Advertisement

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

0 438

Advertisement

१२ पुस, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । यसबाट हरेक दिन २८० देखि २९० सिलिन्डर अक्सिजन भर्न गर्न सकिने छ । अस्पतालमा रहेको १५ शय्याको आइसियू र एनआइसियू कक्ष सञ्चालन गर्न सहज भएको छ ।

साथै अस्पतालले यसको विकल्पमा ‘लिक्विड प्लाण्ट’ सञ्चालनको तयारी समेत थालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले अक्सिजन प्लान्टको परीक्षण सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभया,े“आइसियू र एनआइसियू कक्ष सञ्चालनमा सहज भएको छ । ”

गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडियू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो । अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो । अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ ।

यसअघि राजविराजबाट ५० किलोमिटरमा रहेको इटहरीमा अक्सिजन भर्ने गरिएको थियो । प्लान्ट सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीलाई थप सेवा पाउन सहज हुने राजविराजका नवीनकुमार झाले बताउनुभयो ।

सेवा नियमित र व्यवस्थित सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालमा दक्ष जनशक्तिको पूर्ति गर्न आवश्यक देखिएको छ । अस्पतालमा जडान भएको सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावकै कारण बन्द रहने गर्छ । अस्पतालका बिरामी कुरुवा भन्दछन् ,“भेन्टिलेटर जडान भयो, अक्सिजन प्लान्ट बन्यो, जनशक्ति छैन ।”

दक्ष जनशक्तिको अभावमा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायम रहेको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिनुभयो । भेन्टिलेटर सञ्चालनका लागि अस्पतालमा ‘क्रिटिकल केयर फिजिसियन’ ‘एनेस्थेसियोलोजिष्ट’, अहेव र नर्सको आवश्यकता रहेको जनाइएको छ ।

जनशक्ति व्यवस्थापन भएमा जडान गरिएको अक्सिजनसहितका उपकरण प्रयोग गर्न पाएर लाभान्वित हुने स्थानीयवासीको अपेक्षा छ । अक्सिजन प्लान्टको स्थापनाले जिल्लावासी खुसी छन् । कोभिड–१९ को सङ्क्रमणका बेला अक्सिजन अभावका कारण सङ्क्रमित अक्सिजनसहितको अस्पताल र शय्याका लागि भौतारिनुपर्ने अवस्था थियो । अक्सिजनकै लागि छट्पटिनुपर्ने अवस्था अन्त्य भएको अस्पतालले समेत जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.