Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नयाँ वर्षमा सञ्चालनमा आउने, ८८ प्रतिशत निर्माण कार्य सकियो

0 574

Advertisement

सन्जिब तिमल्सिना

१८ मंसिर, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको हालसम्म ८८ प्रतिशत निर्माण कार्य सकिएको आयोजना प्रमुख विनेश मुनानकर्मीले बताउनुभयो ।

विमानस्थलमा एयर साइड र ल्याण्ड साइडको अधिकांश काम सकिएको र बाँकी काम पनि तीव्र गतिमा अघि बढेकाले आगामी वैशाख अघि नै विमानस्थलको निर्माण कार्य सम्पन्न गरी फ्लाइट शुरु हुने मुनानकर्मीले बताउनुभयो ।

करिब २२ अर्बभन्दा बढी लागतमा गएको जुलाई १० भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी चीनको सिएएमसी कम्पनीसँग सम्झौता भएको भए पनि कोरोनाका कारण सिर्जित समस्याका कारण नागरिक उड्डयन प्राधिकरणले निर्माण अवधि १ वर्ष थप गरेको हो । थप गरिएको सम्झौताअनुसार आयोजना २०७९ असार सम्ममा सम्पन्न गरिसक्नुपर्ने भए पनि वैशाख अगावै निर्माण कार्य सकिने आयोजना प्रमुख मुनानकर्मीको भनाई छ ।

‘विमानस्थलमा ‘वाटर म्यानेजमेन्ट’ र रिठेपानी डाँडा कटान मुख्य समस्याका रूपमा देखिएका छन्’, मुनानकर्मीले भन्नुभयो, ‘हामीले यी समस्या समाधानका लागि सरोकारवालाहरूसँग छलफल समेत गरेर ठोस पहल गरेका छौँ , त्यसको नतिजा आउनासाथ हामीले यी समस्यालाई समय सीमा भित्र नै सम्पन्न गर्ने छौँ ।

विमानस्थलमा सिचाइका कारण भएको पानीको समस्या समाधान गर्न हाइवेबाट पानीको डाइभर्सन गर्ने विकल्प रहेको भन्दै मुनानकर्मीले त्यसको लागत ३४ करोड लाग्ने देखिएको बताउनुभयो । यस सम्बन्धमा सिचाई डिभिजन कार्यालय कास्कीसहित सरोकारवालाहरू सँग छलफल भइरहेकाले सम्बन्धित निकायबाट बजेट निकासा भई समयमै काम सम्पन्न हुने उहाँको भनाई छ ।

‘विमानस्थल भित्रको वाटर म्यानेजमेन्टका लागि हामीले एउटा खोला नै बग्न सक्ने खालको नहर तयार पारिसकेका छौँ, आयोजना प्रमुख मुनानकर्मीले भन्नुभयो, ‘सिचाइ नहरका कारण समस्या सिर्जना भएको हो, यदि सिचाइ नहरलाई हाइवेबाट डाइभर्सन गर्न डिभिजन कार्यालयले सक्दैन भने पनि हामीले त्यसको जिम्मा लिएर समयमै काम सम्पन्न गर्न तयार छौ ।’

मुनानकर्मीले रिठेपानी डाँडा कटान सम्बन्धमा ‘पूरक इआइए’को काम भइरहेकोले १० दिनमा फाइल तयार पारी मन्त्रालयमा स्वीकृतिको लागि पठाइने बताउनुभयो । मन्त्रालयको स्वीकृतिसँगै ठेक्का प्रक्रिया शुरु भई कटानको कार्य अघि बढ्ने उहाँले बताउनुभयो। ‘हामीले रिठेपानी डाँडा कटान सम्बन्धमा ‘पूरक इआइए’ समेत तयार पारी बन मन्त्रालयमा पठाउँदै छौँ’ , मुनानकर्मीले भन्नुभयो, ‘मन्त्रालयको स्वीकृतिसँगै डाँडा कटानको कार्य अघि बढ्छ ।’

रिठेपानी डाँडाको ४० प्रतिशत भूभाग काट्नुपर्ने भए पनि तत्कालका लागि १५ प्रतिशत मात्र कटान भए पनि हवाई उडान सञ्चालनमा बाधा नपुग्ने उहाँको भनाई छ । ‘हामीले रिठेपानी डाँडाको १५ देखि २० प्रतिशत भूभागमा कटान गरे पनि फ्लाइट शुरु गर्न सक्छौ । त्यो कार्य हामीले एक देखि डेढ महिनामा सम्पन्न गर्न सक्छौँ’, मुनानकर्मीले भन्नुभयो।

आयोजना प्रमुख विनेश मुनानकर्मी
विमानस्थलका लागि ९९ प्रतिशत जग्गा अधिग्रहण भइसकेको र ३ हजार ८ सय रोपनीमध्ये बैङ्कहरूमा धितो बन्धक रहेको, व्यक्ति विदेशमा रहेको, सम्पर्कमा नआएको लगायतका समस्या रहेको २० रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको उहाँले जनाउनुभयो । बाँकी १ प्रतिशत एक/दुई महिनामै टुङ्गो लाग्ने मुनानकर्मीले बताउनुभयो।

विमानस्थलमा चाहिने हवाई इन्धनको सम्बन्धमा तत्कालका लागि हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलबाट इन्धन ढुवानी गरेर पूर्ति गरिने उहाँले बताउनुभयो । इन्धनसँग सम्बन्धित कार्य नेपाल आयल निगमसँग समन्वय गर्नुपर्ने देखिएकाले त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पहल गरेर विमानस्थल भित्रै भण्डारण गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाई छ।

विमानस्थलको सहज सञ्चालनका लागि सञ्चालन अगावै नजिकै रहेको ल्यान्ड फिल्ड साइट हटाउनुपर्ने र मुख्य राजमार्ग सँगै आसपासका गन्तव्यलाई जोड्ने सहायक बाटाको निर्माण तथा व्यवस्थापन अनिवार्य हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

विमानस्थलमा हाल ३ किलोमिटर लामो रनवे, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थल भित्रका स्थानहरूलाई जोड्ने सडक, जहाज पार्किङ, ट्याक्सी पार्किङ, टर्मिनल भवन लगायतका एयर साइड र ल्याण्ड साइडका मुख्य कार्यहरू सम्पन्न भइसकेको मुनानकर्मीले बताउनुभयो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.