Advertisement

३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व नयाँ पुस्तामा

0 572

Advertisement

२० मंसिर, काठमाडौं । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ। ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो।

एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो। निर्वाचन परिणामअनुसार लिङदेन १ हजार ८ सय १७ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कमल थापाले १ हजार ६ सय १७ मत पाए।

निर्वाचनबाट पार्टी नेतृत्व नयाँ पुस्तामा पुगे पनि थापाले यसलाई सहजै स्वीकार गर्न सकेको देखिएन। परिणाम सार्वजनिक हुनेबित्तिकै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको भन्दै आक्रोश पोखे।

निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा समेत उनी सहभागी भएनन्। शपथग्रहण कार्यक्रममा उनलाई प्राथमिकतासाथ बोलाइएको थियो।

लिङदेनको विजयप्रति टिप्पणी गर्दै उनको प्यानलबाट महामन्त्री पदमा विजयी भएका धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो। निर्वाचन परिणामबाट यही बुझ्नुपर्छ। अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तरिकाले अघि बढ्छ।’ चुनावी परिणामले कार्यकर्ता नेतृत्व परिवर्तनका पक्षमा रहेको पुष्टि भएको उनले बताए।

लिङदेन २०४६ सालको राजनीतिक आन्दोलनपछि राजनीतिमा सक्रिय भएका हुन्। उनी स्थापनाकालदेखि नै राप्रपामा आबद्ध भए। २०४८ सालमा गठन भएको राप्रपा विद्यार्थी संगठनको उनी पहिलो अध्यक्ष हुन्। २०२२ सालमा पाँचथरको अमरपुरमा जन्मिएका लिङदेन सम्पन्न परिवारका होइनन्। उनी पाँचथरबाट झापा बसाइँ सरे। उनले झापाबाटै राजनीति सुरु गरे।

२०६१ सालमा उनी तत्कालीन राजाबाट झापा जिल्ला विकास समितिको सभपातिमा मनोनीत भए। जिल्ला सभापति भएपछि उनको घरमा माओवादीले आगो लगाइदिए। त्यसपछि उनी बिर्तामोडमा बस्न थाले। जतिसुकै कष्ट भए पनि उनी आफ्नो विचारबाट पछि हटेनन्।

उनी सुरुदेखि नै राजावादी हुन्। २०७० सालमा उनी राप्रपाको महामन्त्री भएका थिए। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङदेनले झापा ३ बाट जिते। त्यतिखेर उनले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए।

महाधिवेशन निर्वाचनमा पराजय भोगेका राप्रपाका निवर्तमान अध्यक्ष थापा २०६४ सालमा भएको संविधानसभा सदस्यको चुनावपछि पनि पटकपटक मन्त्री भए। सरकारको नेतृत्वमा जो आए पनि थापा मन्त्री भइरहे। कहिले एमालेको सरकारमा त कहिले नेपाली कांग्रेसको सरकारमा उनी मन्त्री भए। ‘उहाँ (थापा) ले राजावादीको नाममा जहिले पनि अवसर मात्र लिन खोज्नुभयो। राजावादी भन्ने उहाँ गणतन्त्र कार्यान्वयन गर्न गठित सरकारमा पनि मन्त्री हुन लालायित हुनुभयो’, लिङदेनको प्यानलबाट चुनाव जितेका एक केन्द्रीय सदस्यले भने, ‘उहाँको नेतृत्वमा पार्टी कमजोर भयो। पार्टी यस्तो अवस्थामा आउँछ भनेर हामीले सोचेकै थिएनौं। केन्द्रीय तहका नेताहरूले धमाधम पार्टी छाड्दै गए।’ यो महाधिवेशनबाट पुस्ता हस्तान्तरण नभएको भए आगामी निर्वाचनमा राप्रपा झन् खस्किने अवस्था देखिएको थियो। यसैलाई ध्यानमा राखेर कार्यकर्ताले मतमार्फत नेतृत्व फेरेको ती सदस्यको विश्लेण छ। ती सदस्यले भने,‘त्यसैले नेतृत्वको पुस्ता हस्तान्तरण गर्न कार्यकर्ता बाध्य भए।’

निर्मल निवासप्रति थापाको असन्तुष्टि

कमल थापाले आफ्नो पराजयमा पूर्वराजा ज्ञानेन्द्र र उनी निकट व्यक्तिहरूलाई दोषी देखाएका छन्। अप्ठेरो परेको बेला आफूले साथ दिँदा पनि पूर्वराजाले धोका दिएको उनको विश्लेषण छ।

पूर्वराजाप्रति थापाले गरेको यो कटाक्षलाई थापा निकट नेताहरूले मन पराएका छैनन्। थापाको विपक्षमा निवर्तमान डा. प्रकाशचन्द्र लोहनी खुलेरै लागे।

त्यस्तै अर्का निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणा चुनावमा मौन देखिए, कतै खुलेनन्। आफू पराजित भएकोमा थापाले पूर्वराजाप्रति कटाक्ष गरिरहेका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले दोस्रो पटक गरेको ट्विटमा राजेन्द्र थापाले लेखेको गीत ‘पोहोर साल खुसी फाट्दा, जतन गरी मनले टालें, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालें, यसपालि त मनै फाट्यो,केले सिउने केले टाल्ने हो?’ राखेका छन्।

उनले आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेप भएको बताएका छन्। हिमानी शाह नामबाट राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएको थाहा पाएपछि थापा झनै आक्रोशित भए। उनले हिमानीप्रति पनि कटाक्ष गर्दै ट्विट गरे।

प्यानलबाट थापाले हारे, अरूले जिते

अध्यक्षमा थापाले हारे पनि उपाध्यक्ष तथा महामन्त्री पदमा उनको प्यानलका उम्मेदवार विजयी भएका छन्। लिङदेन प्यानलबाट चुनाव लडेका धबलशमसेर राणाबाहेक सबै पदाधिकारी थापा प्यानलबाट विजयी भएका छन।

उपाध्यक्षमा विजयी विक्रम पाण्डेलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छ। उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन्। यी तीन नेता थापा प्यानलका हुन।

महामन्त्रीमा राणाबाहेक थापा प्यानलकै विजयी भएका छन्। महामन्त्रीमा विजयी भुवन पाठक र कुन्ती शाही थापा प्यानलका हुन्। थापाको परिवारबाट छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा केन्द्रीय सदस्यमा विजयी भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.