Advertisement

तिलासक्रायत पर्वः गरिब किसानलाई नगद आर्जनको अवसर

0 675

Advertisement

२४ पुस, महोत्तरी । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व नजिकिएसँगै महोत्तरीका गरिब किसानको व्यस्तता झनै बढ्छ । पर्वविशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो ।

मुखमै आइपुगेको तिलासक्रायत पर्व यहाँका गरिब किसानका लागि नगद आर्जनको अवसर पनि बनेको छ । पुसको ठिही (चिसो) खप्दै उखु पेलेर बनाइएको मिठ्ठा (सख्खर), पाखोबारीमा लगाइएको तील, तरुल र मासको दालले राम्रो मूल्य पाएपछि गरिब किसानलाई यो पर्व नगद आर्जनको अवसर बनेको हो ।

पर्व अब ठ्याक्कै एक सातामै पर्ने भएपछि थोरै जग्गामा उखु लगाएका किसान भ्याइनभ्याइ गरेर मिठ्ठा बनाउन तल्लिन छन् । पर्वका लागि मिठ्ठा खोज्न व्यापारी र उपभोक्ता घरघरै आएपछि बजार पुग्नपर्ने समय पनि बचत भएको र राम्रो मूल्य पाइएको गरिब किसानको भनाइ छ । “जग्गै छैन बाबु, त्यही तीन कट्ठा जति त हो, त्यसैमा उखु र आली (गरा छुट्याउन माटो उठाइएको, साँध सीमा) मा तिल थियो”, भङ्गाहा नगरपालिका–४ का किसान लखन कापरले भन्नुभयो, “पवनी (पर्व) आइपुग्यो, उखु पेल्न र तील चुट्ने समय एउटै प¥यो, भ्याइनभ्याइ छ ।” पर्वका मुखमा कामको मारामार परे पनि मिठ्ठा र तील बेचेको पैसाले नगद खर्चको राम्रै जोहो हुने गरेको उहाँले बताउनुभयो ।

यसैगरी कापरकै छिमेकी भजनसिंह दनुवार पनि अहिले तरुल खन्न व्यस्त हुनुहुन्छ । तरुल तिलासक्रायत पर्वको खास परिकार भएको हुँदा अहिले राम्रो मूल्यमा बिक्री हुने गरेको दनुवारको भनाइ छ । “एकाध धुर (२० धुरको एक कट्ठा) मा खमरुवा (तरुल) छ बाबु, आफ्नै टोल (घर वरिपरिका छिमेकी) ले मागेका छन्”, उहाँले भन्नुभयो, “चाडबाडमा नगदकै कारोबार हुन्छ, राम्रै आर्जन भएको छ ।” तरुल खनेको केही दिनसम्म ताजै रहने हुनाले पर्वको एक साताअघिदेखि नै बिक्री हुने गरेको दनुवारको भनाइ छ ।

अहिले तीन-चार कट्ठा मात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा, तरुल र तिल बेचेर १०-२० हजार नगद जोहो गर्न भ्याएका छन् । आफ्नो पाँच कट्ठा पाखो बारी (सिँचाइ नपुगेको) मै लगाइएको उखु, तिल र तरुलबाट २० हजार आम्दानी भएको भङ्गाहा–४ कै किसान गनु विश्वकर्माले बताउनुभयो । “अन्य कुरा मजदुरी र बरबटैया गरेर गुजारा टारिन्छ”, उहाँले भन्नुभयो, “नगद खर्च भने आफ्नै बारीको कमाइबाट दुःखसुख चलाइन्छ ।”

तिलासक्रायत पर्वमा सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा) र जुनेला (अन्न विशेष) को लाई (लड्डु), उसिनेको तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले महोत्तरीसहितका मिथिला क्षेत्रका बस्तीबस्तीमा यी खाद्य सामग्रीको माग ह्वात्तै बढेको हो । पर्व विशेषले जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा उखु, तिल र तरुललगायतका बाली बढी लगाइने गरेको छ ।

पर्व विशेषले आफ्ना उत्पादित बाली सजिलै घरघरै राम्रो मूल्य पाएर बिक्री हुने भएकाले अहिले खासगरी गरिब किसानका लागि नगद जोहोको अवसर बनेको हो । अहिले राम्रो तिल प्रतिकिलो ३२५, मिठ्ठा ११० र तरुल १५० मा बिक्री हुँदैछ । तिलासक्रायत पर्व केही दिनमात्र बाँकी रहँदा यसक्षेत्रका घरघरमै अहिले मिठ्ठाको खुँदो बनाउने, तिल, चिउरा र जुनेलो भुटेर लाई (लड्डु) बनाउने काममा गृहिणी तल्लीन देखिएका छन् ।

तिलासक्रायत नजिकिएसँगै यहाँका बजारमा पनि पर्वविशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्तीबस्ती मै तिल, मिठ्ठा, चिउरा, मुरी र कतिपय ठाउँमा लाई (लड्डु) कै बजार जमेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.