।

जिल्ला अदालत भक्तपुरको फैसला अनुसार शोभराजले जन्मकैद अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ। उनी २०८० साल असोज १ सम्म कारागारमा बस्नुपर्नेछ। शोभराजले आफुले २० वर्ष सजाय तोकिएको मध्ये १७ वर्षभुक्तान गरिसकेको दाबी गर्दै आफु असल चालचलन भएकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसमेत रिट निवेदनमा गरेका थिए।

रिट निवेदक शोभराजले ७७ वर्ष पुगेको, मुटुरोगी भएको र सर्वोच्चले यसअघि दिएको आदेश कार्यान्वयन नभएको भन्दै कानुनविपरीत जेलमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उल्लेख थियो।

सरकारले दिएको लिखित जवाफमा शोभराजको अपराध छुट पाउने खालको नभएको र विदेशी नागरिक भएकाले छुट नपाउने बताएको छ। ‘कसुरदारले उमेर, रोग वा अन्य कारणले छुट पाउन सक्ने कानुनमा व्यवस्था छैन।

कैद छोट्टाउन सक्ने भए पनि जीउ मास्ने, बेच्ने, जबर्जस्तीकरणी, कैद भागे, भगाएको, भन्सार, चोरी पैठारीलगायतका मुद्दामा कैद सजाय छोट्याउन नसकिने’ सरकारको लिखित जवाफमा उल्लेख गरेको छ।

ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पुगेका नेपाली नागरिक सम्झनुपर्ने सरकारको जवाफ छ। ज्येष्ठ नागरिकलाई दिइएको छुट नेपाली नागरिकका लागि मात्रै भएकाले विदेशीलाई दिन नसकिने बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज ज्ञवालीले सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन्। शोभराजलाई जेलमुक्त गर्नुपर्ने माग गर्दै अधिवक्ताहरू शकुन्तला थापा, रामबन्धु शर्मा, सरोज घिमिरे र निहिता विश्वासले बहस गरेका थिए।

चाल्र्स गुरुमुख शोभराज

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपछि बिहिबार सरकार र निवेदक दुवै पक्षका तर्फबाट बहस भएको थियो। न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले यस अघि उच्च, सर्वोच्चबाट भएका फैसला र त्यसको कार्यान्वयनको अवस्था पेश गर्ने आदेश गरेको छ।

२०७७ साल फागुनमा सर्वोच्च अदालतले शोभराजलाई छुट दिन मिल्न हो वा होइन तीन महिनाभित्रमा निर्णय दिन फैसला गरेको थियो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, बमकुमार श्रेष्ठको संयुक्त इजलासले शोभराजको रिट निवेदनमाथि फैसला गर्दै तीन महिनाभित्र निर्णय गर्न परमादेश दिएको थियो। सर्वोच्चले सरकारलाई तीन महिनाभित्र शोभराजलाई नेपाली ज्येष्ठ नागरिकको सुविधा दिन मिल्छ मिल्दैन भन्नेबारे निर्णय गर्ने जिम्मा सरकारलाई छोड्दै परमादेश दिएको थियो। तर, सरकारले कुनै निर्णय नगरेको भन्दै पुनः रिट निवेदन परेको थियो।

शोभराजले नेपाली ज्येष्ठ नागरिक ऐनमा टेकेर आफू उमेरहदका कारण छुट्न पाउने सुविधा माग्दै शोभराजकी कानुन व्यवसायी अधिवक्ता शकुन्तला थापाले सर्वोच्चमा २०७७ कात्तिक १९ मा रिट निवेदन दर्ता गरेकी थिइन्।

कुख्यात अपराधी ठहरिएका र कैद सजाय भोगिरहेका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजले नेपाली नागरिकले पाउने सुविधा माग्दै रिट दिएका हुन्। ‘द सर्पेन्ट किलर’ को रूपमा कुख्यात शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको २०३२ सालमा भएको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी कैद सजाय भोगिरहेका छन्।

जेष्ठ नागरिक ऐन २०६३ को १२(१ख) र कारागार नियमावलीमा टेकी उनी आफूलाई थुनामुक्त गरिदिन परमादेशको आदेश मागेका थिए। जेष्ठ नागरिक ऐनमा सरकारवादी भई चलेको कुनैपनि मुद्दामा ७० वर्ष पूरा भई ७५ ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म कैद छुटको व्यवस्था गरेको छ। शोभराजले जेष्ठ नागरिक ऐनमा टेकेर निवेदन दर्ता गरे पनि ऐनमा ‘ज्येष्ठ नागरिक’ भन्नाले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनुपर्छ’ भन्ने परिभाषा उल्लेख छ। उनी भने विदेशी नागरिक हुन्।

गोलघरमा बस्नु पर्दा आफूलाई क्रोनिक हर्ट डिजिज लागेको रिट निवेदनमा विलौना रिट निवेदनमा पोखेका छन्। मुटुको सर्जरी भएकाले भल्व फेरिएकाले आफू निकै नाजुक रहेको निवेदनमा उल्लेख छ। कुनै पनि संक्रमणबाट आफू जोगिनुपर्ने भएकालेसमेत जेलबाट छुट्न पाउने दाबीसहितको रिट निवेदनमा माग गरिएको थियो।

सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका चाल्र्स शोभराज विकिनी किलर शोभराज हुन्। उनको पूरा नाम चाल्र्स गुरुमुख शोभराज हो भने, उनी विकिनी किलरका रूपमा बढी परिचित छन्। शोभराज भारतीय बाबु र भियतनामी आमाका सन्तान हुन्। उनी सानै हुँदा बाबु भारत फर्केपछि एक फ्रान्सेली नागरिकलाई आमाको ब्वाइफ्रेन्डको रूपमा पाएपछि शोभराज भियतनामी, भारतीय र फ्रान्सेली नागरिक कहलिएका थिए।

२०३२ पुस ८ मा मनोहरा खोला किनारमा एक महिलाको शव फेला परेको थियो। फेला परेको शव पूरै नांगो जलेको शरीर, मुटुमा चारवटा छुरी रोपिएको नचिनिने अवस्थामा भेटिएको थियो। पछि अनुसन्धानपछि त्यो शव अमेरिकी नागरिक कोन्नीको भन्ने खुलेको थियो। त्यसैगरी २०३२ पुस ६ मा अरनिको राजमार्गमा डढेको अवस्थामा एक पुरुषको शव भेटियो। भक्तपुरको पलाँसेस्थित ढलमा फालेको शव निर्वस्त्र, अनुहार डढाएर फालिएको थियो।

विदेशी पुरुष कोन्नीका प्रेमी लरेन्ट थिए। अनुसन्धानपछि कोन्नी र लरेन्ट एउटै योजनामा मारिएको रहस्य खुल्यो। दुवै हत्यामा संलग्न रहेको भन्दै शोभराज पक्राउ परेका थिए। दुईजना पर्यटक नेपाल आएको बेला हत्या गरेको ठहरमा उनलाई अदालतबाट दोषी ठहर गरी २० वर्ष कैद तोकिएको थियो। उनलाई जन्मकैदसहित २०८० साल असोज १ सम्म कैद बस्नुपर्नेगरी २०६० सालमा भक्तपुर जिल्ला अदातलबाट फैसला भएको थियो। जिल्ला अदालतको फैसला अनुसार अब २ वर्ष जेल बस्नुपर्नेछ।

नागरिक



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.