कांग्रेस पहिलो प्रदेश अधिवेशन : देउवा पक्ष तितरवितर हुँदा पौडेल समुह उत्साहीत
१७ मंसिर, हेटौडा । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि नेताहरुका बीचमा रस्साकस्सी चलेको छ । केन्द्रमा रहेको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका दुई समुह प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रदेश नम्बर दुई बाहेकका प्रदेशमा दुवैपक्षले उमेदवार तय गरिसकेका छन् । सभापति देउवा पक्षमा आन्तरिक व्यवस्थापनमा समस्या देखिएपछि सातै प्रदेशमा पौडेल समुह उत्साहीत भएको छ । देउवा पक्षमा सातै प्रदेशमा विवाद देखिएको छ । तर पौडेल पक्षले भने सर्वसम्मत रुपमा सवै प्रदेशका उमेदवार चयन गरेको छ ।
प्रदेश नम्बर एकमा सभापति देउवा समुहले कृष्ण सिटौला निकट उद्धव थापालाई प्रदेश सभापतिको उमेदवार बनाएको छ भने पौडेल समुहले केन्द्रीय सदस्य गुरु घिमिरेलाई उमेदवार बनाएको छ । देउवा पक्षले थापालाई उमेदवार बनाएपछि असंतुष्टी चुलिएको छ । विषेशगरि प्रदेश नम्बर एकमा सिटौला निकट थापालाई उमेदवार बनाएपछि देउवा निकट रहेको विश्वप्रकाश शर्मा पक्षको असंतुष्टी बढेको हो । झापा जिल्ला अधिवेशनमा सिटौला र शर्मा प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए । झापामा पौडेल निकट नेताहरुले शर्माको प्यानललाई सहयोग गरेको थियो । प्रदेश नम्बर एकमा सिटौला निकट थापा देउवा समुहबाट उमेदवार बनेपछि विश्वप्रकाश शर्माले झापा जिल्ला अधिवेशनको पैंचो फेर्ने भएको छ ।
त्यस्तै बागमति प्रदेशमा भने त्रिपक्षिय भिडन्त हुने देखिएको छ । सभापति देउवा पक्षबाट बागमति प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनिया, पौडेल पक्षबाट नुवाकोटका पूर्वसभापति जगदिश्वरनरसिंह केसी र कृष्ण सिटौला निकट भिमसेनदास प्रधान उमेदवार बनेका छन् । बागमति प्रदेशमा सिटौला पक्षबाट प्रधानले उमेदवारी दर्ता गरेपछि देउवा–सिटौला पक्षमा भाँडभैलो हुने देखिएको छ । यसको असर प्रदेश नम्बर एक र बागमति प्रदेश दुवैमा पर्ने देखिएको छ । इन्द्र बाँनियालाई प्रदेश सभापतिको उमेदवार सिटौला पक्षले अस्वीकार गरेपछि सहमहामन्त्री डा प्रकाशशरण महत निकट नेताहरु असंतुष्ट बनेका छन् ।
अर्को तर्फ भीमसेन दास प्रधान निकट नेताहरुले पनि बाँनियालाई भन्दा केसीलाई सहयोग गर्ने संभावना बढेको छ । १३ औं महाधिवेशन अगाडिसम्म प्रधान र केसी एउटै समुहमा थिए । अझ प्रधान र केसी दुवै अत्यन्तै मिल्ने सभापति समेत हुन् । गणतन्त्रको मुद्दामा केसी र प्रधान २०६२÷६३ सालको आन्दोलनको समयमा संगै थिए ।
गण्डकी प्रदेश शेरबहादुर देउवा पक्षले सवैभन्दा पहिलो सभापतिको उमेदवार घोषणा गरेको थियो । तर गण्डकीमा समेत देउवा समुहमा असंतुष्टी छाएको छ । गण्डकी प्रदेशमा देउवा समुहमा रहेका पूराना नेताहरुलाई छोडेर १३ औं महाधिवेशनमा देउवा समुहमा प्रवेश गरेका अर्जुन जोशीलाई उमेदवार बनाएपछि गोपालमान श्रेष्ठदेखि कास्कीका सभापति किरोशदत्त बराल, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष गुरु बरालहरु समेत असंतुष्ट रहेको बताइन्छ । गण्डकी प्रदेशमा बलियो रहेको पौडेल पक्षले सवैका सर्वमान्य पुराना नेता शुक्रराज शर्मालाई उमेदवार बनाएपछि थप ससक्त बनेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा पनि गृहमन्त्री बालकृष्ण खाण र भरत शाहको लडाईका कारण अमरसिंह पुन बलियो देखिएका छन् । खाण र शाहको लफडाका कारण जिल्ला अधिवेशन र क्षेत्रिय अधिवेशनमा समेत समस्या भएको थियो । शाह शक्तिशाली हुँदा खाण कमजोर बन्ने भएकाले खाण कुनैपनि हालतमा शाहलाई हराउनुछ । अर्को तर्फ खाण लुम्बिनी प्रदेशमा कमजोर बनेका छन् । रुपन्देही र बर्दियामा मात्रै देउवा पक्षका सभापतिमा जीत हात पारेको छ । धेरै निर्वाचन क्षेत्र भएको दाङ, कपिलबस्तुमा पौडेल पक्षको प्रभाव बलियो देखिएको छ । त्यस्तै दुई निर्वाचन क्षेत्र भएको पाल्पा, गुल्मी, पश्चिम नवलपरासीमा पनि पौडेल पक्ष बलियो छ । एक निर्वाचन क्षेत्र भएका अर्धाखाँची, रोल्पा, रुकुमपूर्व र प्यूठानमा समेत पौडेल पक्ष बलियो भएकाले पुनको जीत निश्चित छ ।
कर्णाली प्रदेशमा समेत राजिवविक्रम शाहले उमेदवार देउवा समुहले नबनाएपछि भुपेन्द्रजंग शाही बलियो बन्ने संभावना देखिएको छ । सुर्खेतमा देउवा पक्ष बलियो रहेको छ तर सुर्खेतको भोटलाई दुईवटै निर्वाचन क्षेत्र भएको दैलेखले पूर्ती गर्ने देखिएको छ । जुम्ला र कालिकोटमा पौडेल पक्ष बलियो देखिएको छ । राजिवविक्रम शाह उमेदवार नभएपछि जाजरकोट र सल्यानमा समेत भुपेन्द्रको पक्षमा देखिने संभवना भएको छ । अब देउवा पक्ष बलियो रहेको हुम्ला र डोल्पामा भने भुपेन्द्रको संभवना कमजोर देखिएको छ । मुगुमा सभापति पराजित भएपनि प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि हाराहारीमा देखिएको छ ।
सभापति देउवाको गृहप्रदेश सुदुरपश्चिम प्रदेशको प्रदेश समितिमा सभापति शेरबहादुर देउवा समुहमा रहेका नेता एनपी साउद र रमेश लेखक दुई समुमा विभाजित हुँदा आफ्नै प्रदेशमा देउवा समुह तितरवितर भएको छ । प्रदेश सभापतिमा कैलाली जिल्ला सभापति नरनारायण शाह, पुर्व मन्त्री बिरबहादुर बलायर, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन् । जसका कारणले देउवा समुहले सभापतिको उमेदवार तय गर्न सकेको छैन् । तर रामचन्द्र पौडेल समूहले पनि सभापतिमा कांग्रेस कैलालीका पुराना नेता नारायण दत्त मिश्रलाई अघि सारेको छ । जिल्ला विकास समिति कैलालीका सभापति रहीसकेका मिश्र पौडेल समूहबाट प्रदेश सभापतिका रुपमा प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिमका नौ जिल्ला मध्ये ७ जिल्लामा नेतृत्व चयन भइसकेको छ भने कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेको छैन् ।